Logo
|
Friday 29th March 2024
Logo

epaper

सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको नीति तथा कार्यक्रम कस्ता छन् ? (पूर्ण जानकारी)

राष्ट्रपतिद्धारा जोखिममा काम गर्ने चिकित्सक र नर्सको उच्च प्रशंसा



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति भण्डारीले जोखिमपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रहेर सेवा गर्ने, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायतक सम्पूर्ण राष्ट्रसेवकको उच्च प्रशंसा गर्नुभएको छ । सरकारले शुक्रबार जारी गरेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सो प्रशंसा गर्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्यबारे के के भनिएको छ ? आउनुस् जानौं ।

चिकित्सक र औषधिको पर्याप्त व्यवस्था गरिने
‘नेपाललाई कोभिड १९ महामारी मुक्त देश बनाउनु यो सरकारको पहिलो प्राथमिकता भएको छ । सरकारले महामारी रोकथामका लागि अपनाउनुपर्ने स्वास्थ्य सजगताका व्यवस्थाहरुको पालना गर्ने गराउने, संक्रमणको परीक्षणलाई व्यापक बनाउने छ ।’— राष्ट्रपति भण्डारीले भन्नुभयो—‘औषधि, उपकरण र चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था तथा परिचालन गर्नेछ ।’ यस महामारीबाट नेपालभित्र कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
महामारी अनपेक्षित रुपमा लम्बिन गएको अवस्थामा सरकारले त्यसलाई रोक्न थप प्रभावकारी कदम चाल्दै कार्यक्रमहरुको पुनः प्राथमिकीकरण र समायोजनसमेत गरी स्रोत साधन परिचालन गर्नेछ । महामारीसँग जुध्नपरिरहेको विषम परिस्थितिमा पनि नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुशी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढताका साथ अघि बढ्ने उल्लेख छ ।

नीजि क्षेत्रलाई लगानीमा उत्प्रेरित गरिने
गुणस्तरीय स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ सेवामा सबै नेपालीको समतामुलक पहुँच सुनिश्चित हुने गरी कार्यक्रम सञ्चालन गरिने छ । देशभित्रै अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्वास्थ्य उपचारको सेवा उपलब्ध गराउन आवश्यक पुर्वाधारहरुको विकास गरिनेछ ।
स्वास्थ्य र शिक्षा सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रको पुनःसंरचना
आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्थापना एवं स्थरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामुलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनः संरचना गरिनेछ ।

निरोधात्मक विधि अवलम्बन
‘निरोगी नेपाल निर्माण’ यो सरकारको मुल स्वास्थ्य नीति हो । प्रकृति मैत्री स्वच्छ जिवन प्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिनेछ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गरिनेछ ।

स्थानीय तहमा पूर्ण खोप सेवाको पहुँच

मुलुकभरका ६७१ स्थानीय तहका वडाहरुमा पूर्ण खोप सेवा उपलब्ध वडा घोषणा गरिएको छ । आगामी वर्ष सरकारले बाँकी सबै स्थानीय तहका वडाहरुमा पूर्ण खोप सेवा पुर्याइनेछ ।

वडास्तरीय स्वास्थ्य संस्थाको स्तर वृद्धि
आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहका थप २ हजार ६२६ वडाहरुमा पूर्वाधार निर्माण र सेवा उपलब्ध गराइएको छ । आगामी वर्ष स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थाहरुको सेवाको गुणस्तर बृद्धि गरिनेछ ।

कहाँ कति शैयाको अस्पताल ?

भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शैया आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गरिनेछ ।  प्रदेश स्तरमा रहेको साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयाको अस्पताल र अञ्चल अस्पताललाई २०० शैयाको जनरल अस्पतालमा स्तरोन्नति गरिनेछ ।

विशिष्टिकृत अस्पतालको अवधारणा
सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालबाट उपलब्ध विशिष्टिकृत स्वास्थ्य सेवाको विस्तार र स्तारोन्नति गरिरहेको छ । यी केन्द्रिय अस्पतालहरुलाई ५०० शैयाको विशिष्टिकृत विशेषज्ञ अस्पतालको रुपमा विकास गरिनेछ ।

५० देखि ३०० शैयाको सरुवा रोग अस्पताल
सरुवा रोग रोकथाम,नियन्त्रण, उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको ३०० शैयाको केन्द्रिय र न्युनतम ५० शैयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिनेछ ।
गरिब तथा विपन्न वर्गलाई केन्द्रिय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराइनेछ ।

४० वर्ष नाघेकाको रक्तचाप, एल्बुमिन र मधुमेह जाँच गर्ने व्यवस्था
उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिलाहरुको पाठेघरसम्बन्धि रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका कार्यक्रमहरु देशव्यापी रुपमा थप प्रभावकारी बनाइनेछ ।
वडास्तरीय सेवा केन्द्रबाट ४० वर्ष माथिका नागरिकको रक्तचाप, एल्बुमिन र मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ ।

योग र व्ययामशालालाई प्रोत्साहन
आयुर्वेदिक, युनानी, होमियोप्याथी, एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवद्र्धन गरिनेछ । आम नागरिकलाई योगाभ्यास र शारीरिक व्यायामसहितको जीवनपद्धति अपनाउन उत्प्रेरित गरिनेछ ।  स्थानीय तहका वडाहरुमा व्यायामशाला, आरोग्य केन्द्र र योग केन्द्रहरु स्थापना गर्न प्रोत्साहन गरिनेछ ।

एकिकृत एम्बुलेन्स सेवा

नेपालभरको जुनसुकै स्थानबाट ३ अंकको टेलिफोन नम्बरमा सम्पर्क गरी नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकिकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।

राजमार्गमा ट्रमा सेवा !
प्रमुख राजमार्गहरुमा ट्रमा सेवाको विस्तार गरिनेछ ।

नेफ्रोलोजी र युरोलोजी सेवालाई प्रदेशमा बिस्तार
त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण सेवा प्रारम्भ गरिएको छ । आगामी आर्थिक वर्ष यस अस्पतालमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिनेछ । यी सेवालाई सबै प्रदेशमा विस्तार गर्दै लगिनेछ ।

कान्ति उच्च शिक्षा अध्ययन गर्ने केन्द्रमा विकास
कान्ति बाल अस्पतालाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ठ केन्द्रको रुपमा विकास गरिनेछ ।
बालबालिकाको मुटु उपचारमा संस्थागत व्यवस्था
मनमोहन कोर्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिनेछ ।

प्रशुति अस्पताललाई विशिष्टिकृत गरिने
परोकार प्रशुति तथा स्त्री रोग अस्पतालको सेवालाई थप विशिष्टिकृत गरिनेछ ।

मेडिकल कलेजहरुले जिल्लाको एक अस्पतालमा शल्यचिकित्सा सेवा दिनुपर्ने

सबै मेडिकल कलेजले जिल्लास्थित कम्तिमा एक अस्पतालमा शल्य चिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाहरुले महिनाको एक दिन स्याटलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

स्याटलाइट अस्पतालको अवधारणा
केन्द्रिय अस्पतालहरुले तोकिएका स्थानमा नियमित रुपमा स्याटलाइट अस्पताल सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

सेन्टर फर डिजिज कन्ट्रोल
सबै अस्पतालहरुबाट विपद् वा महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रवन्ध मिलाइनेछ ।
रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ ।

फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना

औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा नियमन गर्न फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिनेछ ।

एकिकृत छाता ऐन
स्वास्थ्य संस्था र स्वास्थ्य सेवाहरुको गुणस्तर मापन तथा प्रमाणिकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायान प्राधिकरण स्थापना गरिनेछ ।
स्वास्थ्य क्षेत्रका आयोग, प्रतिष्ठान, काउन्सिल, अनुसन्धान केन्द्र र अस्पतालहरुलाई थप मितव्ययी, व्यवस्थित र प्रभावकारी बनाउन क्षेत्रगत एकिकृत छाता ऐन तर्जुमा गरिनेछ ।

विमानस्थल र सिमामा हेल्थ डेक्स र क्वारेन्टिन
अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय सिमाका प्रमुख नाकाहरुमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टिन गृह स्थापना गरिनेछ ।

स्वास्थ्य बीमाको बिस्तार
स्वाथ्य बीमा कार्यक्रम अन्तर्गत ५५१ स्थानीय तहका २७ लाख भन्दा बढी नागरिकको स्वास्थ्य बीमा गरिएको छ । आगामी ३ वर्षभित्रमा सबै नागरिकमा पुग्ने गरी स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तार गरिनेछ ।
स्वास्थ्य बीमा कार्यक्रममा आधारभूत बाहेकका स्वास्थ्य सेवाहरु क्रमश समावेश गर्दै लगिनेछ ।

बीरेन्द्र सैनिक अस्पतालको स्तरोन्नति
बीरेन्द्र सैनिक अस्पताललाई आपतकालीन अवस्थामा आम घाइते बिरामी लगायतको सबै प्रकारको स्वास्थ्य उपचार गर्न सक्ने सुविधासहित स्तरोन्नति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्