Logo
|
Thursday 25th April 2024
Logo

epaper

पहिलोपटक निजी अस्पतालमा कोरोना उपचार, ह्याम्स हस्पिटलले लियो जिम्मेवारी 

अस्पतालमा डब्लुएचओ गाइडलाइन लेबल थ्री प्रोटेक्सन अवलम्बन



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारत बिरामीमा कोभिड १९ पोजेटिभ पुष्टि भएपछि उनलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार शुरु गरिएको छ ।

यद्यपी नेपालमा पहिलोपटक निजी अस्पतालले कोभिड १९ को उपचार गर्दैछ । त्यो भनेको ह्याम्स हस्पिटल नै हो । यसअघि कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिलाई ग्रान्डी र नर्भिक हस्पिटलले अन्यत्र पठाइदिएका थिए । कसैले पनि अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने आँट गरेका थिएनन् ।

पोखराबाट हेलिकप्टरमा ल्याइएका १ र चार दिन अघि इमर्जेन्सीमा उपचारका लागि आएका एक व्यक्ति गरी अस्पतालमा उपचार गरेका २ जनामा आज कोभिड १९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ह्याम्स हस्पिटलको इमर्जेन्सीमा उपचार गर्न आएका ६० वर्षका ति व्यक्ति भने त्यही दिन ४ घण्टापछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । शंका लागेपछि अस्पतालले उनीहरुको पिसिआर विधिबाट नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो ।

विश्व स्वास्थ्य संगठनको गाइडलाइन लेवल थ्री प्रोटेक्सन अपनाएर शुरुदेखि नै कोभिड १९ उपचारका लागि तयारी अवस्थामा रहेकाले अस्पतालले हस्पिटलमा कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई उपचारका लागि बाहिर पठाउनुपर्ने अवस्था नभएको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले बताउनुभयो ।
हाल अस्पतालमा उपचाररत कास्कीका ७६ वर्षीय बिरामीलाई २१ गते पोखराबाट हेलिकप्टमा ह्याम्स अस्पताल पुर्याइएको थियो । उनमा मल्टिपल समस्या भएकाले आईसियूमा उपचार भइरहेको छ । अस्पताल भर्ना गरेकै दिन उनको कोभिड १९ परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको हो । बिरामीको स्वास्थ्यवस्थामा सुधार आएकाले आजै वार्डमा सार्ने तयारी भएको थियो ।

‘बिरामीको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएपछि बिरामीले ह्याम्स हस्पिटलमा नै उपचार गर्ने इच्छा व्यक्त गरे ।’ —अध्यक्ष भण्डारीले भन्नुभयो—‘अस्पताल व्यवस्थापन पक्ष र चिकित्सकहरु बसेर गरेको छलफलमा बिरामीलाई ह्याम्समै राखेर उपचार गर्ने निर्णय लियौं ।’

के बिरामीको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको ट्रेसिङ गर्नुपर्दैन ? भन्ने प्रश्न पनि आउँछ । बिरामीको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीहरुको ट्रेसिङ गरियो । अध्यक्ष भण्डारीले भन्नुभयो—‘तर हामीले शुरुको दिनदेखि नै कोभिड १९ सँग सम्बन्धि बिरामीको उपचार गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को गाइडलाइन लेवल थ्री प्रोटेक्सन अनुसार नै पर्याप्त पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट (पीपीई) बाट तयारी भएर काम गरिरहेकाले उनीहरुलाई क्वारेन्टाइनमा राख्न जरुरत देखिएन ।’

अस्पतालका वरिष्ठ कोरोना विशेषज्ञ डा.अनुप सुवेदीको नेतृत्वमा अन्य स्वास्थ्यकर्मीहरु उपचारमा संलग्न छन् । अस्पतालमा बिरामीसँगको संसर्गमा जाँदा सचेत भएर पूरै सुरक्षा अपनाउने गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

यद्यपी कोभिड १९ संक्रमणको सम्पूर्ण सुरक्षा अवलम्बन गरिएको हुनाले अस्पतालमा उपचारका लागि आउने अन्य कुनै पनि बिरामीहरुले निर्धक्क भएर उपचार गर्न सक्ने अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो ।

नेपालमा शुक्रबार थप २७८ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ३३ पुगेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ११ छ ।

प्रतिक्रिया दिनुहोस्