Logo
|
Tuesday 16th April 2024
Logo

epaper

सातै प्रदेशका २-२ जिल्लामा ४ भेन्टिलेटर, १० आइसीयू बेड निर्माणका लागि बजेट निकासा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस (कोभिड- १९)को उपचारका लागि भेन्टिलेटर र आइसीयू बेड थप्नका लागि बजेट निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा २-२ जिल्ला छनोट गरेर भेन्टिलेटर र आइसीयू बेड निर्माण गर्नका लागि २-२ करोड बजेट निकासा गरेको संसदीय समितिलाई जानकारी दिएको छ ।

 

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले प्रत्येक प्रदेशका २-२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा भएको जानकारी दिए । ‘प्रत्येक प्रदेशका २-२ जिल्ला अस्पतालमा ४ वटा भेन्टिलेटर र १० वटा आइसीयू बेड राख्ने भनेका छौं । त्यसका लागि २-२ करोड रकम पठाइसकिएको छ,’ उनले भने ।

ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको उनले जानकारी दिए । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएको प्रदेश २ मा २३ जना विशेषज्ञ चिकित्सकलाई पठाउन लागिएको पनि पोखरेलले जानकारी दिए । ‘कोरोना संक्रमण तीव्र भएको प्रदेश २ मा २३ जना चिकित्सक पठाएका छौं,’ उनले भने, ‘११ जना नारायणी उपक्षेत्रीय अस्पताल गइसकेका छन् । गौर अस्पताल र जनपुरमा पनि आजभोलिमा जानुहुन्छ ।’

पोखरेलले काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको बताए । मुलुकभर एक हजार ७५ टीम पठाइएको बताउँदै पोखरेलले संक्रमण बढी भएका ठाउँमा ट्रेसिङ गर्ने टीम थपिँदै जाने बताए ।

काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिने र कन्ट्याक्ट ट्रेसिङको कामलाई मन्त्रालयले तीव्रता दिइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ । आगामी ४० दिनमा ५० हजार व्यक्तिमा कन्ट्याक्ट ट्रेसिङ काठमाडौं उपत्यकामा मात्रै गरिन लागेको पोखरेलले उल्लेख गरे । काठमाडौं उपत्यकामा ६ हजार आइसोलेसन बेड बनाउने तयारी भइरहेको पनि उनको भनाइ थियो ।

आइसोलेसन सेन्टरको जिम्मा प्रदेश सरकारको जिम्मामा दिइएको पोखरेलले बताए । होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पताल आइसोलेसन निर्माण गरिकएको उनको भनाइ छ । लक्षण नभएकालाई होम आइसोलेसनमा राखिने, होम आइसोलेसनमा बस्न नसक्नेलाई संस्थागत आइसोलेसनमा राखिने र त्यहाँ लक्षण देखिएमा अस्पताल लैजाने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्