Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा यस्ता छन्



हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधीय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्।

तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले औँल्याएका छन्। आफ्नो शरीरको तौलअनुसार कति बेसार खानु हुन्छ भन्ने विषय थाहा पाउनु आवश्यक भएको उनीहरू बताउँछन्। नेपाली भान्साको अपरिहार्य उक्त ‘मसाला’को गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहनुपर्ने उनीहरूको भनाइ छ।

आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत् कोरोनाभाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा पनि दैनिक रूपमा खानामा बेसार प्रयोग गर्न सुझाइएको छ। बेसारले शरीरमा उत्पन्न विषाक्ततालाई नष्ट गर्ने निर्देशिकामा उल्लेख छ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो समय बेसारको आयात ह्वात्तै बढेको देखिन्छ जसको सीधा साइनो खपतसँग जोडिएको जानकारहरू बताउँछन्।

अत्यधिक सेवन गरे के हुन्छ?

तर विज्ञहरू भने पर्याप्त ज्ञानबिनै बेसार प्रयोगले विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्ने बताउँछन्। आयुर्वेदमा पनि रुचि राख्ने त्रिभुवन विश्वविद्यालयअन्तर्गत औषधि चिकित्सा विज्ञान विभागका सहप्राध्यापक डा. सम्मोद आचार्य हजारौँ वर्षदेखि नेपालका अधिकांश स्थानसहित दक्षिण एशियाका विभिन्न क्षेत्रमा बेसार सेवन गरिँदै आएको भए पनि यसको मनपरी प्रयोग निकै घातक हुनसक्ने बताउँछन्।

“रुघाखोकी लागेका बेला एकदुई दिन बेसारपानीमा राखेर पिउँदा समस्या हुँदैन। तर धेरै बेसारपानी अनियन्त्रित रूपमा खाँदा भने यसले राम्रो गर्छ भन्न सकिँदैन,” उनले भने। अझ बजारमा पाइने मिसावटयुक्त बेसारले त क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा रहने उनी बताउँछन्। त्रिभुवन विश्वविद्यालयको जैविक प्रविधि केन्द्रीय विभागका प्राध्यापक गङ्गाप्रसाद खरेल पनि आचार्यसँग सहमत छन्।

उनी भन्छन्: “मानव शरीरमा बेसारको महत्त्वबारे धेरै अनुसन्धान गरिएको छ र यसले शरीरको प्रतिरक्षा प्रणाली सुदृढ गर्छ भन्ने कुरा विभिन्न अध्ययनले पनि देखाएका छन्। तर बेसारको अत्यधिक प्रयोगले भने दीर्घकालीन रूपमा समस्या उत्पन्न गराउन सक्छ।” तराई र पहाडी जिल्लामा भान्सामा तरकारी र दालमा प्रयोग हुने बेसारको मात्रा ठिक रहेको विज्ञहरू बताउँछन्।

अत्यधिक बेसार सेवन मिर्गौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको खतरा रहने उनीहरूको भनाइ छ। त्यस्तै कलेजोमा पनि यसले समस्या पार्ने बताइन्छ।

गुणस्तरका कारण किन चिन्ता?

अत्यधिक बेसार सेवन गर्दा हुने हानिबाहेक बजारमा उपलब्ध बेसारको गुणस्तर पनि चिन्ताको विषय हो।

नेपाली बजारमा उपलब्ध बेसारमा ‘लेड क्रोमेट’ मिसाइएको पाइने गरेको छ। उक्त अखाद्य मिश्रण बेसारमा पहेँलो रङ्ग ल्याउनका लागि प्रयोग गरिन्छ। त्यसबाहेक विद्यालयहरूमा प्रयोग हुने खरी (चक) र स्टार्च मिसाइने गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

“तर विगतमा जस्तो एकदमै धेरै परिमाणमा त्यस्तो मिसावट भने हुने गरेको पाइएको छैन। बजारबाट सामान आफैँ ल्याएर गरिने परीक्षण र बेसार लगायतका मसला उत्पादन गर्नेहरूको सामान अनुमति लिने वा त्यसको नवीकरण गर्ने बेला अनिवार्य परीक्षण गरिने हुँदा समस्या घटेको छ,” विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भनिन्। आर्थिक वर्ष २०७६/७७ मा कुल ११० नमुना परीक्षण गरिएकामा पाँच-छवटामा सामान्य समस्या देखिएको उनले बताइन्।

त्यसमा खानै नहुने खाले वस्तु प्रयोग भने नभएको तर सामान्य सरसफाइ लगायतका विषयमा भने किसानहरूलाई सतर्क बनाउनुपर्ने देखिएको उनी बताउँछिन्। नेपालमा भारत, म्यान्मार र इथियोपियाजस्ता देशहरूबाट बेसार आयात गरिने गरेको भन्सार विभागको पछिल्लो तथ्याङ्कले देखाउँछ।

राम्रो बेसार कसरी चिन्ने?

आफैँले खेतबारीमा रोपेको बोटबाट सङ्कलित कन्दबाट निर्मित धूलो बेसारमा शुद्ध हुन्छ। तर बजारमा उपलब्ध बेसारमा मिसावट भएको हुन सक्छ। धूलो बेसारको परीक्षण प्रयोगशालामै गरिनुपर्ने भए पनि केही हदसम्म घरेलु विधिबाट पनि त्यसको गुणस्तरबारे जानकारी प्राप्त गर्न सकिने विज्ञहरू बताउँछन्।

पानी मिसाइएको गिलासमा बेसार हालेर केही समय छोड्दा चक मिसिएको रहेछ भने तल थेग्रिने र मैदालगायतका वस्तु प्रयोग भएको छ भने डल्लो पर्ने विभागमै कार्यरत खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ डा. हुमा बाखिम बताउँछिन्।

त्यस्तै पानीमा बेसार घुलनशील नहुने हुँदा पानीमा मिसाउना साथ कडा रङ्ग सर्नु पनि मिसावटको एक किसिमको सङ्केत रहेको जानकारहरू बताउँछन्। बेसार किन्दा प्याकेटमा डीएफटीसीक्यू नम्बर देखिएको उत्पादन गुणस्तर विभागबाट प्रमाणित भएको हुन्छ। मिसावटको प्रचुर सम्भावना रहने हुँदा सकेसम्म खुला रूपमा कारोबार गरिने बेसार नकिन्नु उपयुक्त हुने विभागको सुझाव छ।

बेसार कति सेवन गर्दा हानि हुँदैन?

विश्व स्वास्थ्य सङ्गठनका विज्ञसहितको एउटा समितिले मानिसले आफ्नो तौलअनुसार प्रतिदिन चारदेखि आठ ग्रामसम्म बेसार सेवन गर्न उचित हुने निचोड निकालेको डा. बखिम बताउँछिन्।

बेसारमा कर्क्यमिन नामक रासायिक पदार्थको मात्रा एक प्रतिशतभन्दा तल नघटेको हुनुपर्ने राजपत्रमा प्रकाशित “फुड स्टयान्डर्ड”मै उल्लेख गरिएको छ। डा. बखिमका अनुसार कर्क्यमिनको मात्रा तीन प्रतिशत ननाघेको बेसार राम्रो हुन्छ।

त्यस्तै जलांश (तौलका आधारमा) १२ प्रतिशत नबढेको, कुल भस्म १० प्रतिशत नबढेको, एसिडमा नघुल्ने भस्म १.५ प्रतिशत नबढेको, लेड क्रोमेट नभएको अनि कुल स्टार्च ६० प्रतिशत नबढेको हुनुपर्ने उल्लेख गरिएको छ। कुनै पनि औषधि खाइरहेका व्यक्तिले चिकित्सकको सल्लाहबिना थप बेसार खान नहुने विज्ञहरू बताउँछन्। “विशेषतः रगत जम्न नदिने औषधि सेवन गर्नेहरूले धेरै बेसार खाँदा रक्तस्राव हुनसक्ने सम्भावना हुन्छ,” डा. आचार्यले भने। बेसारले शरीरमा ताप पैदा गर्ने हुँदा विशेषतः गर्मी मौसममा कम खान उचित हुने उनी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्