Logo
|
Thursday 28th March 2024
Logo

epaper

‘सबै निजी अस्पताललाई एउटै बास्केटमा राख्ने प्रचलन राम्रो होइन’

सरकारले स्टेक होल्डर्सहरुलाई बोलाएर ‘कतिसम्म गर्दा अस्पताल धानिनसक्छ र बिरामीले पनि उपचार पाउन सक्छन्’ भन्ने कुरा गर्न जरुरी



यतिखेर कोभिड—१९ का बिरामीहरुले राजधानीलगायतका मुलुकका अधिकांश अस्पतालहरु खचाखच छन् । मुलुकमा कोभिड उपचारको विषयलाई लिएर सरकार र निजी अस्पतालहरुबीच जुहारी पनि चलिरहेको छ । चीनको बुहानमा माघ २०७६ ताका कोभिड—१९ शुरु भएदेखि नै ललितपुरको सानेपास्थित स्टार हस्पिटलले आफ्नो तयारी शुरु गरेको थियो । त्यतिबेलादेखि नै मुलुकमा कोभिड भित्रिन सक्ने आँकलन गरेर कोभिड रेस्पोन्स टिम बनाइयो जसलाई अस्पतालका वरिष्ठ फिजिसिएन एवं कन्सल्ट्यान्ट नेफ्रोलोजिष्ट डा. अनिल पोख्रेलले नेतृत्व गर्नुभएको थियो । डा. पोख्रेलको नेतृत्वमा एनेस्थेसिष्ट एवं क्रिटिकल केयर इन्टेन्सिभिष्ट डा. निरज हिराचन, फिजिसिएन एवं क्रिटिकल केयर इन्टेन्सिभिष्ट डा. फिलिप रञ्जित, फिजिसिएन एवं इन्डोक्राइनोलोजिष्ट डा. दिपेन्द्र कार्की, फिजिसिएन डा.प्रतिम प्रधान, डा. स्वरुपा रहनुभएको छ । यसबाहेक नर्सिङ स्टाफलगायतका स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण छ । यसै सेरोफेरोमा रहेर हस्पिटलका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिसँग जनस्वास्थ्य सरोकारले लिइएको अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।

अहिलेको कोभिड प्रकोपमा हस्पिटलले कसरी सेवा प्रवाह गरिरहेको छ ?

बिरामी परेमा कहाँ जाने भन्ने डर हामीलाई त्यति बेलादेखि नै थियो । आगामी दिनमा हस्पिटललाई कोभिड उपचारमा परिणत गर्नुपरेमा कसरी गर्ने भनेर २०७६ फागुनमै योजना बनाइसकेका थियौं ।

 अस्पतालको विगतदेखि कै तयारीका कारण सरकारले निजी अस्पतालहरुले २० प्रतिशत वेड कोभिड बिरामीको उपचारका लागि छुट्याउन गरेको आग्रह तत्काल कार्यान्वयनमा ल्याउन सफल भयौं । हस्पिटल डिजाइनमा आफ्नै स्वामित्वको भवन, हस्पिटल वेस इन्फास्ट्रक्चर भएकाले कोभिड र नभ कोभिडलाई छुट्याएर सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउन अहिले पनि सफल छौं ।

महामारीको अवस्थामा कोभिड र नन कोभिड नमिसाउने हाम्रो भित्री विचार हो । अब त सबैभन्दा धेरै बिरामी कोभिड कै हुनेवाला छन् । त्यसैले कोभिड र नन कोभिड भनेर बसिरहन मिल्छ कि मिल्दैन भन्ने पनि एउटा तर्क संगत विषय छ । सबै बिरामीलाई कोभिड हस्पिटलले धान्न सक्छ कि सक्दैन ? भन्ने पनि महत्वपूर्ण कुरा देखिन्छ । तर विपन्न र आर्थिक हैसियत कमजोर भएका कोभिड बिरामीहरुका लागि सरकारी अस्पतालहरुमा अझैपनि वेड संख्या बढाउन सकिने अवस्था छ । यो भन्दैमा निजी अस्पतामा कोभिड उपचार बन्द गर्ने भनेको होइन ।

तर सरकारले तोकेको रकममा निजी अस्पतालले कोभिडका बिरामीको उपचार धान्न सक्ने अवस्था छैन ।

अहिलेको अवस्थामा कमाउन बसेको भन्ने निजी अस्पतालहरुलाई लगाइएको आरोपबारे के भन्नुहुन्छ ?

सरकारमा बसेका केही व्यक्तिहरुको सोचाइमा ‘सबै निजी अस्पतालहरु लुटाहा संस्था छन्’ भन्ने धारणा छ । त्यस प्रकारको सोचमा परिवर्तन ल्याउनुपर्छ । सबै निजी अस्पतालहरुलाई एउटै बास्केटमा राख्ने प्रचलन राम्रो होइन । ‘सबै सरकारी संस्थाहरु खतम छन्’ भन्न पनि मिल्दैन । ‘निजी अस्पतालहरुमध्ये सबै चोखा छन्’ पनि भन्दिनँ ।

कोभिडको समयमा कतिपय हस्पिटलहरुले ढोकाबाट बिरामी फर्काएका उदाहरण पनि छन् । अहिले पनि भइरहेका छन् । यो उनीहरुको गलत काम हो ।

कोभिड उचारमा भएका तिता घटनाहरु केही छन् ?

शुरुका दिनमा कोभिड उपचारमा अविस्मरणीय तितो घटना सम्झिन चाहन्छु । विभिन्न अस्पतालले पनि भर्ना नलिएर हामीकहाँ आएको युवा उमेरका एकजना संक्रमित बिरामीको उपचार गर्दा गर्दै ज्यान गयो । उनी बाँच्न नसक्ने कुरा हामीलाई पहिला नै थाहा भएपनि हिम्मत नहारी उपचार गरेका थियौं । अस्पताल भर्ना गरिएको केही घण्टामै उनको मृत्यु भएको थियो । त्यसपछि संक्रमित लास व्यवस्थापन गर्न हामीले भोगेको पीडा निकै दर्दनाक छ ।

विभिन्न पत्रपत्रिकाले यो घटनालाई अतिरञ्जित तरिकाले प्रकाशन गरिदिए । यस्तो समाचारले कोभिड हावामा तैरिरहेको जस्तो भान दियो । त्यो बेला म आफैं कुनै अस्पतालमा पुगेको थिएँ । त्यहाँका केही डाक्टर साथीहरुले मलाई घृणा गरेर उठेर हिँडेको तितो घटना पनि छ । त्यस प्रकारको घृणा मेरो हस्पिटलमा कोभिड संक्रमितको मृत्यु भएको कारण गरिएको थियो ।

ति डाक्टरमध्ये २ जना कोभिड संक्रमित भएर मेरै अस्पतालमा उपचार सेवा लिएर निको भए । आजको दिनमा कोही अछुतो छैन । ‘कोभिड कसलाई हुन्छ कसलाई हुँदैन’ भन्ने कुनै आँकलन नै छैन ।

सरकार र निजी अस्पतालहरुबीच शुल्कको विषयलाई लिएर भएको जुहारी चाँही के हो ?

सरकारको सम्बन्धित निकाय र निजी अस्पतालहरुबीच समन्वय हुनुपर्ने थियो । तर त्यतिबेलादेखि नै भएन । ‘निजी अस्पतालहरु महामारीमा पनि पैसा कमाउन उद्धत भए’ भन्नेजस्ता सोच राखियो । यो गलत हो । सबैलाई एउटै घानमा राख्न हुँदैन । बरु सरकारले स्टेक होल्डर्सहरुलाई बोलाएर ‘कतिसम्म गर्दा अस्पताल धानिनसक्छ र बिरामीले पनि उपचार पाउन सक्छन्’ भन्ने कुरा गर्न जरुरी हुन्थ्यो । उपचार गर्दाको खर्च धानिनुपर्छ । निजी अस्पताल सञ्चालनमा लागत ठूलो पर्छ ।

घाटामा उपचार सेवा दिन सकिदैन । कोभिड संक्रमितको उपचारका लागि सरकारले तोकेको दर वैज्ञानिक छैन । त्यो दरमा खर्च धान्न सकिदैन । सबैको राय र सल्लाह अनुरुप एउटा विन्दुमा पुगेर शुल्क निर्धारण गरिदिएको भए विवाद आउँदैनथ्यो ।

अहिले पनि सरकार र निजी अस्पतालहरु एउटै टेबुलमा बसेर सबैलाई मान्य हुने गरी नीति तर्जुमा गरेमा समस्या आउँदैन । सरकारी कमाण्डले गरेको निर्णय अक्षरस पालन गर्न निर्देशन दिइन्छ । टर्निङ प्वाइन्टमा पुगेर सबैको सुझाव र सल्लाह अनुसार निर्णय भएमा सेवा लिने र दिने दुवैलाई फाइदा पुग्छ । कुर्सीमा बस्नेहरुले आफूखुशी निर्णय गरेर हुँदैन । यो व्यवहारिक हुन सक्दैन ।

सँगसँगै अहिलेको महामारीमा मिडियाको भूमिका पनि त्यत्तिकै हुन्छ । यहाँ कोभिडबारे सुसुचित गराउने भन्दा पनि अतिरञ्जित गराउने काम भएको छ । यसमा पनि विचार गर्नुपर्ने आवश्यकता छ ।

‘स्वास्थ्य निःशुल्क हुनुपर्छ’ भन्ने सरकारी मान्यता छ । यदि त्यो हो भने सरकारले शुरु देखि नै त्यही अनुसारको संरचनाको विकास गर्नुपर्दथ्यो ताकि निजी संस्थाहरुको पादुर्भाव नै नहोस् । चीनमा निजी अस्पतालहरु नगन्य छन् किनभने चीनमा सरकारले नै सरकारी अस्पतालहरुको व्यवस्था गरिदिएको छ । नेपालमा निजी अस्पतालहरुलाई सहुलियत दिइएको छैन ।

निजी अस्पतालहरुलाई उद्योगको रुपमा नाफामुलक दर्जाको रुपमा राखिएको छ । निजी अस्पतालहरुको संरचना विकास गर्न लागेको रकम ख्याल गरिएको हुँदैन । मुलुकमा प्रभावकारी हेल्थ इन्योरेन्स पोलिसी लागू गरिदिएको अवस्थामा समस्या आउँदैन ।

 

स्टार हस्पिटलको विशेषता के हो ?

हामी चिकित्सक र बिरामी मैत्री अस्पतालको रुपमा परिचित छौं । चिकित्सकहरुले आफ्नो स्वविवेक आफ्नो डिपार्टमेन्टमा निर्णय लिन पाउनुहुन्छ । हामी बिरामीसँगको व्यवहारमा कुनै कमी ल्याउन दिँदैनौं ।

यो मल्टि स्पेशियालिटी हस्पिटल हो र यो कस्ट बेनिफिसियल अस्पतालको रुपमा परिचित छ । यो तहको अस्पतालमा बिरामीले गरेको उपचार खर्च धेरै आउँदैन । कस्ट इफेक्टिभ सँगै गुणस्तरीयतामा पनि त्यत्तिकै सजग र सचेत छौं । गुणस्तरमा सम्झौता गर्दैनौं ।

हामीसँग बिपिएच र विफर्म पढाउने आफ्नै मोर्डन टेक्निकल कलेज नामको शैक्षिक संस्था छ । त्यसैगरी स्टार एकेडेमी अफ हेल्थ साइन्स अन्तर्गत पिसिएल नर्सिङ र हेल्थ असिस्टेन्ट पढाउने गर्दछौं । यताबाट भएको नाफाको केही भाग हामी अस्पतालमा खर्च गर्दछौं । यसले स्टार हस्पिटलले आम्दानीबाट नाफा कमाउनु पर्ने नभएकाले हस्पिटलको सेवा र सुविधा सस्तो छ ।

 

 

प्रतिक्रिया दिनुहोस्