Logo
|
Thursday 19th September 2019
NEWS PAPER

धर्तीका पाहुना हौंः झरेर जाने जिन्दगी समाजका लागि



विद्या भण्डारी उपाध्यक्ष ,नेकपा एमाले
विद्या भण्डारी
उपाध्यक्ष ,नेकपा एमाले

आठ वर्षअघि विद्या भण्डारीलाई ब्लड क्यान्सर भएको खबर मिडियामा आउदा उहाँका धेरै शुभचिन्तक र आफन्तहरु रोए । कतिपयले उहाँको सुस्वास्थ्यको कामना गर्दै लाखबत्ति समेत बालेका समाचार आए । उहाँ आफैं पनि सम्हालिन निकै गाह्रो भयो । शक्तिका पूजारीहरु अब विद्या भण्डारीलाई क्यान्सर भयो भन्दै अर्को शक्तिकेन्द्र खोज्न थाले । तर आठ वर्षमा विद्या भण्डारीको शरीरका धमनीहरुमा धेरै रगत सन्चार भइसक्यो । मृत्यु जित्ने व्यक्तिका रुपमा उहाँ आज सबैको लागि प्रेरणाको स्रोत पनि बन्नुभएको छ ।

नेकपा एमालेको दोस्रो पटक उपाध्यक्षमा निर्वाचित हुनुभएकी भण्डारी समकालिन नेपाली राजनीतिमा सबैभन्दा प्रभावशाली र शीर्षस्थ महिला नेतृ हुनुहुन्छ । नेकपा एमालेको भावी अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा समेत राजनीतिक वृत्तमा चर्चामा आउने विद्या भण्डारीलाई एक टुक्रा जीवन स्तम्भका लागि हामीले सोध्यौं, जीवन के रहेछ ?

मृत्यु जितेर आज नयाँ पुस्तालाई संविधान दिनका लागि संविधानसभा सदस्यका रुपमा समेत क्रियाशिल भण्डारी भन्नुहुन्छ “मानव जीवन प्रकृतिको अमूल्य रचना हो । यो एकपटक फूल्छ  पछि झरेर जान्छ । प्रकृतिले निर्माण गरेका कारण हामी यो धर्तिमा जन्म लियौं र बिस्तारै यसलाई छोडेर जान्छौं । यो सत्य हो ।”

नेकपा एमालेको उपाध्यक्ष तथा अखिल नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएकी भण्डारीले रक्षा र वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । वातवरण मन्त्री बन्दा उहाँलाई कुनै रोग थिएन तर रक्षामन्त्री बन्दा उहाँ ब्लड क्यान्सरको विरामी हुनुहुन्थ्यो । उहाँ विगत ८ वर्षदेखि ल्युकेमिया ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ । उपचार गरेर यसलाई नियन्त्रणमा राख्न सफल भएपनि कडा शारीरिक परीश्रम गर्न सक्नुहुन्न भण्डारी । ब्लड क्यान्सरका कारण उहाँको दुवै हिप ड्यामेज भएपछि अहिले कृत्रिम हिप राखिएको छ । यसकार उहाँ पँलेटी मारेर बस्न सक्नुहुन्न ।

बि.सं. २०१८ सालमा भोजपुरको गँुरासेस्थित आपबोटेमा जन्मनुभएकी भण्डारीको विहे जननेता मदनकुमार भण्डारीसँग भएको थियो । बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको परिवारमा पाँच जना दाजुभाइ र पाँचजना दिदी बहिनीमध्येकी एक भण्डारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा  सक्रिय हुनुहुन्थ्यो । उहाँका उषाकिरण र निशाकुसुम दुई छोरी छन् । उषा राजनीतिमा संलग्न हुदैछिन् भने निशा चिकित्सा शास्त्र अध्ययन गर्दैछिन् ।

खानपान र जीवनशैली

मलाई ल्युकेमिया ब्लड क्यान्सर भएको हो । यसले श्वेत रक्तकोषलाई बढ्न नदिनेकारण रगत पातलो हुने, रगत नजम्ने र नरोकिने जस्ता समस्या हुन्छ ।
मलाई प्राणघातक संक्रमण भए पनि जीवनशैलीमा बिगत र आगतमा खासै परिवर्तन भए जस्तो लाग्दैन । बेलुका अबेरसम्म पार्टीको काममा व्यस्त हुनुपर्ने भएकाले विहान अलि ढिला उठ्छु ।  स्वस्थ् शरीरका लागि व्यायाम आवश्यक भएपनि अहिलेसम्म त्यो बानी चैन । सामान्य मानिसको जस्तै सादा र सन्तुलित खाना खान्छु । शरीरमा प्रोटिन र क्याल्सियमको कमी हुन नदिन सचेत छु ।  धेरै चिल्लो, पिरो, तारेको भुटेको खाना खान्न । दूध फलफूलमा जोड दिने गरेको छु । यसले मलाई स्वस्थ राख्न सघाउछ ।

रोग पहिचान

२०६३ फागुनको अन्तिमतिर ल्युकेमिया ब्लड क्यान्सर भएको थाहा पाएँ । शरीर कमजोर र उडेको जस्तो हुने, हिँड्दा पिँडूला फतक्क गल्ने, शारीरिक अभ्यास गर्दा चाँडै थाक्ने, बिहान उठ्न मन नलाग्ने, थकाइ लाग्नेबित्तिकै सुत्न मन लाग्ने जस्ता समस्याहरु देखिएपनि शुरुमा खासै वास्ता गरिनँ । जिल्ला जिल्लामा भएका सभा सम्मेलनलगायतको राजनीतिक दौडधूपले यस किसिमको समस्या भएको हो कि भन्ठानेँ । पछि मेरो ओठ पहेँलो, सेतो (ओठमा रगत नभएको जस्तो) देखिन थाल्यो । रगतमा हेमोग्लोबिनको कमी भएको हो कि जस्तो लाग्यो ।
सामान्य दिनचर्यामा केही परिवर्तन आउन थालेपछि त्रिवि शिक्षण अस्पतालमा शारीरिक परीक्षण गराउँदा समस्या पहिचान भयो । पछि दिल्लीको एपोलो हस्पिटलमा परीक्षण गराउँदा त्रि.बि. शिक्षण अस्पतालको रिपोर्ट सही भएको चिकित्सकहरुले जानकारी गराए ।

पारिवारिक इतिहास

ब्लड क्यान्सरको पारिवारिक इतिहास भएको थाहा भएन । बुबा कलिलो उमेरमै लिभरको समस्याका कारणले बित्नुभएको थियो । अरु सदस्यहरुको क्यान्सरबाट मृत्यु भएको थाहा छैन ।

रोग पहिचान हुँदाको क्षण

रोग लागेको थाहा भएपछि एक क्षण त स्तव्ध भएँ । तरपनि मलाई केही हुँदैन जस्तो लाग्थ्यो । संसारमा यति धेरै विकास भएका मेडिकलसम्बन्धि अत्याधुनिक प्रविधिहरुले बचाउँछ भन्ठानेँ । जसरी पनि रोगलाई पचाउने अठोट गरेकी थिएँ । शुरुको चरणमै रोग पहिचान भएर समयमा उपचार पाएकाले अहिलेसम्म बाँचिरहेकी छु ।

यो धर्तीका पाहुना

जन्म हुने ठेगान हुन्छ तर मृत्यू कहिले हुन्छ थाहा छैन । ५३ वर्ष अघि म यो धर्तिमा आएकी थिइन । आमाको कोखबाट जन्मेँ हुर्केँ । यहाँ म सँधै रहन्न । एकदिन छोडेर जान्छु । यो धर्तिमा सँधैभरी हुने समाज नै हो । त्यसैले मेरो ध्यान समाज राम्रो बनिरहोस् भन्ने हो । मानिस त धर्तीका पाहुन मात्र हुन् । उनीहरु बिभिन्न इच्छा आकांक्षा बोकेर आउँछन् र केही समय बस्छन् र अन्तिममा छोडेर जान्छन् । त्यसैले मृत्यूलाई बदल्न सकिदैन । यो सत्य हो । तर हामी समाजलाई अवश्य बदल्न सक्छौँ ।

पलेटी मारेर बस्न सक्दिन

उपचारको क्रममा किमोथेरापी प्रयोग भएको थियो ।  यसैलै होला मेरा दुवै हिप ज्वाइन्ट ड्यामेज भएका थिए । यसले लामो समयसम्म दुखाईको सामना गरिरहनुप¥यो । शुरुमा गरिएको उपचार सफल हुन सकेन ।  पछि दुवै हिप ज्वाइन्ट रिप्लेसमेन्ट गरेपछि दुःखाईबाट केही हदसम्म छुटकारा पाउन सफल भएकी छु । त्यसैले पलेँटी मारेर र होचो ठाउँमा बस्न सक्दिन ।

के सोचेँ मैले

बिरामी नभएको भए अझ धेरै काम गर्थेँ कि भन्ने सोच आउँछ । यसले गर्दा कहिलेकाँही पश्चाताप लाग्छ । तर सामान्य काम गर्दा बिरामीको महसुस हुँदैन । म पार्टीको काममा पहिले जत्तिकै खटिरहेकी छु । तर पनि जे सोचियो त्यो अनुसार गर्न नसक्दा पिडा हुन्छ ।

देखेका सपना पूरा हुन्नन्

गाउँमा जन्मिएको मान्छे भएकाले त्यही नै स्वर्ग जस्तो लाग्थ्यो । पछि बुझ्दै जाँदा त्यहाँको बेरोजगार, भोकमरी, अनिकाल, स्वास्थ्य सेवाको अभाव, अशिक्षा जस्ता समस्याले यसको समाधान के हुनसक्छ ? भन्ने लागिरहन्थ्यो ।बाल्यावस्थामा बुबाको निधनले अलि बिचलित तुल्यायो । बुबा भोजपुरको कुलुङस्थित माध्यमिक बिद्यालयमा अध्यापन गराउनुहुन्थ्यो । राम्रो उपचार पाउन नसकेर बुबाको निधन भयो । त्यहिबेलादेखि स्वास्थ्य र शिक्षामा केही गर्ने सपना थियो । यस किसिमको समाधान कम्युनिष्ट पार्टीले मात्र गर्छ भन्ने सुन्निन्थ्यो र कम्युनिष्टतिर झुकाब बढ्दै गयो । मुलुकको परिवर्तन र देशका जनताको सेवा सुविधाबाहेक मेरो केही सपना थिएन । राजनीतिमा लागेर जनताले चुनाव जिताए, तीन पटक सांसद भएँ, पछि म मन्त्री सम्म हुने मौका पाएँ ।

अपूरो सपना

आफूले देखेका सपना केही हदसम्म त पुरा भएका छन् । तर देशमा राजनीतिक किचलोका कारण धेरै दुःखदायी घटना भएका छन् । २०४६ सालको जनआन्दोलनपछि मदन भण्डारीको हत्या भयो । माओवादी सशस्त्र विद्रोहबाट १७ हजार नेपालीले ज्यान गुमाउनुप¥यो । जातीय साम्प्रदायिक दंगा पनि भड्कियो । तराइका जिल्लाबाट पहाडे मुलका नागरिक बिस्थापित गर्ने खालका काम भए । यसले मुलुकले सही गति लिन सकेन । यदि मुलुकको राजनीतिले गति लिन सकेको भए, मदन भण्डारीको हत्या नभएको भए, १० वर्षसम्म आतंकमा मुलुक नपरेको भए, पहाडे र मधेशीको तनाव नभएको भए मेरो सपना अझ धेरै पुरा हुन्थे होलान् ।

मन्त्री हुँदाको क्षण

छोटो छोटो समयमा दुईपटक मन्त्री भएको थिएँ । एकपटक सात महिना र अर्कोपटक करिब  २२ महिना । त्यो बेला भावना व्यक्त गर्नेबाहेक मेरो हातमा केही थिएन । शुरुमा जनसंख्या तथा वातावरण मन्त्री भएको बेला वातावरण संरक्षण सम्बन्धि नियमावली बनाएँ । लालिगुँरास संरक्षण क्षेत्र घोषणा गर्नसम्म भ्याइयो । रक्षा मन्त्री हुँदा देश अन्योल अस्थिरता, अराकता, विखण्डनकारी दिशातर्फ गएको थियो । पहिलो कार्यकालमा मन्त्री हुँदा काम गर्ने वातावरण थिएन । दोस्रो पटक रक्षा मन्त्री बन्दा आफ्नो भिजन अनुसार काम गर्ने कोशिस गरेको भएपनि हाम्रो  पार्टीभित्र एकमना एक्ता नभएका कारण अवरोध भयो । त्यसैले नेपाली सेनालाई आधुनिकिकरण र सृदृढिकरण गर्ने सोच पूरा हुन सकेन । त्यो बेला सैनिक अस्पतालमा शैक्षिक कार्यक्रम अन्तर्गत मेडिकल कलेज स्थापनामा महत्वपूर्ण भूमिका रह्यो ।

आफूभन्दा सन्तान प्यारो

छोरीहरुको जिम्मेवारीप्रति कहिलेकाँही मनमा धेरै कुरा खेल्ने गर्छ । तर छोरीहरुले मेरो रोगबारे त्यति कुरा गर्दैनन् । उनीहरुलाई मेरो चिन्ता भए पनि व्यक्त गर्दैनन् । त्यसैले मलाई रोगप्रति डर लाग्दैन । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ । कान्छी छोरी निशाकुसुम चिकित्सा विज्ञानमा एमबीबीएस पूरा गरी एमडी गर्ने तयारीमा छिन् । दुवै छोरीहरु आफ्नो खुट्टामा उभिन सक्ने भएकाले त्यति धेरै चिन्ता लाग्दैन । तर समाज राम्रो भएमा सबैको समस्या समाधान हुन्थ्यो जस्तो लाग्छ । मेरो बुबा नभएपनि हुर्किएर यो अवस्थासम्म आइपुग्न सफल भएँ । मैले कति संघर्ष गरेँ होला त्यसको कुनै लेखाजोखा छैन । सबैका बाबुआमा हुन्छन् भन्ने पनि हुँदैन । त्यसैले जे हुन्छ सबैले त्यो भोग्न तयार हुनैपर्दछ । एउटा कुरा के हो भने मान्छे आफू रोगले कमजोर भए पनि सबैभन्दा प्यारो चाहिँ आफूभन्दा पनि सन्ताननै ठान्छ ।

रोग नियन्त्रणका लागि चालिएका कदम

अहिले मलाई औषधि खानु पर्दैन । खानपानमा विशेष ध्यान दिने गरेकी छु । शरीरमा क्याल्यिम, भिटामिन र प्रोटिनको कमीलाई मेन्टेन गर्नुपर्छ । अहिले रक्तचाप बढेकाले  रक्तचाप नियन्त्रणको औषधि सेवन गरिरहेकी छु । ल्युकेमिया ब्लड क्यान्सर ६ महिनाको उपचार गरेपछि सकियो ।

सुझाव

उपचार त्यति खर्चिलो होइन । तर सरकारले यस्तो उपचार स्वदेशका सर्वसाधारण जनतालाई उपलब्ध गराउनुपर्छ । यो उपचार नेपालमा पनि सजिलैसँग सम्भव छ । यसका लागि सुविधासम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सकको महत्वपूर्ण भूमिका रहन्छ । हरेक व्यक्तिको समयमा डायग्नोसिस हुन जरुरी छ । ६—६ महिनामा आफ्नो स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । यस्ता असाध्य रोगमा सरकारले सब्सिडिटी दिनुपर्छ । यसका लागि सरकारको स्वास्थ्य सेवा बलियो हुनुपर्छ । सरकारले आफ्ना जनताको स्वास्थ्य सुविधाका लागि खर्च गर्न कञ्जुस्याई गर्न हुँदैन । सरकारी अस्पताल र त्यहाँ भएका उपकरण ठीक ढंगले प्रयोग नभएको भन्ने जनगुनासो छ । एकपटक मेसिन बिग्रिएपछि नबनाउने र बिरामीहरु निजी क्लिनिकहरुमा पठाउने परिपाटी हावी छ । त्यसैले सर्वसाधारण विपन्न नागरिकको स्वास्थ्यका बारे सरकारले सोच्नैपर्छ । पंक्तिबद्ध भएर लाइनमा बसेर उपचार गर्ने अधिकारबाट जनतालाई बञ्चित गराउन हुँदैन । सरकारले आम सञ्चार माध्यमबाट स्वास्थ्यसम्बन्धि जनचेतना प्रकाशन र प्रशारण गर्न जरुरी छ । स्वास्थ्यलाई प्रतिकूल पार्ने जीवनशैली र रहनसहन भएकाले खानपिनमा मिसावट, पानी, वायुमण्डलको प्रदूषण नियन्त्रण सरकारले गर्नुपर्छ । सरकारले खाद्यान्नमा विशेष मापदण्ड तोक्नुपर्छ । मापदण्डबिपरित काम गर्नेहरुलाई बिना मोलाहिजा दण्ड सजाय दिनैपर्छ । जनस्वास्थ्यको पहिलो कदमनै यहि हो जस्तो लाग्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्