Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वस्थ जीवन: सम्पत्ति कमाउने मूल आधार



उद्योगपति भनेपछि स्वभाविक रुपमा पैसावाल व्यक्तिको अनुहार नाच्छ । तर कतिपय उद्योगपतिलेचाहिँ पैसालाई भन्दा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् । कर्पोरेट सेक्टरका व्यक्तिहरु जो बिहानदेखि बेलुकासम्म आफ्नो करियरमा समय बिताउँछन् । उनीहरुको स्वास्थ्य कस्तो रहेछ ? र उनीहरुले आफ्नो स्वास्थ्यप्रति कति ख्याल गर्छन् ? हामी यस्ता व्यक्तिहरु खोज्छौं र स्वास्थ्य र सम्पत्तिको सम्बन्ध जोड्छौं । यो स्तम्भवबाट अरुलाई पनि प्रेरणा होस् कि काम सँगसँगै आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ । स्वस्थ शरीर, स्वस्थ दिमागले स्वस्थ र स्वच्छ बिजनेश गर्नसक्छ भन्ने हाम्रो मुल उद्देश्य हो । यसपटक हामीले निम्त्याएका छौं, उद्योगपति प्रदिपकुमार श्रेष्ठलाई । प्रदिपकुमार श्रेष्ठको परिचय उद्योगीको मात्र छैन । सार्क चेम्बर अफ कमर्सको नेतृत्व गरेर नेतृत्व क्षमता देखाइसक्नुभएका श्रेष्ठ,सबैभन्दा युवा उमेरमै नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्नुभएको थियो । नेपालको प्रसिद्ध औद्योकि घराना पञ्चकन्या उद्योग समूहको प्रबन्ध निर्देशक, उद्योग बाणिज्य महासंघको पूर्व अध्यक्ष, एसिया प्यासिफिक च्याम्बरको उपाध्यक्ष, साउथ अफ्रिकाको अनरेवल काउन्सिलर प्रदिपकुमार श्रेष्ठलाई चिनाउन यिनै जिम्मेवारी काफी छन् ।

संलग्नता
पञ्चकन्या उद्योग समूहको लगानी अन्तर्गत ह्याम्स हस्पिटल चलिरहेको छ । पञ्चकन्या उद्योग नेपालका आम जनता र उपभोक्तामा परिचित नाम हो । यसको पूर्वदेखि पश्चिमसम्म विभिन्न उद्योग व्यवसाय सञ्चालित छन् । स्वास्थ्य, शिक्षा,विकास निर्माण, औद्योगिक उत्पादन, फाइनान्स,इन्स्योरेन्स र हाइड्रोपावर कम्पनिहरुमा पञ्चकन्या गु्रपको लगानी छ ।

स्वास्थ्य ठूलो बजार
नेपाललगायत विश्व बजारमा हेल्थ इन्डस्ट्रीको ठूलो महत्व छ । तर मुलुकभित्र स्वास्थ्य क्षेत्रमा प्रशस्त अवसरहरु नहुँदा स्वदेशी पुँजी पलायन भइरहेको छ । डाक्टर नर्स लगायतका दक्ष एवं योग्य व्यक्तिहरु स्वदेशमा अवसरको अभावमा पलायन भइरहेका छन् । त्यसैले नेपालमा पनि स्वास्थ्य क्षेत्रमा लगानी हुन सकेमा पूँजी र दक्ष जनशक्तिको पलायनलाई रोक्न निकै मद्धत गर्छ । स्वास्थ्य उपचारका लागि मुलुकबाट धेरै पूँजी विदेशतिर पलायन भइरहेको छ । त्यसैले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । प्रशस्त लगानी हुनुपर्छ । यो क्षेत्रले प्रशस्त रोजगारका अवसरहरु प्रदान गर्न सक्छन् । स्वास्थ्य उपचार सेवामा नेपाल उत्कृष्ठ गन्तव्य बन्न सक्छ । यहाँको अनुकूल हावापानी र वातावरणले नेपाल संसारको एउटा राम्रो हेल्थ सेन्टरको गन्तव्य बन्न सक्छ । संसारमा अबको ठूलो इन्डस्ट्री भनेकै हेल्थ सेक्टर हो । स्वस्थ हुँदा सोचाई राम्रो हुने रहेछ । घरमा एउटा बिरामी हुँदा उसले चार जना स्वस्थ व्यक्तिलाई बिरामी पार्छ भन्ने भनाइ छ । त्यसैले हेल्थ इज वेल्थ । स्वास्थ्यमा सम्झौता गर्न मिल्दैन । त्यहि भएर म स्वास्थ्यमा सम्झौता गर्दिन र स्वास्थ्य सेक्टरमा लगानी गर्न हामी उत्साहित भएका छौं ।

सामाजिक उद्देश्य
स्वास्थ्य क्षेत्रमा कोर लगानीको रुपमा हेर्ने व्यापारीहरुले नाफाको आशा राख्लान् । लगानी गरेपछि नाफाको आशा राख्नु नराम्रो कुरा होइन । तर हाम्रो चाँही धेरैजसोको लगानी बिबिधता होस् भन्ने पनि हो । तत्काल राम्रो नाफा पाउने आशाले मैले स्वास्थ्य क्षेत्रमा लगानी गरेको होइन । चिकित्सा अध्ययन गरेकाहरुका लागि रोजगारको अवसर दिने आधार पनि भएकाले केही नयाँ गरौं भन्न खोजेको हो । आफ्नो परिवारको कुनै सदस्य बिरामी हुँदा उपचारका लागि सहुलियत दरमा हुनसक्छ भन्ने एउटा आश पनि हो हेल्थ
सेक्टरमा लगानी गर्नुको प्रमुख कारण ।

वर्तमान स्वास्थ्य अवस्था
मलाई ३० बर्षअघि भेटेका साथीभाइ इष्टमित्रहरुले अहिले पनि खासै परिवर्तन नभएको बताउने गर्छन् । यसले मेरो स्वास्थ्य ठीक भएको महसुस हुन्छ । उमेरले ५ दशक बितिसकेको छ । स्वास्थ्यको दृष्टिले निरोगी छु । मेरो शारीरिक र मानसिक अवस्था मजबुत छ । म सानैदेखि खेलकूदमा संलग्न हुने कारण पनि मेरो शरीरको संरचना स्वस्थ रहेको हुनसक्छ । बाल्यावस्थादेखि नै फूटबल लगायतका विभिन्न खेलकूदहरुमा
संलग्न हुँदै आएको छु । अहिले मैले नियमित गल्फ खेल्ने गरेको छु । बिहान समयमा उठ्ने गरेको छु । गल्फ खेल्न नगएको बेलामा म मर्निङ वाक गर्छु ।मलाई प्राय खुला हावामा खेलिने खेलहरुमा संलग्न हुन मन लाग्छ । गेम खेल्दा मर्निङ वाक जस्तो पनि हुने भएकाले प्राय म बिहानको समयमा नियमित खेलकूदमा संलग्न हुने गर्छु । मलाई प्रतिस्पर्धी खेल (कम्पिटेटिभ गेम) निकै मन पर्छ । स्वास्थ्यको दृष्टिकोण मात्र नभएर
कम्पिटेटिभ खेलले निकै आनन्दित तुल्याउने भएकाले म यसमा निकै नै लगनशील छु । गेममा मैले धेरै नै ट्रफी जितेको छु । खेलमा हारजित हुन्छ र बिजनेशमा नाफा नोक्सान हुन्छ । स्पोस्र्टस मेनमा स्पिरिट हुनुपर्छ । खेलमा मिहिनेत गरेमा जीत हुन्छ भनेजस्तै आफ्नो व्यापार व्यवसायमा पनि मिहिनेत गरेमा त्यसको प्रतिफल आउँछ र त्यसलाई स्वस्थ तरिकाले प्रतिस्पर्धा गर्ने र स्वस्थ तरिकाले व्यापार गर्दा त्यसबाट लाभ प्राप्त गर्न अवश्य सकिन्छ । हेल्दी माइण्ड, हेल्दी सोचाई व्यक्ति निरोगी भएमा हेल्दी माइण्ड हेल्दी सोचाइ हुन्छ र काम गर्नमा जागरुकता ल्याउँछ । यसका साथै व्यक्तिमा सकारात्मक भावनाको विकास गराउँछ । त्यसैले म हेल्थसँग गेम लिंक गर्न सक्छु । स्वास्थ्यलाई हेरचाह पु¥याउन सकेका कारण संभावित रोगहरुबाट बच्न निकै मद्धत गरेको छ । त्यसैले स्वास्थ्यका लागि खेलले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । मैले खेल्ने खेल पहिला पहिला एथलेटिक्स खेल पनि खेल्ने गर्थें । फूटबल मेरो मुख्य खेल थियो । म स्कूलदेखि कलेज र विश्वविद्यालय क्याप्टेनसम्म भएर फूटबल खेलेको छु । मैले अञ्चल र राष्ट्रियस्तरसम्मको फूटबल खेलाडी भएर खेलेँ । म फास्ट गेम खेल्ने मान्छे हुँ । स्क्वासजस्तो कडा खेल खेल्न पनि पछि परिन । यसको राष्ट्रियस्तरसम्मको खेलमा प्रतिस्पर्धा गर्न सक्थेँ । अहिलेको पछिल्लो समयमा आएर गल्फ मेरो निकै चाहनाको खेल हो । यसमा पनि मैले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु जितिसकेको छु । लामो समय फूर्सद हुँदा गोकर्णमा गएर सात आठ घण्टा गल्फ खेल्ने गर्छु । थोरै समय भएको बेला घरमा खेल्ने गर्छु । कहिलेकाँही ब्याडमिन्टन खेल्ने गर्छु । बेला बेलामा मर्निङ वाक गर्छु । आफ्नो खानपीनमा विशेष ध्यान दिने गर्छु ।

शारीरिक परीक्षण
हरेक वर्ष एकपटक होल बडी चेकअप गराउने गर्छु ।

खानपान
म खानामा केही बार्दिन । तर खाएपछि पचाउनुपर्छ । यही खानुपर्छ र यहि खाना बार्नुपर्छ भन्ने छैन ।

खुशी
आफू स्वस्थ हुँदा खुशी लाग्छ । स्वस्थ शरीरले त स्वस्थ विजनेश गर्न सक्छ नि । म जे छु यसैमा मेरो प्रगति छ यसैमा खुसी छ ।

चिन्ता
मानिसको जीवनमा उतार चढाउन भइरहन्छ । यो जहिले पनि हुनसक्छ । सँधै गुलियो मात्र हुँदैन कहिलेकाँही नुनिलो पनि हुने गर्छ । नुनिलो र गुलियोको स्वाद बेला बेलामा भइरहन्छ । आफूले सोचेको कुरा नपुगेमा वा आफूले राम्रो सोच्दा सोच्दैमा पनि अरुले नराम्रो भन्दिदा चिन्ता लाग्ने गर्छ । आफूले पाउनुपर्ने कुरा किन नपाएको होला भनेर चिन्ता नभई चिन्तन गर्छु । यो मेरो स्वभाव हो ।

कमजोरी
म धेरै दयालु छु र धेरै चाँडो मानिसलाई विश्वास गर्छु । यसले मलाई धोका पनि हुने गर्छ । मेरो कमजोरी भनेको हरेक कुरालाई महत्वकाक्षी भएर हेर्ने गर्छु । आँट्यो भने के हुन सक्दैन र भन्ने सोच्ने गर्छु । प्रोगेसिभ सोचाई भएको व्यक्ति हुँ, कहिलेकाहीँ फसाइदिन्छन् । स्वास्थ्य र सम्पत्तिमध्ये कुनै एक रोज्नुपर्दा स्वास्थ्य नै रोज्ने हो । स्वस्थ जीवनले सम्पत्ति कमाउन सक्छ ।

स्वस्थ रहने सुझाव
युवा पुस्तामा जंक, फ्राइड फूडको लत बसेको छ । यो मीठो होला तर स्वास्थ्यका लागि राम्रो मानिदैन । त्यसैले अर्गानिक र प्राकृतिक भेजिटेबलमा जोड दिनुपर्छ । आफूले खाएको पचाउनुपर्छ । पानी आवश्यक मात्रामा पिउनुपर्छ । समयमा सुत्ने र समयमा उठ्ने बानी हुनुपर्छ । आफ्नो स्वास्थ्यका लागि केही समय छुट्याउनुपर्छ । स्वास्थ्यलाई हेलचेक्राई गर्नै हुँदैन । रोग लाग्न नदिने विभिन्न उपायहरु अबलम्बन गर्नुपर्छ । स्वस्थ र सकारात्मक सोच्नुपर्छ । मानिस गरीब भएर जन्मनु पाप होइन तर गरिब भएर मर्नु पाप हो । त्यसैले स्वस्थ जन्मेको व्यक्ति रोगी भएर किन मर्ने ? समयमा ख्याल पु¥याएमा राम्रो हुन्छ ।

मेरो खाना तालिका

बिहान
मनतातो पानी पिउने, मनतातो पानीमा एक चम्चा बेसार राखेर खाने, ब्रेक फास्टमा टोष्ट अण्डा, फलफूल ।

दिउँसो
दिउसोका खाना साधारण दालभात हुने गर्छ । घरमा गएर खाना खाने बानी छ । मेरो ९० प्रतिशत खाना घरमा नै बनाएको हुन्छ । जहा भए पनि खाना खान घर जाने गर्छु ।

बेलुका
बेलुका रोटी तरकारी । कहिले भेजिटेबल, नुडल्स आदि हुने गर्छ । बेलुका हल्का खाना खानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्