Logo
|
Saturday 16th November 2019
NEWS PAPER

बालबालिकाको भविष्य बाबु आमाको हातमा हुन्छ



काठमाडौंको तीनथाना गाउँ विकास समिति बस्ने राजु भण्डारीकी १० वर्षीया छोरी सुजता आजकल निकै झूट बोल्न थालेकी छन् । उनको यसChhorachhori1 बानीप्रति राजु निकै चिन्तित छन् ।
कक्षा ५ मा अध्ययन गर्ने सुजन आफ्नो गृहकार्य गर्न निकै अल्छी गर्छन् । उसलाई शिक्षकको गाली खानबाट बचाउन उसको आमाले नै गृहकार्य गरिदिन्छिन् । यसले सुजनमा आफैंले गृहकार्य गर्ने बानी छैन । उसलाई पढ्न मन लाग्दैन । उसको मनोबल पनि कमजोर हुँदै गएको छ ।
यो त एउटा उदाहरण मात्र हो । बच्चाको यस्तो नियतप्रति कयौं नेपाली अभिभावकहरु पीडित छन् । बच्चाको स्वभाव र उसले गर्ने व्यवहार धेरै हदसम्म बच्चा हुर्काउने अभिभावकमा निर्भर रहेको पाइन्छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ट साइक्याट्रिष्ट डा. सुदर्शन नरसिंह प्रधान भन्छन्— यसले बच्चाको मानसिकतामा धेरै प्रभाव पारिरहेको हुन्छ । बच्चाको स्वभाव उसको लालनपालनमा निर्भर गर्छ । लालनपालनको तरीकाले नै कसैको बच्चा धेरै तेज हुन्छ भने कसैको लद्धु । यसरी समाजमा भएका थरीथरीका अभिभावक र बच्चाको लालनपालनले पार्ने असरबारे जनस्वास्थ्य सरोकारको यस अंकमा चर्चा गरिएको छ ।

बच्चाको सुरक्षामा विषेश ख्याल राख्ने अभिभावक
यस्ता अभिभावकहरु आफ्नो बच्चाको बारे धेरै संवेदनशील रहन्छन् । बच्चाले गर्ने सानोतिनो कुरामा पनि विशेष ख्याल राख्छन् । बच्चाका सानातिना समस्या आफैं समाधान गरिदिन्छन् । बच्चालाई समस्याको समाधान गर्नबाट टाढै राख्छन् । यस्तो परिवेशमा बच्चाको मानसिक रुप कमजोर हुँदै जान्छ र सानो सानो कुरामा पनि अभिभावकमा भर पर्ने बानी बस्छ । अचानक उनीहरुमा एक्कासी कुनै समस्या आएमा समाधान गर्न सक्दैन र डराउन र हडबडाउन थाल्छ । उनीहरुको मनमा कयौँपटक आत्महत्या गर्ने समेत सोचाइ आउनसक्छ । यसरी भइपरी आउनसक्ने समस्याबाट बच्चा बचाउने जिम्मेवारी बाबुआमाको हातमा हुन्छ । त्यसैले बच्चाका सानातिना समस्या उसलाई स्वयं समाधान गर्न दिनुपर्छ । यसले बच्चामा आत्मविश्वास बढ्दै जान्छ ।

शंकालु अभिभावक
यस किसिमका अभिभावक अनुसन्धानकर्ता (सीआईडी) का रुपमा हरेक समय बच्चाको पछाडी चियोचर्चोमा लागिरहेका हुन्छन् । यस्ता अभिभावकले आफ्नो बच्चाको व्यवहार र गतिविधिलाई शंकाको नजरले हेर्ने गर्छन् । बच्चा स्कूलबाट घर फर्किएपछि बच्चाले थाहा नपाउने गरी झोला चेक गर्ने, झोलामा आफूले सोचेको भन्दा फरक वस्तु भेटिएमा गाली गर्ने र विभिन्न प्रश्न सोधेर हैरान गर्छन् । यसका साथै बच्चा खेल्ने कुद्ने र रमाइलो गर्ने हरेक कुरामा बिना कारण नै हस्तक्षेप गर्छन् ।
अभिभावको यस्तो व्यवहारले बच्चामा धेरै किसिमका नकारात्मक असर पर्छ । त्यसैले यो नियतलाई अभिभावक आफैले बदल्ने कोसिस गर्नुपर्दछ किनभने यस किसिमको जाशुसी गर्ने बानीले बच्चामा झूठ बोल्ने बानीको विकास हुनसक्छ । यसरी अभिभावकको गाली र पिटाईबाट बच्न बच्चाले झूटको सहारा लिने गर्छन् । त्यसपछि बिस्तारै बच्चामा झूट बोल्ने लत बस्छ । यस्तो बानी भविष्यमा निकै घातक साबित हुनसक्छ ।
यस्तो समस्याबाट बच्चा जोगाउन अभिभावकले विशेष ख्याल राख्नुपर्छ । विशेष अवस्था बाहेक बच्चाले गरेको व्यवहार र क्रियाकलापमा हरेक क्षण शंकाको दायरामा हेर्नुहुँदैन । गलत बाटो हिड्नबाट बच्चा जोगाउन उसले गरेको गतिविधिमा नजर राख्नुपर्छ । तर बच्चाले गरेको गल्तीमा गाली दिएर, रिसाएर होइन, मायाले सम्झाउनुपर्छ

क्रूर अभिभावक
यस्ता अभिभावकले हरेक पटक बच्चालाई गाली गर्ने, कराउने गर्छन् । यति मात्र नभएर उनीहरु बच्चा पिट्न पनि पछि पर्दैनन् । कुनै कुनै बेला यस्ता अभिभावकले बच्चालाई पिट्दा पिट्दै घाउसमेत बनाउने गर्छन् । यसका साथै बच्चालाई नराम्रा नराम्रा शब्दले समेत गाली गर्दछन् । यसले बच्चा डिप्रेशनको शिकार हुनसक्छ । यस्तो स्वभावका अभिभावकले अफिसको तनाव घरमा रहेका आफ्ना बच्चाहरुमा पोख्ने गरेको समेत पाइन्छ । यसरी लगातर पिट्ने र गाली गर्नाले कतिपय बच्चा मानसिक रुपमा कमजोर हुने गर्छन् । । कोही कोही संवेदनाहीन र कठोर पनि हुन सक्छन् तर कोही बच्चा भने अभिभावको डरले घर नै छाडेर जाने पनि गर्छन् ।
बच्चामा राम्रो, नराम्रो, सही, गलतको त्यति ज्ञान हुँदैन । बच्चाले गल्ती त गर्छन् । त्यसैले उनीहरुलाई मायाले सहि र गलत छुट्याइदिने अभिभावको जिम्मेवारीभित्र पर्छ । व्यक्तिगत तनाव, चिन्ताका कारण बच्चालाई पिट्ने, गाली गर्ने जस्ता गल्ती कहिल्यै पनि गर्नुहुँदैन । शान्त दिमागले सम्झाउनुपर्छ ।
महत्वकांक्षी अभिभावक
यसप्रकारका अभिभावकले आफ्नो बच्चाको क्षमता र ज्ञान बिना नै उसबाट ठूलो अपेक्षा लिएको पाइन्छ । आफ्नो बच्चा हरेक क्षेत्रमा पहिलो होस् भन्ने अभिभावकको चाहना हुन्छ । कहिलेकाँही अभिभावकको आकांक्षाको दवाबमा बच्चाको आफूभित्र रहेको प्रतिभा पनि हराउनसक्छ । अफ्नो क्षमताअनुरुप काम गर्न सक्दैनन् । अभिभावकले आफ्नो बच्चाबाट कुनै आशा राख्नुभन्दा पहिला बच्चामा भएको क्षमता पत्ता लगाउनुपर्छ । तिमी कक्षामा पहिलो हुनै पर्छ…….., तिमीले जसरी पनि यो प्रतियोगितामा जित्नै पर्छ ……जस्ता कुरामा अभिभावकले बच्चालाई कहिल्यै पनि दवाब दिनुहँदैन् । यदि कुनै प्रतियोगितामा बच्चाले हा¥यो भने पनि गाली नगरी उसलाई प्रोत्साहित गर्नुपर्छ ।

तुलाना गर्ने अभिभावक
कतिपय अभिभावक आफ्नो बच्चालाई अरुको बच्चासँग तुलना गर्छन् । बच्चाको अगाडि अरुको बच्चासँग तुलना गरेर आफ्नो बच्चाको मनोबल गिराउने कोसिस गर्छन् । उनीहरु आफ्नो बच्चालाई अरुको बच्चाको तुलनामा कमजोर र स्मार्ट नभएको तुलना गर्छन् । यस प्रकारको लालनपालनले मानसिक रुपमा बच्चाको मनमा इष्र्याको भावना उत्पन्न हुन्छ । अभिभावकले आफूलाई तुलना गरेको व्यक्तिसँग उनीहरु घृणा गर्न थाल्छन् । यस्ता बच्चाहरु बिस्तारै इष्र्यालु भन्दै जान्छन् र उनिहरुमा अत्मविश्वासको कमी हुँदै जान्छ ।

परनिर्भर अभिभावक
यस्ता अभिभावक आफ्नो बच्चाप्रति कुनै चासो नै राख्दैनन् । बच्चासँग सम्बन्धित कुनै कुरामा पनि ख्याल राख्दैनन् र आफ्नो बच्चाप्रति कुनै लगाव हुँदैन । यस्ता किसिमका अभिभावक बच्चाप्रति उदासिन रहन्छन् । उनीहरुले आफ्नो बच्चाको कोमल भावना बुझ्ने प्रयास गरेका हुँदैनन् । यतिमात्र नभएर बच्चा स्वयं आएर कुनै कुरा बताउँदा समेत बेवास्ता गरिदिन्छन् । बच्चाले कुनै राम्रो काम गरेपनि उनीहरुको तारिफ गर्दैनन् भने उनीहरुको गल्तीमा पनि गाली गर्दैैनन् ।
यस्तो अवस्थामा बच्चाले सही र गलतको पहिचान गर्न नसक्ने हुन्छन् । यसकारण केही बच्चाहरुमा ओभर कन्फिडेन्स हुनजान्छ र उसले अरुभन्दा आफूलाई ठूलो सम्झने गर्छ । यहि सोचले बच्चा घमण्डी हुनसक्छ । त्यसैले उनीहरुलाई सहि बाटो देखाउन अभिभावकले आफ्नो बच्चासँग धेरै भन्दा धेरै समय बिताउने कोसिस गनुपर्छ । बच्चाले बोलेका कुरामा ध्यान दिने र ऊ सँगै बसेर कथा कहानी सुनाउने, खेलिदिने, घुमाउन लैजाने जस्ताः क्रियाकलाप गर्न आवश्यक हुन्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्