Logo
|
Friday 26th April 2024
Logo

epaper

पिउन अयोग्य पानी बेच्दै ट्यांकर



काठमाडौं–उपत्यकामा खानेपानी वितरण गर्दै आएका अधिकांश ट्यांकर व्यवसायीले जनस्वास्थ्यमा प्रत्यक्ष हानि गर्नेdrinking water ‘अधिक एमोनिया’ युक्त पानी वितरण गरिरहेको भेटिएको छ। शरीरलाई हानि पु¥याउने एमोनियायुक्त पानी पिउन योग्य नभए पनि उनीहरु पिउने पानी भन्दै वर्षौंदेखि बेचिरहेका छन् । अनुगमन नहुँदा दिनहुँ लाखौं उपभोक्ताले त्यही पानी पिइरहेका छन्।
उपत्यकामा रहेका विभिन्न स्रोतमध्ये स्वयम्भू क्षेत्रको शोभा भगवती, चोभार क्षेत्रको चक्रतीर्थ, चावहिलको ज्वाला खानेपानीलगायत स्रोतमा अधिक मात्रामा एमोनिया भेटिएको खानेपानी ट्यांकर व्यवसायी संघले केही महिना अघि गरेको अध्ययनले देखाएको हो ।
अध्ययनमा सम्बद्ध व्यवसायीकै काम जनस्वास्थ्यविपरीत पाइएपछि प्रतिवेदन सार्वजनिक नगरिएको स्रोतको दाबी छ । अध्ययनमा संलग्न एक व्यवसायीका अनुसार उपत्यकामा भएका ६५ वटा स्रोतको अध्ययन गरिएकामा केहीमा एमोनिया र आइरन बढी मात्रामा भेटिएको नागरिक दैनिकमा छ ।

खानेपानी गुणस्तर मापदण्डअनुसार प्रतिलिटर बढीमा १.५ मिलिग्राम एमोनिया हुनुपर्नेमा उपत्यकामा खानेपानी भनेर वितरण गरिएका ट्यांकरका पानीमा २० मिलिग्राम प्रतिलिटरसम्म एमोनिया रहेको अध्ययनले औंल्याएको थियो । स्वयम्भू क्षेत्रमा रहेको ‘शोभा भगवती’ नामको पानीको स्रोतमा १८ देखि २० मिलिग्राम प्रतिलिटर एमोनिया भेटिएको छ । त्यस्तै, चोभारस्थित चक्रतीर्थ र चावहिलको ज्वाला खानेपानी स्रोतमा त्यत्तिकै मात्रामा एमोनिया भेटिएको छ ।

चोभारस्थित चक्रतीर्थ स्रोतनजिकै ‘यो पानी शुद्धीकरणपछि मात्र पिउनुहोला’ भनेर बोर्डसमेत राखिएको छ त्यही कम्पनीको ट्यांकरले पिउने पानी भनेर खुलेआम वितरण गरिरहेको छ । चक्रतीर्थका अध्यक्ष सुवर्ड महर्जनले आवश्यकभन्दा धेरै मात्रामा एमोनिया रहेको स्वीकार गरे । ‘यहाँको पानीमा धेरै मात्रामा एमोनिया छ,’ महर्जनले भने, ‘त्यसैले पिउन हुँदैन भनेका छौं ।’

विश्व स्वास्थ्य संगठन र नेपालको मापदण्डभन्दा धेरै मात्रामा एमोनिया भेटिएको अध्ययन निचोड छ । पानीमा विभिन्न खालका तŒव हुने भएकाले डब्लुएचओ र नेपाल खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार शरीरलाई हानि गर्ने २७ वटा तŒव मापदण्डभन्दा बढी हुनु हँुदैन । खानेपानी भनेर वितरण गरिएको पानीमा उक्त तŒव बढी मात्रामा भेटिए कारबाही हुन्छ ।

पानी गुणस्तर विशेषज्ञ भोलानाथ पौडेलका अनुसार खानेपानीमा १.५ मिलिग्राम प्रतिलिटर एमोनिया हुनुपर्छ । काठमाडौंमा भने पानीको सतहअनुसार १ सय ७० मिलिग्राम प्रतिलिटरसम्म भेटिएको छ । ‘पानीमा एमोनिया सकेसम्म नभएकै राम्रो हो,’ पौडेलले भने, ‘भए पनि १.५ मिलिग्राम प्रतिलिटरभन्दा धेरै हुनु हुँदैन ।’

उपत्यकामा ट्यांकरबाट वितरण गरिने सबै स्रोतका पानी पिउन योग्न नरहेको अर्का विशेषज्ञ विनोदशंखर पालिखे बताउँछन् । ‘ट्यांकरबाट वितरण भइरहेको पानी पिउनयोग्य छैन,’ पालिखेले भने, ‘तर ठाउँअनुसार फरकफरक हुने र ट्रिटमेन्ट गरेर पिउन सकिन्छ ।’ चोभार स्रोतबाट पानी वितरण गरिरहेका ट्यांकर व्यवसायी अनिश श्रेष्ठले पनि उक्त पानी पिउन नभएको बताए । ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्डभन्दा यहाँको पानीमा एमोनिया र आइरन धेरै छ,’ श्रेष्ठले भने । उनले उपभोक्तालाई उक्त पानी पिउन नभएर अन्य प्रयोजनका लागि भनेर बताउँदै आएको दाबी गरे । ट्यांकरमा पनि खानेपानी नलेखिएको दाबी उनले गरे पनि मंगलबार दिउँसो उक्त स्रोतमा पुग्दा ‘खानेपानी’ भनेर लेखिएका ट्यांकर पानी भर्ने लाइनमा भेटिए ।

स्थानीयले ट्यांकर खानेपानी भनेरै भरिरहेको देखेको बताए । ‘कसैले यो पानी पिउनका लागि होइन भनेर भन्छजस्तो लाग्दैन,’ नजिकैका एक स्थानीयले भने, ‘यहाँबाट पानी बोकेर कहाँ पुग्छन् सबै ठाउँ भन्दै हिँड्छन्जस्तो लाग्दैन ।’ त्यस्तै, स्वयम्भू क्षेत्रमा रहेको शोभा भगवती नामको स्रोतबाट पनि नियमित रुपमा २० मिलिग्राम प्रतिलिटर एमोनिया भएको पानी वितरण व्यवसायीले नै गरेको एक अध्ययनमा देखिएको छ । उक्त क्षेत्रबाट सबै ट्यांकरले खानेपानी भनेर वितरण गरिरहेको व्यवसायीले बताए । चावहिल क्षेत्रमा रहेको स्रोतमा पनि एमोनिया धेरै मात्रामा भेटिएको छ ।

चक्रतीर्थ समूहका महर्जनले पनि उपत्यकाका कुनै पनि स्रोतको पानी पिउनयोग्य नभएको दाबी गरे । ‘उपत्यकाको कुनै पनि ट्यांकरले प्रयोग गर्ने स्रोतको पानी सिधै खानयोग्य छैन,’ नागरिकसँग महर्जनले भने, ‘यो, त्यो भन्ने होइन कुनै पनि स्रोतबाट स्वस्थ पानी वितरण भएको छैन ।’ आफूहरूले स्रोतमा खान नहुने भनेर बोर्ड राखेको, बिलमा पनि प्रशोधनपछि मात्र पिउनुहोला भनेर लेखिएको तर अन्यले उल्लेख नगरेको उनको दाबी छ ।

महर्जनका अनुसार चोभार क्षेत्रमा धाराको खानेपानी सुविधा नभएकाले आफैं बोरिङ गरेरसमेत पानी पिउने गरेका छन् । जापानबाट आएको टोलीले उक्त क्षेत्रको अध्ययन गर्दा पिउनयोग्य नभएको बताएको उनले जनाए । ‘१४ नम्बर वडामा खानेपानीको सुविधा छैन,’ महर्जनले भने, ‘स्थानीय यहीँको बोरिङ प्रयोग गरिरहेका छन् ।’ पानीबारे उपभोक्ता नै सजग हुनुपर्ने व्यवसायी बताउँछन् । ट्यांकरले खानेपानी भनेर बेचे पनि उपभोक्ताले खानयोग्य छ÷छैन भनेर सजग हुनुपर्ने उनको भनाइ छ ।

कतिपय ट्यांकर व्यवसायीले शुद्धीकरण गरेर पानी वितरण गरिरहेको बताए पनि स्रोतबाट ट्यांकरमा सिधै भरेर उपभोक्तासमक्ष पुर्याइरहेका छन् । काठमाडौं मनमैजु क्षेत्रमा रहेका स्रोतबाट सिधै ट्यांकरमा पानी भरेर वितरण गरिने स्थानीय बताउँछन् । मंगलबार उक्त क्षेत्र पुग्दा दुर्गन्धित खोलाको नजिकै रहेका स्रोतबाट ट्यांकरमा पानी भरिरहेका देखिन्थे । न त शुद्धीकरणका लागि कुनै प्रविधि जडान गरिएका थिए न सुरक्षित रुपमा भर्ने काम भइरहेको थियो ।

उपत्यकामा हाल ६५ वटा स्रोत (उद्योग) बाट ट्यांकरहरूले पानी वितरण गरिरहेका छन् । उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अध्यक्ष विष्णु दाहालका अनुसार हाल ६ सय १० वटा खानेपानी ट्यांकरले पानी वितरण गरिरहेका छन् । दाहाल अध्यक्ष रहेको संघ बाहेक हरि कँडेल अध्यक्ष भएको उपत्यका खानेपानी ट्यांकर तथा बोरिङ व्यवसायी संघ पनि सक्रिय छ ।

सबै ट्यांकरले खानेपानी, निर्माण प्रयोजन र अन्य घरायसी प्रयोजनका लागि एउटै ट्यांकरमा पानी बोक्ने गरिरहेका छन् । सरकारले कुनै पनि वर्गीकरण नगरेकाले बाटो निर्माणका लागि पानी बोकिरहेको ट्यांकरले अर्को दिन खानेपानी बोकेर कुदिरहेको व्यवसायीको भनाइ छ । खानेपानी ट्यांकरले उपभोक्ताको स्वास्थ्य विपरीत पानी वितरण गरिरहेको भए पनि सरकारले भने अहिलेसम्म अनुगमन गर्न सकेको छैन ।

के हो एमोनिया ?

पानी गुणस्तर विशेषज्ञ भोलानाथ पौडलेका अनुसार एमोनिया पानीमा हुने एकप्रकारको तत्व हो जुन अधिक मात्रामा भए स्वास्थ्यमा हानि गर्छ । एमोनियाले तत्कालै असर नदेखाए पनि निरन्तर पिउँदा १०÷१५ वर्षपछि शरीरमा विभिन्न रोग देखाउन थाल्छ ।
एमोनिया भएको पानी पिउँदा रगतमा अक्सिजन डिफिसेन्सी गराउँदा रगतमा निलोपन ल्याउने, बालबालिका, गर्भवती महिला, शल्यक्रिया गरेका रोगीलाई यसले छिटो असर गर्ने पौडेलले बताए ।

पानी विशेषज्ञ पालिखेका अनुसार उपत्यकामा भएका कुनै पनि ट्रिटमेन्ट प्रविधिबाट एमोनिया हटाउन सकिँदैन । त्यस्तो प्रविधि धेरै महँगो पर्ने भए पनि प्रशोधन गरेर मात्र पिउनुपर्ने उनले बताए । काठमाडौंका स्यालो ट्युबवेलबाट निकालिएको लगभग सबै पानी पिउनयोग्य नभएको र डिप ट्युबवेलबाट आएको पानी भने केही प्रयोग गर्ने खालको रहेको विज्ञको भनाइ छ । ‘ट्रिटमेन्ट नगरिएको पानी ज्यादै खतरनाक छ,’ पालिखेले भने, ‘घरमा पनि राम्रोसँग शुद्धीकरण गरेर मात्र पिउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्