Logo
|
Friday 26th April 2024
Logo

epaper

कामै नलाग्ने भए कान्ति अस्पताल आइसियूका बेड



बिरामी अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता 

कान्ति बाल अस्पतालमा खरिद गरिएका आइसियू र पिआइसियूका बेडहरू कामै नलाग्ने अवस्थामा पुगेका छन् । कमजोर गुणस्तरका बेड भएपछि चिकित्सकहरूले थप गरिएका २२ बेड सञ्चालनमा ल्याउन सकेका छैनन् । बच्चाहरूलाई गुणस्तरीय सेवा दिने उद्देश्यले बेड थप गरेको पाँच महिना बितिसक्दा पनि गुणस्तरहीन भएका कारण सञ्चालनमा आएका छैनन् ।

अस्पतालका निर्देशक डा. गणेश राईले चाँडै बेड परिवर्तन गरिने बताए । केही बेडहरू केही दिनभित्रै हेरफेर गरिने उनले जनाए । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कान्ति अस्पतालमा आइसियू र पिआइसियूमा रहेका ३० बेडलाई बढाएर ५२ पुर्याएका थिए ।

नाम नखुलाउने सर्तमा एक कर्मचारीले नयाँ पत्रिकासँग भने, ‘आइसियू र पिआइसियूका लागि ल्याएका बेडहरू असाध्यै कमसल पायौँ । यी बेडहरू आइसियूका लागि ल्याएको होइन भन्ने हाम्रो ठम्याइ र¥यो । आइसियू र पिआइसियूका भन्दा फरक प्रकारका बेड आए । त्यसैले यस्ता बेडमा बच्चाको उपचार गर्न मिल्दैन ।’ कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न नेपाल सरकारको पाँच करोड र जापान सरकारको १५ करोड सहयोगमा थप ३४ शड्ढयाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।

कर्मचारी पुगे, तर बेड  कामै नलाग्ने,
थप आइसियू र पिआइसियू सञ्चालका लागि कर्मचारी, चिकित्सक तथा नर्सको अभाव देखाएर पाँच महिना बेड चल्न सकेनन् । अस्पतालका तत्कालीन निर्देशक डा. अजित रायमाझीले ७० जना कर्मचारी आवश्यक पर्ने र पदपूर्ति भएपछि सबै बेड सञ्चालनमा आउने बताएका थिए । सोहीअनुसार १५ दिनअघि आइसियूमा आवश्यक पर्ने सबै किसिमका कर्मचारी राखिएका छन् । ‘कर्मचारी पूरा भएका छन्’ अर्का एक चिकित्सकले भने’ ‘तर, बेडहरू कामै नलाग्ने भएको भन्दै चलाउन मानेनन् । यसले आइसियूमा राखेर उपचार गर्नुपर्नेे बच्चाको स्वास्थ्यमाथि ठूलो खेलबाड भएको छ ।’

बेड नहुँदा रिफर
चिकित्सकहरूका अनुसार आइसियू र पिआइसियूमा बच्चालाई राखेर उपचार गर्ने बेडहरू गुणस्तरीय हुनुपर्छ । आइसियूमा कार्यरत चिकित्सकले अधिकांश बेड सामान बोक्ने ट्रलीजस्ता भएको आरोप लगाएका छन् । ‘ट्रलिवाला बेडमा बच्चा राख्दा ठूलो जोखिम मोल्नुपर्ने हुन्छ । ट्रलि गुड्ने हुँदा बच्चा लड्ने सम्भावना भएकाले थप गरिएका कुनै पनि बेडबाट सेवा दिन सकिँदैन’ ती चिकित्सकले भने । बेडको अभावमा बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको कर्मचारीहरू बताउँछन् ।

गत तीन महिनामा एक सय २६ जना बिरामी रिफर भएका छन् । अस्पतालको तथ्यांकअनुसार माघमा जम्मा बिरामी संख्या नौ सय ७४ जनामध्ये ३४ जना बिरामी आइसियूका लागि अरू नै अस्पतालमा रिफर गरिएको थियो ।

फागुनमा एक हजार एक सय ३६ जना बिरामीले सेवा लिएका छन् । यसमध्ये ४१ जना बिरामी आइसियूका लागि बाहिर पठाइएको छ । चैतमा एक हजार दुई सय ६७ जना बिरामीले सेवा लिएकामा ५१ जना बिरामी रिफर गरिएको अस्पतालले जनाएको छ ।

बेड मात्रै समस्या होइन : निर्देशक राई
अस्पतालका निर्देशक डा. गणेश राईले आइसियूका बेड मात्रै नभई बेडमा लगाउने कपडा र बिरामीले लगाउने कपडाको समेत अभाव भएको बताए । उनले सामान किन्ने बजेट सकिएको भन्दै त्यसका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको जनाए । ‘हामीसँग आइसियूका लागि आवश्यक सामान नै छैनन् ।’ राईले भने, ‘यसको व्यवस्थापन चाँडै गरेर थप बेड सञ्चालनमा ल्याउने छौँ । ५२ वटै बेड सञ्चालनमा ल्याउन भने केही समय लाग्न सक्छ ।’ उनले अरू बेड आउनेबितिक्कै सट्टापट्टा गर्न सकिने भएकाले बेडका विषयलाई ठूलो समस्याको रूपमा लिन नहुने बताए । ‘बेड किन्दा बच्चा राखेर उपचार गर्ने र एक ठाउँबाट अर्को ठाउँमा लैजाने किसिमका पाइयो । आइसियूमा बच्चाहरू धेरै राख्नुपर्ने भएकाले हाललाई भएका बेडमा स्टेन लगाएर चलाउने छौँ’ राईले भने, ‘तर सधैँ यस्ता बेडबाट सेवा दिन समस्या हुने भएकाले अन्य बेडहरू थप्नेछौँ ।’ —नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्