Logo
|
Wednesday 8th May 2024
Logo

epaper

आयोगद्धारा लीलाधरको निःशुल्क उपचार



राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको पहलमा सप्तरीको वोदेवर्साइन नगरपालिका–६ बस्ने लीलाधर दास (तत्मा) लाई निःशुल्क उपचार गरिने भएको छ ।

डिहीबारथान (मन्दिर) छोएको भन्दै गत असार १३ गते साँझ उनलाई स्थानीयवासी राजकुमार यादव, कासिन्द्र यादव, रामचन्द्र यादव, सकलदेव यादव, जितेन्द्र साह लगायतका व्यक्तिले आक्रमण गरेको पीडितको उजुरीमा उल्लेख छ ।

कुटपिटबाट ४२ वर्षीय लीलाधरको हड्डीमा समस्या देखिएकाले तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

सो अस्पतालमा रु एकलाख खर्च लाग्ने बताइएपछि आर्थिक अभावमा उनी निराश भएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको क्षेत्रीय कार्यालयका प्रमुख दीपेन्द्र सिंहले बताएका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालसँग उपचारको प्रबन्ध मिलाउने विषयमा छलफलपछि लीलाधरकोे आवश्यक कागजातसहितको सिफारिसका आधारमा प्रतिष्ठानबाट उनको निःशुल्क उपचार गर्ने तयारी भइरहेको प्रमुख सिंहले जानकारी दिए ।

हरुवा–चरुवा बालबालिकालाई छात्रवृत्ति

यसैबीच, मानव अधिकार तथा ग्रामीण युवा परिवर्तन (हुर्क)नेपाल तथा तपेश्वरी समाज कल्याण सङ्घले सप्तरीको ४५२ जना हरुवा–चरुवा बालबालिकालाई छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाको कोइलाडी बर्साइन, कोइलाडी, ठेलिया र धरमपुर गाविसका हरुवाचरुवा बालबालिकालाई द फ्रिडम फण्डको सहयोगमा एक सेट शर्ट, पैन्ट, सल, सुरुवाल, १२ थान कपी, १२ पिस पेन्सिल, ६ थान इरेजर र तीनथान कटर वितरण गरिएको आयोजक संस्थाका सञ्चालक समिति अध्यक्ष पार्थो सरकारले बताका छन्।

कार्यक्रममा हरुवाचरुवा कार्यक्रम संयोजक प्रदीपकुमार जोशी, सुपरभाइजर पङ्कजकुमार सरकार, लेखापाल मेनका रश्मी, सहजकर्ताहरु ब्रह्मानन्द रजकलगायत स्थानीय हरुवा–चरुवा समूहका अभिभावकहरुको उपस्थिति थिए । रासस

प्रतिक्रिया दिनुहोस्