Logo
|
Friday 26th April 2024
Logo

epaper

प्रचण्डलाई कार्यकारी भूमिका दिएर ओली फेरि उपचार गर्न लागे सिंगापुरतिर



केही दिनअघि मात्रै सिंगापुरबाट उपचार गरेर फर्किएका प्रधानमन्त्री केपी ओली बिहीबार फेरि उपचारका लागि भन्दै त्यसतर्फ प्रस्थान गरेका छन् । पार्टीका आफ्ना समकक्षी पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी भूमिका दिएर ओली सिंगापुर गएका हुन् ।

ओली मृगौलाको क्षमता बढाउने उपचारका लागि सिंगापुर गएको उनका निजी चिकित्सक डा. दिव्या सिंहले बताएकी छन् । एक्कासी पुनः सिंगापुर उपचारका लागि जान लागेको कुरा बाहिर आएपछि ओलीको स्वाथ्यबारे धेरैले आशंका र चिन्ता जनाएका थिए । यसअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको आयु धेरै लामो नरहनसक्ने कतिपयको अडकल रहेको थियो । तर उनले केही दिनअघि चिकित्सकहरुको हवाला दिँदै आफू अझै २०–२५ बर्ष जिवित रहने बताएका थिए ।

ओली पछिल्लोपटक साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। फर्किएको डेढ सातामा फेरि उनी त्यसतर्फ जान लागेका हुन्।

सिंगापुर जानुअघि बिहीबार बिहान बसेको नेकपा सचिवालयको बैठकमा ओलीले आफ्नो अनुपस्थितिमा पार्टी एकता र अन्य विषयमा छलफल र निर्णय गर्ने अधिकार प्रचण्डलाई भएको बताएका थिए । नेकपाकै एक वरिष्ठ नेता माधव नेपालले अध्यक्ष ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै औंलो ठड्याएपछि ओली र प्रचण्डबीच निकटता बढेर गएको हो । ओलीले विस्तारै पार्टीको जिम्मेवारी प्रचण्डलाई सुम्पने तयारी गरिरहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चौतर्फी जिज्ञासा र चासो बढेपछि उनी सिंगापुर उड्नुअघि उनका निजी चिकित्सक डा. सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी सार्वजनिक गरेकी हुन् । सिंहका अनुसार ओलीको मिर्गौलासम्बन्धी एन्टीबडीको मात्रा बढी देखिन गएको, एन्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन फेरि सिंगापुर जानुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्