Logo
|
Friday 26th April 2024
Logo

epaper

डाक्टरी पेशामा नैतिकताको प्रश्न-के साँच्चै नै डाक्टरहरु चरित्रहीन र सरकारी अस्पतालहरु यातनागृहकै रुपमा छन् त

डा.प्रकाश राज रेग्मी, वरिष्ठ मुटु विशेषज्ञ, जनस्वास्थ्य सरोकार ।



धेरै वर्षअिघ एक लोकप्रिय मासिक पत्रिकामा प्रकाशित खोजपूर्ण लेख यातनागृहजस्ता सरकारी अस्पतालले मेरो ध्यान आकर्षित गरेको थियो । यस लेखमा चिकित्साकहरुलाई गैरजिम्मेवार,चरित्रहीन,ठग र बिरामीहरुलाई यातना दिने व्यतिmहरुको रुपमा औँल्याउनुका साथै वीर अस्पताल र त्रि.वि.वि. शिक्षण अस्पताललाई यातनागृहका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको थियो । यसबाट सर्वसाधारण जनताका मनमा डाक्टरीजस्तो पवित्र पेसामा लागेका चिकित्सकहरु र पवित्रस्थल मन्दिरसमान अस्पतालहरुप्रति नकारात्मक धारणा उन्पन्न हुने र यस्ता संस्थाहरुप्रति वितृष्णा पैदा हुने खतरा महसुस गर्न सकिन्छ । के साँच्चै नै डाक्टरहरु चरित्रहीन र सरकारी अस्पतलहरु यातनागृहकै रुपमा छन् त ? यो प्रश्नको ठीक उत्तर सम्बन्धित सबैले पाउनु अत्यन्त जरुरी छ ।

कार्यालय समयमा तलब खाएको कार्यालयमा नबसी प्राइभेट नर्सिङ होममा बसेर अर्थाेपार्जन गर्नु साथै नन् प्राक्टिसिङ भत्ता खाएर प्राइभेट क्लिनिक खोली बिरामीसँग पैसा लिएर जाँच्नु निश्चय नै अनुशासनहीनता हो । खुला रुपमा यस्तो आचरण गर्नु पक्कै पनि अनुशासनहीनताको नाङ्गो प्रदर्शन गर्नु हो । यसमा दुई मत हुन सक्दैन । तर मुठिभर त्यस्ता केही चिकित्सकहरुको नकारात्मक पक्षलाई बढाएर सम्पूर्ण चिकित्सा जगत् र सरकारी अस्पतालहरुलाई यातनागृहको संज्ञा दिन पक्कै मिल्दैन । यस्तो प्रस्तुतिबाट अस्पतालमा मरिमेटेर सेवा गर्ने ,दिनरात खट्ने र अनुशासित भएर कार्य गर्ने बहुसंङ्ख्यक चिकित्सकहरु र सरकारी अस्पतालहरुमा उपचार गराई जीवनदान पाएका लाखौँलाख बिरामीहरुमाथि वज्रपात हुन्छ । मुटु र दिमागका जटिल शल्यक्रियाबाट जीवनदान पाएका मुटु र दिमागका रोगीहरु, आकस्मिक कक्षमा उपचार पाएपछि बाँचेका दुर्घटनामा परेका रोगीहरु, मध्यरातमा सिरियस भई हेमोडायलाईसिस गरेर बाँचेका मिर्गौलाका रोगीहरु, आई.सी.यू.मा चिकित्सकहरुको अथक प्रयासबाट बाँचेका हार्ट अट्याक (हृदयघात) भएका रोगीहरु तथा वीर अस्पताल र टिचिङ अस्पतालमा उपचार गराएर जटिल र अत्यन्त खतरनाक ज्यानमारा रोगहरुबाट पूर्णरुपले मुक्ति पाएका असङ्ख्य रोगीहरुको पवित्र भावनालाई चरित्रहिन, ठग र यातनागृहजस्ता भनी चिकित्सा जगत्लाई प्रहार गरिएका शब्दहरुले खुल्लमखुल्ला बलात्कार गर्छ । आज हाम्रा सामु यस्ता असंख्य रोगीहरु छन् । जसले यिनै चरित्रहीन, ठग चिकित्सकहरुको अथक प्रयासबाट रोगमुक्त भई जीवनदान पाएका छन् र भोलि आवश्यक पर्दा यिनै चिकित्सकहरुकहाँ जीवनको भीख माग्न जानुपर्ने हु सक्छ । विचार गर्दा अचम्म लाग्छ ,चरित्रहीन र ठगहरु कसरी जीवनदाता भए । जीवनदान पाएको ठाउँ कसरी यातनागृह भयो । । हो ,सरकारी अस्पतालहरु अव्यवस्थित छन्, प्रशासन पक्ष कमजोर छ, यसकारण अस्पतालमा उपचार गराउन आउने बिरामीहरुको बिभिन्न प्रकारका दुःख कष्टको सामना गर्नुपर्ने बाध्यता छ, यसमा कुनै शङ्गा छैन । चिकित्सकहरुमा पूर्ण अनुशासन छैन, काम छल्ने प्रवृत्ति छ, यसमा पनि कुनै शङ्गा छैन । एवम् प्रकारले चिकित्सकहरुको आफ्ना बिरामीहरुप्रति जिम्मेवारी छ, माया छ, उनीहरुलाई सताउने, पीडा र यातना दिने कति पनि मनसाय छैन भन्ने तथ्यमा पनि शत्प्रतिशत शङ्गा लिनुपर्दैन । अस्पतालहरु यातनागृहजस्ता होइनन्, यिनिहरु पवित्र मन्दिरजस्ता हुन् भन्ने तथ्य झन् सूर्य र चन्द्रमा जत्तिकै शाश्वत सत्य हुन् । यसमा शङ्गा गर्नुपर्ने आवश्यकता छैन् ।

यसै प्रसङ्गमा तराई र पहाडी जिल्लाका सरकारी अस्पतालहरुको याद आउँछ । १० बर्ष विदेशमा अध्ययन गरेर मुटुरोग विशेषज्ञको उपाधि प्राप्त गरेपछि उक्त विशेषज्ञको पोस्टिङ दुर्गम पहाडी जिल्लाको सरकारी अस्पतालमा हुन्छ । १ जना डाक्टरले त्यहाँ सम्पूर्ण काम गर्नुपर्ने हुन्छ । दिनरात, चाडपर्व भन्न पाइदैन, आफू मुटुको डाक्टर भए तापनि टाउकोदेखि पैतालासम्मका रोगहरुको उपचारमा खट्नुपर्ने हुन्छ । प्रसुति पीडाबाट छट्पटाएका महिलाहरुलाई आफैँ बसेर प्रसुति सेवा दिनुपर्ने हुन्छ । गरिबी र अज्ञानताको फलस्वरुप मुत्युको शय्यामा पुगेकाहरुलाई मलमपट्टी गर्दा आफ्नै आँखाबाट आँशु झर्ने अवस्था आइपर्छ । ड्युटी ९ देखि २ बजेसम्मको भए तापनि दैनिक चौबीसै घण्टा खट्नुपर्ने हुन्छ । यसबापत् उसलाई दिइने न्यून मासिक तलब र अलिकति भत्ताबाहेक अरु केहि दिइँदैन । क्लिनिक पनि चल्दैन । अर्थाेपार्जनको अन्य बाटो पनि छैन । ५ बर्ष एवम् प्रकारको काम गरेपछि उक्त विशेषज्ञ आफुले पढेको कुरा बिर्सिएर कम्पाउन्डरको स्तरमा झर्दछ । विदेशमा तालिम र सेमिनारमा जाने अवसर भने काठमाडौँमा बस्ने डाक्टरहरुले पाउँछन् । दुर्गमका पहाडी जिल्लामा गएर सेवा गर्ने डाक्टर सदा पछाडि पर्दछ । काठमाडौँमा बसेका केहि सुविधाभोगी र अनुशासनहीन चिकित्सकहरुलाई हानेका चरित्रहीन र ठग शब्दहरुको वाणले दुर्गम जिल्लामा दुःख सहेर बसेका मेहनती इमानदार चिकित्सकहरुलाई रोप्न पुग्छ । वीर अस्पताललाई यातनागृहजस्तो अस्पतालको संज्ञा दिदा दुर्गम जिल्लाको त्यो सरकारी अस्पताल पनि यातनागृह साबित हुन पुग्छ । आखिर अन्याय कसलाई भयो ? ठण्डा दिमागले सोच्नुपर्ने स्थिति छ । ६÷७ बर्षअगाडिको एउटा घटना याद आउँछ । दशैँको समय थियो । भरतपुर अस्पताल र बुटवलको लुम्बिनी अञ्चल अस्पतालहरुमा मेनिन्जाइटिस र इन्सेफलाइटिसका रोगीहरुले सम्पूर्ण शय्याहरु भरिएका थिए । रोगको महामारीबाट धेरै बिरामहरुको मुत्यु भइसकेको थियो । एकबाट अर्कालाई रोग सर्ने अत्यधिक सम्भावना थियो । डरले सब भागाभाग गर्दै थिए । चिकित्सकहरु पनि कुनै बहाना बनाएर भागिदिएका भए अस्पतालका रोगीहरुको के हालत हुन्थ्यो होला । आखिर डाक्टरका पनि जहान, छोराछोरी होलान्, चाडपर्व मनाउनुपर्ने होला, इन्सेफलाइटिस सरेर मरिएला कि भन्ने डर आखिर डाक्टरलाई पनि त होला । तर डाक्टरहरु भागेनन्, दशैँ पर्वभरि चौबीसै घण्टा ड्युटी गरेर यस्तो खतरनाक रोगसँग सङ्घर्ष गरे । यिनै चरित्रहीन र ठग चिकित्सकहरुले त्यस बेला रोगीहरुलाई बचाउन असाधारण योगदान दिए । यिनै यातनागृह जस्ता डाक्टरसँग जँचाउन ओ.पी.डि. मा २÷३ घण्टा कुर्नुपर्ने सरकारी अस्पतालमा धेरै बिरामीहरु मुत्युको पञ्जाबाट उम्कन सफल भए । अस्पतालबाट डिस्चार्ज भएर जाने बेलामा चिकित्सक र अन्य चिकित्सकर्मीहरुलाई लक्ष्य गर्दै भगवान् भनेको तपाईहरु नै हुनुहुँदो रहेछ । अस्पताल भनेको भगवान् बस्ने मन्दिर पो रहेछ भन्ने जस्ता उद्गारहरु व्यक्त गेर । यो जस्तो ठुलो सन्तुष्टि र मूल्यवान् उपहार ती चिकित्सकहरुका लागि अरु केहि पनि हुन सक्दैन होला । डाक्टरी पेसा पवित्र, सेवामूलक पेसा हो । यस पेसामाथि शङ्गा, उपशङ्गा गर्नु भनेको लगनशील, मेहनती, इमान्दार र सेवाभावनाबाट प्रेरित थुप्रै चिकित्सकहरुमाथि अन्याय गर्नु हो केहि अनुशासनहीन चिकित्सकहरुको रिस अनुशासित चिकित्सकहरुमाथि पोल्नु हो ।

हो, वीर अस्पताल अव्यवस्थित छ । यहाँ दुर्गन्ध छ, बिरामीहरुको घुइँचो छ, भर्ना पाउन अति कठिन छ, चिकित्सकहरुको दर्शन पाउन पनि २/३ घण्टा लाईनमा कुर्नुपर्छ । यस अस्पतालमा काम गर्ने केहि चिकित्सकहरु ढिलो काममा आउँछन् र छिटो कामबाट भाग्छन् । यसरी ढिलो काममा आएर छिटो भाग्नुको पछाडी नर्सिङ होममा गएर पैसा कमाउने मात्र कारण होला र ! किन चिकित्सकहरु अनुशासन तोडिरहेका छन् ? किन टिचिङ अस्पतालका नन् प्राक्टिसिङ भत्ता खाने गरेका चिकित्सकहरुले प्राइभेट क्लिनिकमा खुल्ला रुपमा काम गर्ने गरेका छन् ? किन गल्ली गल्लीमा रक्सी पसल खुलेजस्तै स्तरहीन क्लिनिक र नर्सिङ होमहरु खुलिराखेका छन् ? आखिर किन चिकित्सकजगत्मा यस्तो अनुशासनहीनता बढ्दो छ ? यी प्रश्नहरु अत्यन्त गम्भीर छन् । के चिकित्सक र अस्पताललाई दोष दिएर यसको समाधान प्राप्त होला त ? अवश्य हुँदैन ।

नैतिकताको प्रश्नको प्रहार चिकित्सकहरुमाथि मात्र किन ? आज कुनचाहिँ सरकारी कार्यालयमा कुनै काम लिएर जाँदा तुरुन्त काम बन्छ ? तपाई शक्तिशाली हुनुहुन्छ भने मात्र काम बन्छ, अन्यथा या त घुस ख्वाउनुपर्छ या त वषौँ धाउनुपर्छ । कुन चाहिँ सरकारी कार्यालयमा ठीक १० बजेदेखि ठीक ५ बजेसम्म हाकिम फेला पर्छन् ? काम परेर भेट्न जाँदा हाकिम साहेब सधैँ मिटिङमै निस्किराखेको बेला पर्छ । आजको नेपाली समाजमा कुनचाहिँ क्षेत्र चोखो छ, जहाँ चरित्रहीनता र नैतिकहीनताले स्थान पाएको छैन ? १ किलो चिनीको १ रुपियाँले मूल्य बढ्दा १ गिलास चियाको मूल्य ३ रुपियाँबाट ५ रुपियाँ पु¥याउने होटल व्यवसायीलाई के भन्ने ? ५ रुपियाँ प्रतिलिटर पेट्रोलको मूल्य बढ्दा २ रुपियाँ प्रतिकिलोमिटर ट्याक्सी भाडा बढाउने यातायात व्यवसायीलाई के भन्ने सम्पत्तिको नाउँमा गाउँमा सानो झुपडी र २ रोपनी खेत मात्र भएको व्यक्ति जनताको मत पाएर सांसद भएको ४ महिना पनि नबित्दै लाखौं रुपियाँ पर्ने पजेरो गाडी चढ्ने सांसदलाई के भन्ने ?

चिकित्सकहरुमाथि नैतिकताको प्रश्न उठाउनेले यी प्रश्नहरुको पनि जवाफ दिनुपर्ने हुन्छ । चिकित्सा पेसालाई मात्र समाजबाट अलग्याएर हेर्न मिल्दैन । अनुहासनहीनता र चरित्रहीनताले आज राष्ट्रव्यापी रुप लिइसकेको छ । चिकित्सा पेसा अन्य पेसाजस्तो होइन । यो पेसा व्यक्तिको जीवनमरणसँग सम्बन्धित अत्यन्त अंवेदनशील पेसा हो । यसै काराणले होला कालीमाटीको तरकारी बजारको भीड र कलंकी चोकमा बिहान बेलुका लामो दुरीका बसहरु छुट्ने बेलाको भीडबारे कसैले चासो राख्दैनन् तर वीर अस्पताल र टिचिङ अस्पतालको ओ.पि.डि. मा लाग्ने भीडबारे विभिन्न चर्चाहरु हुन्छन् । यस्तै गरी अनुशासनहीनता र चरित्रहीनताको खुल्ला प्रदर्शन भइराखेका भन्सार, मालपोत र राजनीतिको चर्चाभन्दा चिकित्सक र चिकित्साकर्मीहरुको अनुशासन र चरित्रको चर्चा बढी हुने गर्दछ । यदि यसो हो भने यो पेसालाई र यस पेसामा समर्पित व्यक्तिहरुलाई अन्य पेसा र व्यक्तिहरु भन्दा अलग रुपमा हेर्नु पनि प¥यो र व्यवहार पनि त्यसै अनुरुप गर्नुप¥यो । कामअनुसार सहुलियत र सुविधाहरु पनि दिनु प¥यो । नेपाल सरकारको राजपत्राङ्गित दोस्रो श्र्रेणीका कर्मचारीहरुले जुन सुविधाहरुको उपभोग गर्छन् त्यो प्रथम श्र्रेणीका चिकित्सहरुलाई समेत उपलब्ध छैन । यो तीतो यर्थाथ शायद नैतिकहीन र ठग शब्दको वाण हान्नेहरुलाई थाहा छैन होला । रातदिन खटेर काम गर भन्ने नर्सिङ होममा बसेर पैसा कमाएको पनि देखि नसहने कुनै व्यापार व्यवसाय गर्न पनि रोग लगाउने अनि सरकारले दिएको मासिक न्यून तलबका भरमा डाक्टरले जीवन बिताउनुपर्ने यो कस्तो विडम्बना भा।तमा सबैभन्दा तल्लो स्तरका सरकारी चिकित्सकहरुको सुरुको मासिक आकर्षक छ । अन्य छिमेकी राष्ट्रहरुमा पनि यस्तै यस्तै नै छ । नेपालका डाक्टरहरुको कन्सल्टेसन शुल्क यति कम भएको मानिन्छ कि मित्र राष्ट्रका चिकित्सकहरु यस विषयलाई लिएर आश्चर्य व्यक्त गर्छन् । स्वास्थ्य सेवा नेपालमा अत्यन्त सस्तो भएको मानिन्छ तुलनात्मक रुपमा । नेपालबाहिर उपचार गराउन जानेहरुलाई यसको यथार्थ थाहा होला । चिकित्सकहरुमाथि कडा अनुशासन र स्वच्छ चरित्रको माग हुनु स्वाभाविक हो, तर जति जिम्मेवारीपूर्ण र कठिन सेवाको माग गरिन्छ उति नै सुविधाहरु पनि दिनुपर्छ भन्ने खै कसैलाई चासो जागेको ? दू्रसञ्चारका कर्मचारीहरुले जनताले तिरेको पैसाबाट कति सहुलियत लिएका छन्, उनीहरुलाई नै थाहा होला तर अस्पतालमा रोगीहरुले तिरेको पैसाबाट अस्पताल सञ्चालन गर्ने २० प्रतिशत रकम पनि उठ्दैन । यहाँसम्म कि वीर अस्पतालको कुनै चिकित्सक बिरामी परेर औषधि गर्नुप¥यो भने उसले साधारण बिरामीसरह कुनै जनरल बेडमा भर्ना हुनुपर्छ चिकित्सकका लागि भनेर एउटा छुट्टै क्याबिनको समेत सुविधा छैन । डाक्टरलाई आफ्नो लुगा फेर्न र ब्याग राख्ने कोठासमेत सुबिधा छैन र प्रथम श्र्रेणीका चिकित्सकहरुलाई कुनै सवारीसाधनको सुविधाको त कुरै नगरौँ, बस्ने र बिरामीका मान्छेहरुलाई भेट्ने छुट्टी टेबल कुुर्सीसमेतको व्यवस्था छैन भने अन्य तल्ला तहका चिकित्सकहरु र चिकित्साकर्मीहरुले पाएका सुविधाहरुबारे चर्चा गर्नु आवश्यक देखिदैन ।

चिकित्सा पेसा सेवामुलक पेसा हो । यो सेवालाई विशेष महत्व दिनु आवश्यक छ र विशेष सेवाअन्तर्गत यसलाई सञ्चालन गर्नुपर्छ । यस पेसामा चरित्र र अनुशासनको प्रश्न जरुर कडा रुपमा उठाउनु पर्छ साथै यस पेसामा लागेकाप्रति त्यसै अनुरुपको व्यवहार पनि हुनुपर्छ । लामो समयको प्रतिक्षापछि स्वास्थ्य सेवा ऐन लागू भएको छ । चिकित्सकहरुले ठूलो आशा राखेका थिए नयाँ ऐन आउला, सेवा गर्ने वातावरणमा सुधार होला अनि निश्चिन्त भएर सेवा गर्ने अवसर प्राप्त होला । तर धेरै त्रुटिहरु लिएर स्वास्थ्य सेवा ऐन आएको छ । चिकित्सकरुलाई लखेटेर, पेलेर, बाध्य गराएर सेवामा लगाउने, कडा परिश्रमको माग गर्ने तर सुबिधा दिन भने कन्जुस्याइँ गर्ने त्रुटि फेरि पनि दोहोरिएको छ । पवित्र सेवामा समर्पित चिकित्सकहरुको मर्का बुझेर उनीहरुसँग व्यवहार गर्ने चिकित्साजगत्मा देखा परेका अनुशासनहीनताको जरो पत्ता लगाई राष्ट्रव्यापी रुपमै समाधानको प्रयास गर्ने, चिकित्सा पेसालाई अझ बढी सेवामुलक बनाउने चिकित्सकहरुमा सेवाभावना वृद्धि गराउन प्रयास गर्ने इत्यादि जस्ता जटिल कार्यहरु गर्न सम्बन्धित निकायले ठूलो कसरत गर्नुपर्ने देखिन्छ । यी प्रयासहरु सफल भएपछि मात्र जीवनदान दिने पवित्र थलो सरकारी अस्पतालहरुलार्ई यातनागृह ’भनी कसैले टिप्पणी गर्न सक्नेछैन ।

प्रतिक्रिया दिनुहोस्