Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

शरीरको जण्डिस फालिदिने भन्दै धादिङमा एक लामा झाँक्रीले बिरामीको पेट प्वाल पारे,बिरामी जीवनमरणको दोसाधमा



 जण्डिसको उपचार गरी शरीरको विकार फालिदिने भन्दै धादिङको नीलकण्ठ नगरपालिका- ३ का एक लामा झाँक्रीले बिरामीको पेटमा प्वाल पारिदिएका छन् । विगत २ महिना अघिदेखि जण्डिस रोगले थलिएका नीलकण्ठ नगरपालिका- ९ झगरेका राजु मगरको शरीरबाट विकार निकालिदिने भन्दै झाँक्री गजबहादुर लामाले पेटमा प्वाल पारिदिएका हुन् ।

झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वासमा पर्दा राजु यतिबेला जीवनमरणको दोसाधमा पुगेका छन् । बोल्न समेत नसक्ने अवस्थामा पुगेका राजुलाई यतिबेला जिल्ला अस्पताल धादिङमा उपचारका लागि ल्याइएको छ ।

‘अस्पतालमा उपचार गराएर घरमै औषधि खुवाइरहेका थियौँ, निको भएकै थिएन, ‘राजुकी श्रीमती विमलाले भनिन्, ‘त्यसपछि झाँक्रीलाई देखाउँदा शरीरमा विकार रहेको र आफूले विकार निकालेर फालिदिने बताएपछि झाँक्रीको विश्वास गर्दा यस्तो घटना हुन पुग्यो ।’

झाँक्रीले शरीरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठमा थुनेर ब्लेडले पेटमा चिरिदिएका थिए । सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरी केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफूलाई बताएको विमलाले बताइन् ।

झाँक्रीले पेटमा प्वाल खोपिदिएर अवस्था झनै बिग्रिएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो । तर काठमाडौं नयाँबजारस्थित पिपुल मेडिकल कलेजले अरुले बनाइदिएको घाउ आफूले नहेर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर फिर्ता गरिदिएको थियो ।

झाँक्रीको भिजिटिङ कार्ड।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन्। उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए ।

त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएको अधिकारकर्मी राधिका सापकोटाले बताइन् । उनले भनिन्, ‘हामीले घटनाबारे थाहा पाएका थियौँ, प्रहरीकोमा उजुरी गर्न पीडितलाई आग्रह गर्‍यौं, झाँक्रीले पीडितलाई मन्त्र लगाएरै मारिदिन्छु भन्ने धम्की दिएकाले घटना त्यसै ढाकछोप पारिएछ। झाँक्रीको कर्तुतबारे आफूले प्रहरीलाई त्यतिबेलै मौखिक जानकारी गराएको भएपनि कुनै कारवाही नभएको सापकोटाले बताइन्।यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा मनिष दुवाडीले लेखेकाछन्

NH
Health News
प्रतिक्रिया दिनुहोस्