Logo
|
Friday 26th April 2024
Logo

epaper

किन चलाउन सकेन बीपी प्रतिष्ठानले फार्मेसी ?



सुनसरी — आर्थिक ऐन र खरिद नियमावली बाधक भएको कारण देखाउँदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फार्मेसी सञ्चालन गर्न सकेको छैन । सरकारले प्रत्येक अस्पतालले आफैं फार्मेसी चलाउन निर्देशन दिए पनि प्रतिष्ठानले त्यसलाई लागू गरेको छैन ।

प्रतिष्ठानमा फार्मेसी सञ्चालन नहुँदा दैनिक हजारौं बिरामी बाहिरका निजी फार्मेसीबाट महँगोमा औषधि किन्न बाध्य छन् । प्रतिष्ठान जस्तो स्थापित संस्थाले सर्वसाधारण बिरामीको हितमा फार्मेसी सञ्चालन गर्न नसक्नुमा आर्थिकसम्बन्धी खरिद ऐन र नियमावली बाधक भएको प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा. गुरु खनालले बताए । ‘खरिद ऐनअनुसार सस्तो मूल्यमा औषधि उपलब्ध गराउने कम्पनीले टेन्डर पाउनुपर्छ । तर बजारमा एउटै रोगका लागि विभिन्न कम्पनीका अनेक ब्रान्डका औषधि पाइन्छ । बिरामीका लागि गुणस्तरीय, प्रभावकारी औषधि महँगो पर्छ । सस्तो औषधिले रोग निको पार्दैन । हामी यसैमा अड्किएका छौं ।’

डेढ वर्षअघिसम्म प्रतिष्ठानले ठेक्कामा औषधि बिक्री गर्न एक कम्पनीलाई जिम्मा दिएको थियो । उक्त कम्पनीले प्रतिष्ठानका बालरोग र स्त्री तथा प्रसूति, विभिन्न वार्ड, इमर्जेन्सी कक्षमा फार्मेसी कक्ष राखेको थियो । त्यसबेला महँगोमै भए पनि ७५ प्रतिशत बिरामीले प्रतिष्ठानभित्रै औषधि किन्ने गरेका थिए । तर अहिले प्रतिष्ठानको इमर्जेन्सी कक्षमा समेत औषधि अभाव भएपछि बाहिरका फार्मेसी जानुपर्ने बाध्यता छ ।

‘चाहेर पनि फार्मेसी चलाउन सकेका छैनौं । फार्मेसी चलाउन प्रतिष्ठानका चार पदाधिकारी बसेर निर्णय गरेर मात्र हुँदैन रहेछ । प्रतिष्ठानभित्रै व्यवस्थित फार्मेसी नहुँदा सर्वसाधारण बिरामीले दु:ख पाएका छन्,’ प्रतिष्ठानका निमित्त उपकुलपति डा. खनालले भने, ‘यस विषयमा तिहारपछि मात्र नयाँ निर्णय हुन्छ । अहिले केही गर्ने अवस्थामा छैनौं ।’

केही महिनाअघि प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने प्रयास गरेको थियो । दुई ठाउँमा फार्मेसी राखेको थियो । तर औषधि उपलब्ध गराउन नसकेपछि ती फार्मेसी रित्तै छन् । दैनिक तीन हजार बिरामी उपचारका लागि आउने प्रतिष्ठानमा ८ सय शय्या छन् । प्रतिष्ठानभित्रै फार्मेसी भए ती बिरामीबाट वार्षिक ४० देखि ५० करोड रुपैयाँको औषधिको कारोबार हुने अनुमान छ ।

प्रतिष्ठानले लाइफ केयरलाई फार्मेसी चलाउन वार्षिक १ करोड ४४ लाख रुपैयाँ भाडामा दिएको बेला प्रतिष्ठानभित्र मात्र दैनिक ८ लाख रुपैयाँसम्मको औषधि बिक्री हुन्थ्यो
।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्