Logo
|
Friday 26th April 2024
Logo

epaper

महान चाड दशैंमा नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाद्धारा आकस्मिक औषधि पूर्तिका लागि हटलाइन सेवा, ९८४१२६४१७१ नम्बरमा डायल गर्न सकिने

चाडवाडको समयमा आकस्मिक औषधिको अभावले बिरामीलाई हुनसक्ने खतरा न्युनिकरणमा मद्धत पुग्ने विश्वास



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले महान चाड बडादशैंका अवसरमा सम्बन्धित बिरामीलाई हुनसक्ने आकस्मिक औषधिको अभाव पूर्तिका लागि २४ सै घण्टा हटलाइन सेवा उपलब्ध गराएको छ । यसका लागि ९८४१२६४१७१ नम्बरमा डायल गर्न सकिनेछ ।
औषधि व्यवसाय मानव सेवासँग सम्बन्धित भएकाले दशैं तिहार जस्ता चाडवाडको समयमा आकस्मिक औषधिको अभावले कुनै पनि बिरामीलाई हुनसक्ने खतरा न्युनिकरणका लागि शाखाले सो सेवा उपलब्ध गराएको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष एवं बबी मेडिसिन सप्लायर्सका सञ्चालक बद्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
क्यान्सर, मुटु रोग, मधुमेहलगायत दुर्घटनामा परेका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण आकस्मिक औषधिहरु उल्लेखित हटलाइन नम्बरमा फोन गरेर प्राप्त गर्न सकिनेछ ।
यसका लागि सम्बन्धित औषधिका स्टकिष्ट, होलसेलर र खुद्रा बिक्रेताहरुलाई उच्च सतर्कतामा राखिएको महासचिव एवं आरभी मेड डिष्ट्रिब्युटर्सका सञ्चालक शुभमान श्रेष्ठ (सुमन) ले बताउनुभयो । काठमाडौं जिल्ला शाखाको अध्यक्षको निगरानीमा १० जना कार्यकारिणी सदस्यहरुले मध्यस्थता गर्नुभएको छ ।
‘हामी मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेका छौं । निसंकोच सुविधा लिन आग्रह गर्दछौं’—महासचिव श्रेष्ठले भन्नुभयो —‘बिरामीलाई आवश्यकता परेको आकस्मिक औषधि उनीहरुलाई पायक पर्ने सम्बन्धित ठाउँको लोकेसन दिएर उपलब्ध गराइरहेका छौं ।’
अहिले काठमाडौंबाट यो सेवा उपलब्ध भएपनि अन्य जिल्लामा पनि माग आएको अवस्थामा सम्बन्धित जिल्ला शाखाहरुसँग समन्वय गरेर यस प्रकारको सुविधा उपलब्ध गराउन सकिने सकिने महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।
तिहारमा ९० प्रतिशत औषधि पसल खुलिसक्ने भएकाले यो बेला हटलाइन सेवाको जरुरत नपरेपनि आवश्यक परेको अवस्थामा परामर्श उपलब्ध गराइनेछ । विपद् परिस्थितिमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न सम्बन्धित औषधिहरु मौज्दात राख्न, औषधि उपलब्ध हुने ठाउँहरुमा सोझै सम्पर्कमा रहन सम्बन्धित निकायहरुसँग समन्वय भइसकेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो । हाल काठमाडौंमा करिब १७ सय औषधिको खुद्रा बिक्रेता, करिब ३ सयको हाराहारीमा सुपर र होलसेलर रहेका छन् ।


औषधि व्यवसाय र व्यवसायीको हकहित सुरक्षा, औषधिको समृद्धि र विकासमा सुनिश्चितता, व्यवसायिक दक्षता र कुशलता अभिवृद्धि, सुरक्षित र असरदार औषधिहरु उपभोक्ताहरुलाई उपलब्ध गराउने उद्देश्यका साथ नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ल्ला शाखाले काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्