Logo
|
Friday 26th April 2024
Logo

epaper

किन लाग्छ मानसिक रोग ?



बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । यदि, कुनै व्यक्तिको सामान्य व्यवहार परिवार र समाजलाई असर गर्ने खालको छ भने त्यो मानसिक रोगका कारणले हो । नेपालमा मानसिक रोगीको अवस्थाबारे इन्टरनेसनल मेन्टल हेल्थ नामक संस्थाले हालै सर्वेक्षण सुरु गरेको छ । योभन्दा अघि सरकारी स्तरबाट कुनै पनि सर्वेक्षण भएका छैनन् । तर, नेपालमा करिब २० देखि २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान गर्न सकिन्छ ।

लक्षण

डिप्रेसन
– असामान्य व्यवहार गर्ने, झर्किने, नकारात्मक सोच बढी आउने, दिमागले राम्रोसँग काम गर्न नसकेको जस्तो लाग्ने, दिक्क लाग्ने, रुन मन लाग्ने, काममा मन नलाग्ने आदि डिप्रेसनका लक्षण हुन् । डिप्रेसन बढ्दै गएमा आत्महत्या गर्ने सोचाइसम्म आउने, आफ्नो ख्याल राख्न छाड्ने अर्थात् कुनै कुरामा ध्यान नदिने, एक्लै बस्नेजस्ता लक्षण देखिन्छन् ।

एन्जाइटी डिसअर्डर
– एन्जाइटीका बिरामीमा डर लाग्ने, तर्सिने, विनाकारण झसंग हुने, जिउमा कम्पन हुने, सास फेर्न गाह्रो हुने, पसिना आउने हुन्छ । त्यस्तै, निद्रा नलाग्ने, छटपटी हुने, कामको वेलामा विभिन्न खालका डर महसुस हुने हुन्छ । मानसिक असन्तुलन
– मानसिक असन्तुलन कडा खालको मानसिक रोग हो । मानसिक असन्तुलन भएका व्यक्ति ठूलो स्वरमा बोल्ने, अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने र घमण्डी देखिने हुन्छन् । आफूलाई मानसिक रोग लागेको वास्तविकता बिरामीलाई थाहा नहुनु र कानमा कुनै किसिमको आवाज सुन्नु आदि कडा मानसिक रोगका लक्षण हुन् ।
कारण
– मानसिक रोगका विभिन्न कारण छन् । जसमध्ये वंशाणुगत गुणबाट पनि कतिपयमा मानसिक रोग देखा पर्छ ।
– पारिवारिक वातावरण मानसिक रोगको अर्को कारण हो । परिवारका सदस्यबीच कलह भइरहने भएमा बच्चाहरूमा यसको नकारात्मक असर पर्ने हुन्छ । बिस्तारै उनीहरूमा विभिन्न किसिमको मानसिक रोग हुने सम्भावना उच्च रहन्छ ।
– दुर्घटनाबाट पर्न गएको मानसिक असरसँगै दीर्घरोगीमा पनि मानसिक रोग हुन सक्छ ।
– धेरै सोच्ने, अनावश्यक तनाव लिने मानिसमा समेत यसको असर देखिन्छ ।
– अत्यधिक मदिरा सेवन तथा राजनीतिक–सामाजिक परिवेशले समेत युवाहरूमा मानसिक असर परिहेको पाइन्छ ।

रोकथाम र उपचार
– मानसिक रोग लाग्ने प्रमुख कारण तनाव व्यवस्थापन गर्न नसकेर हो । तसर्थ, तनावबाट टाढा रहने, सकारात्मक विचार, स्वस्थ जीवनशैली अपनाउने, व्यायाम गर्ने, कुलतमा नलाग्ने गरेमा दिमागमा पर्ने असरबाट बच्न सकिन्छ ।
– मानसिक रोगका लक्षण देखा परेमा चिकित्सकसँग सल्लाह लिन जरुरी छ । रोग प्रारम्भिक चरणमै भएमा सामान्य परामर्शबाटै उपचार सम्भव छ ।
– यसबाहेक औषधि सेवन, विद्युतीय चिकित्सा पद्धतिलगायत अन्य किसिमबाट पनि उपचार गर्न सकिन्छ ।

(मानसिक रोग विशेषज्ञ डा. रितेश थापा रिदम न्युरोसाइकियाट्री हस्पिटल एन्ड रिसर्च सेन्टरमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्