Logo
|
Friday 26th April 2024
Logo

epaper

तीन शिशुको मृत्यु प्रकरण: सप्तऋषि अस्पतालले लापरबाही गरेको निष्कर्ष



जनस्वास्थ्य सरोकार, काठमाडौँ । लहान नगरपालिका–३ स्थित सप्तऋषि अस्पतालमा तीन शिशुको मृत्यु भएको घटनामा डाक्टर र अस्पताल पक्षको लापरबाही देखिएको छ। प्रशासनले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अस्पताल पक्षको लापरबाही भएको निष्कर्ष निकालेको हो।

समितिले गरेको छानबिनबाट सो अस्पतालमा एकै रात तीन शिशुको मृत्यु भएको घटनामा चिकित्सकको चरम लापरबाही देखिएको छ। गत पुस १८ गते शुक्रबार राति अस्पतालमा प्रसूतिका लागि पुगेका सप्तरीको बलानबिहुल गाउँपालिका–३ की संगीता साह, सिरहाको औरही गाउँपालिका–१ दरहियाकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका–३ दिनाजपुर घर भई लहान नगरपालिका–१९ स्थित माइत बस्दै आएकी जानकी यादवले चिकित्सकको लापरबाहीका कारण आफ्ना शिशु (छोरा) गुमाएका थिए। इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले प्रमुख जिल्ला अधिकारीलाई माघ २ गते छानबिन प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अनुसार शल्यक्रियामा संलग्न डा। सुनिल बिराजीले मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरेको खुलेको छ। छानबिनका क्रममा अपतालका प्रमुख चिकित्सक पशुपति चौधरीले भने डा. बिराजी अस्पतालमा कार्यरत नै नरहेको बयान दिए पनि समितिले छानबिनको क्रममा बिराजी अस्पतालमै कार्यरत रहेको प्रमाण फेला पारेको छ।

अस्पतालले डा। रञ्जिता जयसवालले शल्यक्रिया गरेको दाबी गर्दै आएको छ। तर, छानबिन टोलीले जयसवाल पुस १८ गते बिदामा रहेको हाजिरी रजिस्टर फेला पारे पनि उनले अर्को दिन आएर जाँच पुर्जामा र अन्य फाइलमा हस्ताक्षर गरेको तथ्य फेला परेको छ। अस्पताल प्रमुख डा. चौधरी र उनका छोरा डा। सुभाष स्वास्थ्य जाँचका लागि भन्दै भारततर्फ गएका छन्। इलाका प्रहरी कार्यालय लहानका डिएसपी सरत थापा क्षेत्रीका अनुसार छानबिन समितिको प्रतिवेदन माघ ३ गते प्राप्त भएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ। ‘पीडित पक्षले दिएको जाहेरी सोमबार दर्ता गरिएको छ,’ उनले भने। इलाजसम्बन्धी महलमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएको उनले जानकारी दिए। ‘प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ,’ डिएसपी क्षेत्रीले थपे, ‘प्रतिवादीहरू फरार छन्, चाँडै पक्राउ पर्छन्।’ समितिले अस्पतालको नवीकरण भएनभएको, कार्यरत डाक्टरहरूको योग्याता, एनएमसी (नेपाल मेडिकल काउन्सिल) को प्रमाणपत्र भए नभएको, शुक्रबार ड्युटीमा रहेका डाक्टर, स्वास्थ्यकर्मीको नामावलीलगायत प्रश्नको लिखित जवाफ अस्पताल पक्षसँग लिएको छ।

जानकीका पिता घुरन यादव, प्रमिलाका पति लालबहादुर यादव र संगीताका पति मनोज साहले पुस २१ गते (सोमबार) लहान प्रहरीमा जाहेरी दिएका थिए। उनीहरूले प्रहरीसमक्ष कारबाही अघि बढाउन सम्पूर्ण आधार प्रमाण पेस गरिसके पनि छानबिन समितिको प्रतिवेदन पर्खंदै प्रहरीले जाहेरी दर्ता गरी कारबाही अघि बढाएको थिएन। अस्पताल पक्षको प्रलोभनमा नपरी कानुनी उपचारको बाटो रोजेका आफूहरूलाई निसाफ दिलाउन प्रहरीको इमानदार कारबाहीलाई पीडित पक्षले नियालिरहेका छन्। ‘अयोग्य चिकित्सकबाट भएको लापरबाहीपूर्ण उपचारको दोषी अस्पताल सञ्चालक पनि हो,’ छानबिन समिति संयोजक कमलराज भण्डारीले भने, ‘उपचारमा संलग्न डा. बिराजी, जो मेडिकल काउन्सिलको जाँचपास नगरेका डाक्टरलाई भर्ना गरेकै कारण उपचारमा लापरबाही भएको देखिन्छ।’ तसर्थ अयोग्य चिकित्सकलाई काममा लगाउने अस्पताललाई पनि कारबाही हुने उनले बताए। पीडित पक्षले जाहेरी दिएलगत्तै डा. बिराजी फरार छन्।
नागरिक दैनिकबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्