Logo
|
Friday 26th April 2024
Logo

epaper

कसरी जोगिने आणुवांशिक रोगबाट ?




हाम्रो शरीर विभिन्न किसिमका कोषिकाहरु मिलेर बनेको हुन्छ । कोषिका भित्र क्रोमोजोम (वंशाणुगत गुणसुत्र) भन्ने तत्व बनेको हुन्छ । क्रोमोजोम भित्र झण्डै ३० हजार जीन हुन्छन् । यदि ती जीनमा खराबी देखियो भने या भनौं एउटा क्रोमोजोम टुक्रिएर अर्को क्रोमोजोमसँग मिसिन गयो भने आणुवांशिक रोग देखिन सक्छ ।
मानव शरीरको ब्लु प्रिन्ट भनेकै जीन हो । जसले नाक, कान, आँखा लगायत शरीरका सबै संरचना बनाउने काम गर्दछ । मानौँ, आँखाको एउटा जीनमा खरावी देखियो भने आँखाको कुनै भागले काम गर्न छाड्दछ ।
नेपालका अधिकांश मानिसहरुलाई आणुवांशिक रोग परीक्षण सम्भव छ भन्नेबारे ज्ञान छैन । नेपालमा आणुवांशिक रोगीहरुको संख्या धेरै छन् । तर पहिचान हुन नपाएर उनीहरु ओझेलमा परेका छन् । पछिल्लो समय परीक्षण गर्ने क्रम बढेकाले यस्ता रोग बढी पहिचान हुन थालेका छन् ।
सबैभन्दा बढी डाउन सिन्ड्रोम, थालेसेमिया, हिमोफिलिया, बच्चा खेर जाने र बाँझोपना जस्ता आनुवांशिक समस्या पहिचान भएका छन् । यस्ता समस्या महिला, पुरुष, बालबालिका सबैलाई हुन सक्दछ ।
सबै रोग फरक फरक हिसाबले अनुवांशिक रुपमा आफ्नो परिवारको सदस्यबाट अर्को सदस्यमा सर्ने गर्दछ । पारिवारमा कसैलाई क्यान्सर छ भने अन्य सदस्यलाई पनि हुन सक्छ । जस्तै पारिवारिक स्तन क्यान्सर, कोलोन क्यान्सर आदि ।
यस्ता आणुवांशिक रोगलाई राज्यले प्राथमिकता दिन सकेको छैन । आम मानिसहरुलाई यसबारे ज्ञान नै छैन । जसले गर्दा दिनानुदिन रोगीहरुको संख्या बढ्दै गइरहेको छ । एकचोटी रोग लागिसकेपछि उपचार गर्न सकिंदैन । आनुवांशिक रोगको उपचार भनेकै यसको रोगथाम हो । समयमा स्वास्थ्य परीक्षण गरे रोगलाग्न सक्ने सम्भाव्यता पत्ता लगाउन सकिन्छ । अहिले सबैखाले आणुवांशिक रोगको परीक्षण नेपालमा सम्भव छ ।
आफ्नो परिवारका सदस्यलाई कुनै किसिमको वंशाणुगत रोग छ भने एकचोटी जचाउँन आउनुपर्दछ । त्यस्तै भर्खरै विवाह गरेका जोडीले पनि बच्चा जन्माउने तयारी गर्दै हुनुहुन्छ भने प्री कन्सेप्सन काउन्सिलिङ लिन एकचोटी अस्पताल जानुपर्दछ । यस्ता रोगबारे समयमै चिकित्सकसँग परामर्श लिँदा भोलिका दिनमा आईपर्ने गम्भीर संकटबाट बच्न सकिन्छ ।
(आणुवांशिक रोग विशेषज्ञ डा. निलम ठाकुर नोभा इन्टरनेसनल डायग्नोसिसमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्