Logo
|
Thursday 25th April 2024
Logo

epaper

नारायणी अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्ड नै फोहोर र दुर्गन्धित



जनस्वास्थ्य सरोकार, वीरगन्ज ।  कोरोना संक्रमितका लागि वीरगन्जको नारायणी अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्ड नै फोहोर र दुर्गन्धित छ। नारायणी अस्पतालको महेन्द्र आरोग्य भवनको भुइँ तलाको कोठामा अस्पतालले कोरोना संक्रमितका लागि ५ शड्ढयाको आइसोलेसन वार्ड स्थापना गरेको हो। तर, वार्ड स्थापना गरिएको कोठाभित्र माकुरोको जालोसमेत हटाइएको छैन। भुइँ पनि धुलोले ढाकिएको छ। वार्डमा राखिएका बेड पनि सफा छैनन्। त्यहाँ राखिने संक्रमितका लागि छुट्टै शौचालयको पनि व्यवस्था छैन। आइसोलेसन वार्ड नै फोहोर र दुर्गन्धित रहेको गुनासो आएपछि सोमबार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले स्थलगत निरीक्षण गरेका छन्। वार्डको दुरवस्था देखेपछि सांसद यादवले तत्कालै सरसफाइ गरेर सफासुग्घर र स्वच्छ बनाउन मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन उपाध्यायलाई निर्देशन पनि दिए।

‘संक्रमितलाई राख्न बनाइएको वार्ड नै सफा छैन, जालो र धुलोले ढाकेको छ, यस्तो कोठामा यदि कोही संक्रमितलाई राखियो भने ऊ झन् संक्रमित बन्छ,’ सांसद यादवले भने, ‘वार्डभित्र पस्नेबित्तिकै ढुसी गन्हाइरहेको छ, यसलाई सफा गरेर सुधार गर्न मेसुलाई निर्देशन दिएको छु।’

निरीक्षण क्रममा नारायणी अस्पतालको पनि अवस्था लथालिंग भेटिएको सांसद यादवले बताए। टर्सरी अस्पतालका रुपमा स्तरोन्नति गरिए पनि अस्पतालमा सेवा-सुविधा थपिनुको सट्टा झन् धराशयी बन्दै गएको उनको भनाइ छ।

अनुगमन क्रममा सँगै रहेका मेडिकल सुपरिन्टेन्डेन्ट उपाध्यायलाई निर्देशन दिँदै सांसद यादवले भने, ‘अस्पतालमा कर्मचारी र स्वास्थ्यकर्मी कमिसनमा मात्रै लिप्त छन्, त्यही कारण अस्पताल धराशयी बन्दै छ, कमिसनतन्त्रको जालो तोड्नुस्।’ मेसु उपाध्यायले भने अस्पताल सुधारका लागि आफू लागिपरेको बताए।  अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्