Logo
|
Friday 26th April 2024
Logo

epaper

विना लकडाउन कोभिड—१९ विरुद्धको कोरियन रणनीति

दक्षिण कोरियाले संक्रमण फैलिन नदिन अपनाएको कदम 



संसारका प्राय सबैजसो देशलाई अहिले कोरोना भाइरस (कोभिड—१९) को प्रकोपले आक्रान्त पारिरहेको छ । यो बेला हरेक राष्ट्रहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अनेक रणनीति अपनाइरहेका छन् ।

कोरोना प्रकोप नियन्त्रणका लागि दक्षिण कोरियाले अपनाएको रणनीति हालको अवस्थामा प्रभावकारी रहेको पाइन्छ र कोभिड—१९ लाई नियन्त्रणमा लिन बिना लकडाउन सफल भएको हुने प्रयास गरेको छ । यो रणनीति संसारका कोरोना संक्रमित राष्ट्रहरुका लागि राम्रो उदाहरण मान्न सकिन्छ । दक्षिण कोरियाले प्रभावकारी ढंगले संक्रमितहरुलाई समयमै व्यवस्थापन गर्न थुप्रै उपायहरु कार्यान्वयन गरिरहेको छ ।

विशेषगरी मर्स प्रकोपबाट लिएको अनुभवले कोरोनाको शुरुवात् चरणदेखि नै कोभिड—१९ सँग लड्न दक्षिण कोरिया सफल हुन प्रयास गरेको देखिन्छ । सन् २०१५ मा फैलिएको मिडल इस्ट रेस्पिरोटरी सिन्ड्रम (मर्स) बाट कोरियामा १ सय ८६ जना संक्रमित भएका थिए । जसमध्ये ३६ जनाको मृत्यु भएको थियो । यतिखेर कोरियाले २०१५ को क्षतिबाट ठूलो पाठ सिकेको देखिन्छ । त्यसैलाई मध्यनजर गरेर दक्षिण कोरियाले आफ्नो देशमा नविनतम प्रविधि प्रयोग गरी कोभिड—१९ को संक्रमित फैलिएर जनजीवन भयावह हुनुभन्दा अगाव नै विशेष सतर्कता अपनाउन थाल्यो र समयमै रणनीतिलाई कार्यान्वयनमा ल्याएका पाइन्छ ।

टेस्टिङ र उपचार गर्ने रणनीति

दक्षिण कोरियाले कोभिड—१९ परीक्षणलाई ‘कोरोना रणनीतिको मुटु’ मानेर परीक्षणका किट्स उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । सरकारले आपतकालीन अनुमोदन गरेर किट उत्पादनका लागि मेडिकल कम्पनिहरुलाई आग्रह गर्यो । मार्च अन्तिमसम्म १३ वटा कम्पनि र फेबु्रअरी अन्तिममा ५ कम्पनिले अनुमोदन पाइसकेका थिए । साथै दक्षिण कोरिया सरकारले उत्पादित किटलाई क्रस चेक गरी दिनमा २० हजार भन्दा बढी मानिसमा परीक्षण गर्न सकिने क्षमता विकास गर्न सफल भएको छ ।

देशमा अहिलेसम्म ६०० भन्दा बढी परीक्षण साइटहरु छन् जुन प्रतिदिन २० हजार व्यक्तिको परीक्षण गर्न सक्षम छ । त्यसैगरी यातायात र पैदल माध्यमको मनस्थिति बनाएर विभिन्न ठाउँहरुमा ठाउँको ठाउँ टेष्ट गर्न दक्षिण कोरियन सरकारले वाल्क थ्रु र अर्को ड्राइभ थ्रु सुविधा विस्तार गरेको छ जुन अहिले संसारभर एउटा चासोको विषय बनेको छ । ड्राइभ थ्रु र वाक थ्रु वुथमा स्वास्थ्यकर्मी र प्रशिक्षण दिनेबीच दूरी कायम हुनेगरी परीक्षण स्वाब संकलन गर्न सकिन्छ र यसको रिपोर्ट पनि १—२ घण्टाभित्र नै उपलब्ध गराइन्छ ।

यसैगरी सरकारले बिरामीको लक्षण अनुसार उपचार गर्ने सिस्टम विकास गरेको छ जसमा हल्का र गम्भीर लक्षण भएका, उमेर बढी र पुरानो रोग भएकाहरुका लागि बढी प्राथमिकता दिएर उपचार प्रणालीमा सहजता गराएको छ । यसले गम्भीर लक्षणहरूसहित सबैभन्दा जोखिममा रहेका व्यक्तिहरुलाई कोभिड—१९ बाट हुने मृत्युदर कम गर्न मद्दत गरेको छ ।

क्वारेन्टिन र कन्ट्याक ट्रेसिङमा आईटीको प्रयोग

कुनै बिरामीमा संक्रमण भेटिएमा बिरामीसँग सोधपुछ गर्नुको साथै दक्षिण कोरियामा स्मार्ट फोन, जिपिएस डाटा, क्रेडिट ट्रान्जेक्सन रेकर्ड र सिसिटिभी फुटेजको प्रयोग गरेर कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ गरिन्छ जुन प्रभावकारी मानिएको छ ।

साथै यसको प्रयोगले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा रहेकाहरुले कुन समयमा कस्तो प्रकारको यातायातको साधन प्रयोग गरेका थिए भन्ने पत्ता लगाउन सरकारलाई सहज बनाएको छ ।

दक्षिण कोरियन सरकारले संक्रमित व्यक्तिसँग घनिष्ठ सम्पर्क भएका व्यक्तिहरूलाई अनिवार्य परीक्षण गराउन भनिरहेको छ । तर अप्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई १४ दिन क्वारिन्टाइनमा बस्न अनिवार्य गरिएको छ । क्वारिन्टाइनमा बस्दा अनिवार्य क्वारिन्टाइन एप्स डाउनलोड गर्नुपर्ने व्यवस्था छ । बिरामीले तोकिएको समयमा आफ्नो स्वास्थ्य विवरण र असहजता तथा कोरोना सम्बन्धि कुनै लक्षण भएमा एप्समा अनिवार्य भर्नुपर्दछ । यदि नियम उलंघन गरेमा तोकिएको जरिवाना पनि तिर्नुपर्छ ।

जनचेतना र पारदर्शीता

दक्षिण कोरियाली सरकारले मुलुकका नागरिकहरूलाई घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम राख्न, वैज्ञानिक तरिकाले हात धुन र शिष्टाचारयुक्त श्वासप्रश्वासको विधि कायम गर्ने सम्बन्धि कुरामा प्रोत्साहित गरेको छ । यसले थप संक्रमण रोकथाममा निकै मद्दत गरेको पाइन्छ । अहिले पछिल्लो चरणमा विभिन्न विद्यालय र विश्वविद्यालयहरुले सामाजिक दूरीको नियम कायम गरी अध्ययन अध्यापन सुरु गरेका छन् । सार्वजनिक यातायातमा अनिवार्य मास्क लगाउनुपर्ने नियम छ । यसले मनिसहरुको जनजीवनमा असर नपर्ने र कोभिड—१९ लाई व्यवस्थापन गर्न सहज भएको छ । यसका साथै सरकारले देशमा कहाँ, कहिले र कसरी नयाँ संक्रमण पत्ता लगाइयो भन्नेबारे जानकारी आदानप्रदानमा पारदर्शिता पनि अपनाएको छ ।

मनोवैज्ञानिक सेवा

अहिले जति पनि सामाजिक सञ्जालमा आइरहेको कोभिड —१९ सम्बन्धित समाचारले सबैतिर अनिश्चितता बढाइरहेको छ । कतिपय ठाउँमा आवात—जावात पूर्ण रूपमा बन्द छ । ‘मनिसहरुमा सुरक्षित ठाउँ कतै छैन’ जस्ता कुराले चिन्ता बढाएको छ । कतिपयमा एन्जाइटी समस्या बढिरहेको छ । क्वारेन्टाइनमा बस्नेहरुमा पनि विभिन्न मानसिक समस्या देखा परेकोले दक्षिण कोरियाको ‘द नेशनल मेन्टल हेल्थ’ ले मनोसामाजिक परामर्श उपलब्ध गराएको छ । मानसिक समस्या समाधानको लागि हटलाइन नम्बर उपलब्ध छ । यसले गर्दा सबैले आफूमा परेको समस्या राख्न सक्छन् र उचित उपचारका लागि सम्बन्धित ठाउँमा पठाउने गरिन्छ ।

स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभुति

कोभिड —१९ कोरोना भाइरस विरुद्धको लडाईमा अग्रपङ्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको सुरक्षामा ध्यान दिनुपर्छ । उनीहरुलाई आवश्यक पर्ने सुरक्षा उपकरणहरुको जरुरत पर्छ । दक्षिण कोरियाली अस्पतालहरुले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र अन्य स्टाफहरुको सुरक्षामा पर्याप्त सुरक्षा सामाग्रीहरुको व्यवस्था गरेका छन् । यसले उनीहरु कोभिड—१९ संक्रमितहरुलाई सुरक्षित रुपमा परीक्षण र उपचार सेवा प्रदान गर्न सफल भएका छन् । सरकारले अत्यावश्यक उपकरणहरू र सुरक्षा सामाग्रीहरु लागतका आधारमा आपूर्ति गर्दछ ।

लागत कभरेज स्वास्थ्य प्रणाली

दक्षिण कोरियामा एकल भुक्तानी बीमा प्रणाली छ जसले लगभग सबै स्वास्थ्य सेवा खर्चहरू कभर गर्दछ । तर यस महामारीको स्थितिमा मुलुकमा बस्ने स्वदेशी तथा विदेशी नागरिकहरुको कोभिड—१९ सँग सम्बन्धि सबै उपचार खर्चहरू व्यहोर्ने दक्षिण कोरिया सरकारले घोषणा गरेको छ ।
यसले वित्तीय निश्चितता हुनुका साथै संक्रमित भएका व्यक्तिहरु लुक्नुपर्ने अवस्था आउन दिँदैन ।

दक्षिण कोरियन सरकारले उपयुक्त उपकरण र सुरक्षात्मक स्वास्थ्य सामाग्रीहरु अस्पताल र चिकित्साकर्मीहरूलाई आपूर्ति गरी संक्रमित नागरिकहरूलाई सामान्य नागरिकबाट अलग राखेर मास्क लगाउने र उचित सामाजिक दूरी बढाउने नीति अवलम्बन गरेको छ । यसका साथै परीक्षण गर्ने अभ्यासलाई प्रोत्साहित गरेर मुलुकमा संक्रमणको श्रृंखला काट्ने अनुभव सँगालेको छ । साथै कोभिड—१९ को खोप अनुसन्धानमा आफ्नो अग्रसरता देखाएको छ । सरकारको यस प्रकारका कार्यले जनतामा त्रास कम गर्न सहयोग पुर्याएको छ । यद्यपी दक्षिण कोरियन सरकार पारदर्शी हुन र उपचारसँग सम्बन्धित आर्थिक बोझ वहन गरी विश्वासको वातावरण सिर्जना गर्न सचेत छ ।

दक्षिण कोरियाले आफ्ना कुनै पनि शहरहरूमा सर्वसाधारणलाई भाइरसबाट जोगाउन लकडाउन गर्नुपरेको छैन । यसले जनमानसमा त्यति भयभित नभएको अवस्था छ । देशको अर्थतन्त्रमा पनि ठूलो ह्रास नपर्ने गरी जनजीवन सहज गराउन प्रयास भइरहेका छन् । यसरी दैनिक जनजीवनमा असर नपर्ने गरी र यो रोगबाट बच्न र बचाउन सकिन्छ भन्ने ज्वलन्त उदाहरण पनि हो । आत्तिएर भन्दा पनि संक्रमण फैलन नदिने उपायहरु अपनाउँदा जनताको विश्वास जितेर दक्षिण कोरिया भाइरसको फैलावट नियन्त्रण गर्न सफलताको अग्रदिशातर्फ उन्मुख छ ।
हुन त अरु एसियन राष्ट्रहरु जस्तैः ताइवान, जापान, भिएतनाम, हङङ्गकङ्ग जस्ता देशहरुले पनि कोभिड—१९ विरुद्ध उल्लेखनीय रूपमा संक्रमणको व्यवस्थापन गरेको पाइन्छ । हाम्रो नेपाल जस्तो विकासशील राष्ट्रहरुले पनि यी राष्ट्रहरुजस्तै दक्षिण कोरियाको जस्तो लकडाउनलाई खुकुलो पारी सहजताका सम्भावित रणनीति अपनाउँदा केही हदसम्म भएपनि कोभिड —१९ रोकथामका लागि प्रभावकारी हुनसक्ने देखिन्छ ।

जस्तैः कोभिड —१९ परीक्षणको दायरा बढाउनुका साथै उचित ट्रेसिङ र क्वारिन्टाइनको व्यवस्थापन गर्नुपर्छ र स्वास्थ्यकर्मीलगायत अग्रपंङ्तीमा रहेर काम गर्ने कर्मचारीहरुलाई उचित सुरक्षाकवच उपलब्ध गराई हौसला बढाउन जरुरी देखिन्छ । सरोकारवालासँगसँगै आमजनताको पनि त्यतिकै भूमिका रहन्छ । जस्तैः अनुशासित ढंगले आआफ्नो तहबाट वैज्ञानिक तरिकाले हात धुने, शिष्टाचारयुक्त श्वासप्रश्वासको विधि कायम गर्ने, मास्क लगाउने र उचित सामाजिक दूरी कायम गर्नुपर्छ । यसरी कोरोना विरुद्धको लडाईंमा उभिनु सरकारसँगै हामी सबैको दायित्व हो

(कार्की कोरियाको हान्याङ युनिभर्सिटीमा ग्लोबल हेल्थ एण्ड डेभलप्मेन्टमा पिएचडी गर्दै हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्