Logo
|
Friday 26th April 2024
Logo

epaper

बिरामीको मृत्युमा लफडा, सँधैको समाधान खोजौं



‘उपचारमा लापरबाही गर्नुहुँदैन’, ‘स्वास्थ्यकर्मीले सँधै नम्र व्यवहार देखाउनुपर्छ’ भन्ने सबैलाई थाहा छ । उपचार गर्दा होस् वा शल्यक्रिया गर्दा जुनसुकै बेला पनि बिरामीको मृत्यु हुनसक्छ भन्ने कुरा सबैलाई थाहा छ ।

‘गल्ती गर्यो होला र मृत्यु भयो’ भनेर सोच्ने अधिकार पनि सबैलाई छ । त्यस्तो सोचाइ रोक्न सकिदैन पनि । कहिलेकाँही हामी चिकित्सकहरुलाई पनि आफ्नो बिरामी एउटा अस्पतालमा मृत्यु भएको बेला ‘अर्कैमा लैजान पाएको भए हुन्थ्यो कि वा अर्को डाक्टरलाई देखाएको भए हुन्थ्यो कि’ भन्ने लागिरहन्छ ।

तर यो कुरा हामी मनभित्र मात्र राख्छौं । बाहिर कसैसँग बोल्दैनौं किनभने हामीलाई प्रमाण नपुगी बोल्न हुँदैन भन्ने राम्रो थाहा छ ।
समाधान सजिलो छ । नियमलाई कार्यान्वयनमा ल्याउने मात्र हो ।
सिकिस्त बिरामीहरुको उपचार गर्दा वा सर्जरी गर्दा बिरामी र आफन्तसँग राम्रोसँग काउन्सिलिङ गरेमा लफडा हुने सम्भावना अन्यन्त कम हुन्छ । तर पनि मृत्युको समाचार बताउँदा सुरक्षित भएर मात्र बताउनुपर्छ ।
कम जोखिम, हिँडेर आएका, भर्खरका बिरामीको उपचारको क्रममा मृत्यु हुँदा भने परिस्थिति बेग्लै सम्झनुपर्छ । जतिसुकै राम्रो काउन्सिलिङ गरेको भएपनि मृत्युलाई आत्मसात् गर्न कसैले सक्दैन । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चिकित्सक र अस्पतालमाथि आक्रमण हुने, नारा जुलुस, तोडफोड, यस्तै घटना हुने गर्दछ । पूरै सुरक्षित नभएसम्म मृत्युको खबर दिनुहुँदैन । आफूसँग पहिला जति राम्रो सम्बन्ध भएपनि ‘लापरबाही नै होला’ भन्ने सोचेको हुन्छन् मानिसहरुले । त्यसैले आक्रमणमा परिने सम्भावना उच्च रहन्छ । त्यो बेला बच्नुको विकल्प छैन । यस्तो बेला उनीहरुले आक्रमण गर्छन्, मार्न पनि सक्छन् । छानबीन पछि निर्दोष देखिएमा पछताउनुबाहेक के हुन्छ र । आखिर स्वास्थ्यकर्मी पनि मरिसकेको हुन्छ ।

कसैको मृत्यु भयो भने रुने कराउने रिसाउने स्वभाविक प्रतिक्रिया हो । तर यस्तो विधि बनाइदिनु पर्छ कि राज्यका अंगहरुले, स्वास्थ्यकर्मीलाई आक्रमण गर्दा वा अस्पताल तोडफोड गर्दा कडा कारबाही भोग्न परोस् । ताकि अर्को पटकदेखि कसैले यस्तो आाक्रमण सोच्नै नसकोस्, छानवीन गर्ने प्रक्रिया शुरु भइहालोस् । त्रुटी भएको रहेछ भने जस्ताको तस्तै निष्कर्ष बाहिर आउनुपर्छ । कारण पत्ता लागेपछि त्यो कारणले सच्चिने मौका पाउँछ । भविष्यमा यही गल्तीले अन्य बिरामीको मृत्यु हुन पाउँदैन ।

बिरामी पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्छ । माफी माग्नुपर्दछ । स्वास्थ्यकर्मीलाई तालिममा पठाएर हुन्छ कि के गरेर हुन्छ, उसले यस्तै गल्ती दोहोर्याउनुहुँदैन ।
अस्पताल तोडफोड हुनहुँदैन, स्वास्थ्यकर्मीमाथि आक्रमण रोकिनुपर्दछ । मेडिकल त्रुटीले हाम्रा बिरामीहरुमा अनावश्यक समस्या थपिनुहुँदैन । (लेखक किष्ट मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्