Logo
|
Saturday 27th April 2024
Logo

epaper

धरानमा एकै परिवारमा पाँच सहित १३ जनामा कोरोना संक्रमण 



जनस्वास्थ्य सरोकार, धरान । धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । बुधबार राती आएको रिपोर्टमा १२ जना र बिहीबार बिहान बिहान एक जनाको रिपोर्ट पोजेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

करिब २ साता अघि भारतको विहार गएर आएका  २७ वर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएको हो । ती युवाले धरान २, भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नु अघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ ।

धरान उपमहानगरपालिकाले समुदायस्तरमा पिसिआर परीक्षण गर्ने क्रममा बुधबार एक सय ३० जनाको परीक्षणमा एक जनाको पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिए ।

स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार साउन १९ गते लिएको ९२ जनाको पिसिआर रिपोर्ट अनुसार ८० जनाको नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमण पुष्टि भएका मध्ये पाँच जना भारतीय सेना र एकजना भारतमा अध्ययनरत विद्यार्थी  क्वारेन्टाइनमा बसेका थिए ।

अन्य छ जना भने स्थानीय हुन् ।  समुदायका संक्रमितमध्ये धरान ३ का एकै परिवारका पाँच जनामा संक्रमण पुष्टि भएको छ । ती परिवार केही दिन अघि विराटनगर गएर आएको बताइएको छ । यो परिवारमा ८५ वर्षीय वृद्धदेखि ७ वर्ष बालकमा पनि पोजेटिभ रिपोर्ट आएको मेहताले जानकारी दिए ।  उनीहरु सबैको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको थियो । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्