Logo
|
Friday 26th April 2024
Logo

epaper

कोभिड—१९ उपचारमा अग्रपंङ्तीमा काम गर्ने एम्बुलेन्स चालकसहित आधा दर्जन स्वास्थ्यकर्मी सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ को विकराल महामारीमा अग्रपङ्तीमा रहेर कोरोना संक्रमित बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान गर्ने एम्बुलेन्स चालकसहित आधा दर्जन चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु सम्मानित भएका भएका छन् ।

यसरी सम्मानित हुनेहरुमा शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका प्रमुख कन्सल्यान्ट डा. अनुप बास्तोला, शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट परमानन्द भण्डारी, काठमाडौं मेडिकल कलेजका इन्टर्न डा. उज्वल न्यौपाने, नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स प्रिया प्रजापति, धुलिखेल अस्पतालकी नर्स कृष्णमाया रम्तेल र पाटन अस्पतालका एम्बुलेन्स चालक दिपकप्रसाद दाहाल रहेका छन् ।

अहिलको अहम् चुतौतिपूर्ण अवस्थामा महत्वपूर्ण जिम्मेवारीमा रही बिरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउने जस्ता महान कार्यमा आफ्नो स्वास्थ्यको समेत परवाह नगरी अथक समर्पण र मेहनतबाट मानवीय जीवन रक्षार्थ मुलुकले प्राप्त गरेका योगदानको उच्च मूल्यांकन गर्दै काठमाडौंको बागबजारस्थित ब्राइट बचत तथा ऋण सहकारी संस्था लि.को २१ औं स्थापना दिवसको अवसरमा उनीहरुलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

 

ब्राइट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामइन्द्र न्यौपानेले भन्नुभयो—‘ यो सम्मानले आगामी दिनमा मानव सेवामा कटिवद्ध भई देश र जनताको सर्वोपरी हितलाई आ—आफ्नो जिम्मेवारी बोध गरी कार्य क्षेत्रमा कुशलतापूर्वक लागिरहन प्रेरणा मिल्ने अपेक्षा गरेका छौं ।’

उहाँले अग्रपंङ्तीमा जोखिम मोलेर कोभिड—१९ बिरामीहरुको सेवामा जुट्ने चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीलगायत अन्य व्यक्तिहरुको सु—स्वास्थ्य, दीर्घजीवन एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सम्मानित हुनुहुने डा. अनुप बास्तोलाले भन्नुभयो— ‘कोभिड—१९ बिरामीहरुलाई मायाको जरुरत पर्छ । उनीहरुको आत्मबल बढानुपर्छ । उपचारमा संलग्न चिकित्सक र नर्सलाई मोटिभेसन र सुरक्षाको प्रत्याभूति दिन सकेमा कोभिड उपचार र नियन्त्रणमा निकै मद्धत पुग्छ ।’

कोभिड—१९ महामारीको तीब्र फैलावटले विश्वभरका मानवजातिलाई प्रभावित गरिरहेको बर्तमान विषम परिस्थितिमा हाम्रो देश नेपाल पनि यसको प्रभावबाट अलग रहन सकिरहेको छैन । महामारीजन्य अवस्थाको नियन्त्रणका लागि देशको मेरुदण्डको रुपमा रहेको स्वास्थ्य क्षेत्र नै सबैभन्दा बढी प्रभावित भएको छ ।

मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. जागेश्वर गौतमले कोभिड—१९ को उपचार नभएकाले करिब २ मिटरको दुरी कायम गर्ने, मास्क लगाउने, बेलाबेलामा हात धोएमा रोग लाग्नबाट बच्न धेरै मद्धत पुग्ने बताउनुभयो ।

यस संकटपूर्ण घडीमा संक्रमितहरुको उपचारमा भरमग्दुर प्रयासरत, चिकित्सक नर्सलगायतका स्वास्थ्यकर्मीहरु अग्रपंङ्तीमा रहँदै महामारीबिरुद्ध एकताबद्ध भएर लडिरहेका छन् ।

राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष केशव वडाल, केमसानका अध्यक्ष सुरेश घिमिरेलगायतका व्यक्तिहरुले लडाइँमा सैनिकको महत्व भएजस्तै कोभिड—१९ संलग्न चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु कोभिड १९ को लडाइँको मोर्चामा रहेकाले उनीहरुलाई आत्मबल बढाउन ब्राइट बचत तथा ऋण सहकारी संस्थाले चिकित्सक, नर्स, एम्बुलेन्सचालकलगायतका फ्रन्टलाइनमा काम गर्ने व्यक्तिहरुलाई गरेको सम्मान सह्रानीय भएको स्पष्ट पार्नुभयो ।

यद्यपी यस प्रकारको सम्मानले अरु सहकारी संस्थाहरुलाई पनि प्रेरणा मिल्न सक्छ । अहिले चिकित्सक, नर्सलगायतका फ्रन्टलाइनमा कार्यरत व्यक्तिहरुको भूमिका निकै महत्वपूर्ण छ । हामी सबैले उनीहरुको सम्मान गर्न सिक्नुपर्ने यो ज्वलन्त उदाहरण पनि हो ।

 

प्रतिक्रिया दिनुहोस्