नेभिगेशन

वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा

मेडिकल इन्टर्नदेखि विभागीय प्रमुखसम्मको यात्रा ! वीर अस्पतालमै बिताएका २५ वर्ष

प्रा.डा. झाको चिकित्सा यात्रा संक्षेपमा

  •     एमडीः टिभेर स्टेट मेडिकल एकेडेमी, रुस 
  •     एमएस र एमसिएच (न्युरो सर्जरी): चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)
  •     २५ वर्षे सेवाः वीर अस्पतालमै
  •     प्रमुख पदः न्युरो सर्जरी विभाग प्रमुख, एमसिएच डाइरेक्टर  

मुख्य सम्मान

  • WFNS Fellowship Awaard 
  • FRCS Edinburgh
  • crockard fellowship (AANS USA)
  • AASAN Ambassadorship(USA)


कथा सुरु हुन्छ—एक अस्पताल, एक डाक्टर र एक दर्शनसँगै
काठमाडौंको वीर अस्पतालको एक पुरानो गल्ली हुँदै न्युरो सर्जरी विभाग पुग्दा एक व्यक्ति भेटिन्छन् जो हरेक बिरामीको रिपोर्ट हेर्छन्, सर्जरी तालिका मिलाउँछन् र रेसिडेन्ट चिकित्सकलाई केस ब्रिफ गर्दै पनि हुन्छन्। तिनै व्यक्ति हुन्— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत न्युरो सर्जरी विभाग प्रमुख तथा एमसिएच कार्यक्रमका निर्देशक प्रा.डा. राजिव झा ।

उहाँ डाक्टर मात्र होइन, संस्थागत इतिहासका जीवित साक्षी पनि हुनुहुन्छ जसले वीर अस्पतालमै २५ वर्ष बिताउनुभएको छ । एकै संस्था र त्यो पनि सार्वजनिक अस्पतालमा मेडिकल इन्टर्नसिपदेखि प्राध्यापकसम्मको यात्रा गर्नु दुर्लभ उदाहरण हो । प्रा.डा. झा भन्नुहुन्छ—‘मैले डाक्टरको करियरको हरेक स्टेज यही अस्पतालबाट पार गरेको हुँ ।’ उहाँले अहिलेसम्म जनरल र न्युरो सर्जरी गरी करिब २० हजार भन्दा बढी शल्यक्रिया गरिसकेको दावी गर्नुहुन्छ । 

जहाँ न्युरो सर्जरी इतिहासको शिर उठ्छ
वीर अस्पताल नेपालकै जेठो अस्पताल हो जसले १३६ वर्षे सेवा पूरा गरिसकेको छ । यही अस्पतालमा झण्डै ६ दशक अघि डा. दिनेशनाथ गोंगलले नेपालमै पहिलोपटक न्युरो सर्जरी गर्नुभएको थियो । त्यसपछि स्व.प्रा.डा. उपेन्द्र देवकोटाको नेतृत्वमा २० वर्षपछि न्युरो सर्जरी विभागको विधिवत स्थापना भयो ।

आज डा. झा त्यही विभागका प्रमुख हुनुहुन्छ जसले दिनहुँ १०० भन्दा बढी बिरामी सर्जिकल परामर्शका लागि हेर्छ । यी मध्ये धेरै स्ट्रोक, ट्युमर, स्पाइन इन्जुरी र ट्रमा केस हुन्छन् । स्ट्रोक मृत्युको विश्वव्यापी चौथो कारण मानिन्छ । प्रा.डा. झा भन्नुहुन्छ—‘हाम्रोमा स्ट्रोकका करिब ५० प्रतिशत बिरामीको उपचार सफलतापूर्वक हुन्छ ।’

२५ वर्षको निरन्तर चिकित्सा यात्रा
डा. झाले आफ्नो करियरको प्रारम्भ वीर अस्पतालमै इन्टर्नका रूपमा सुरु गर्नुभयो । त्यसपछि मेडिकल अफिसर, रजिष्ट्रार, जुनियर कन्सल्टेन्ट, सीनियर कन्सल्टेन्ट हुँदै अहिले प्राध्यापक र विभागीय प्रमुख हुनुहुन्छ । यो बीचमा उहाँले रूसको टिभेर स्टेट मेडिकल एकेडेमीबाट एमडी गर्नुभयो ।

त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट  एमएस (सर्जरी) र एमसिएच (न्युरो सर्जरी) पुरा गर्नुभयो । बाह्य तालिमअन्तर्गत उहाँले मेदान्ता (भारत), युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को (अमेरिका) र जर्मनीको ट्युबिङेन युनिभर्सिटीबाट न्युरो सर्जरीका विविध सबस्पेसालिटीमा विशेष प्रशिक्षण लिनुभएको छ । 

अध्ययन, अध्यापन र अनुसन्धान
डा. झा एउटा अत्यन्तै सक्रिय एकेडेमिक फिगर पनि हुनुहुन्छ ।  अहिले उहाँ एमसिएच न्युरोसर्जरीको प्रोग्राम डाइरेक्टर हुनुहुन्छ । उहाँले तयार पारेका विद्यार्थी अहिले नेपालका थुप्रै ठूला अस्पतालमा न्युरो सर्जनका रूपमा कार्यरत छन् । अध्यापनसँगै उहाँको अनुसन्धान क्रियाशीलता उल्लेखनीय छ ।

उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा ६० भन्दा बढी अनुसन्धानपत्र प्रकाशित गरिसक्नुभएको छ । प्रा.डा. झाको भनाइ छ—‘क्लिनिकल अभ्यास र अनुसन्धान सँगसँगै हुनुपर्छ । चिकित्सकको धार ज्ञानबाट तिखारिन्छ ।’

पुरस्कृत योगदान, अन्तर्राष्ट्रिय मान्यता
प्रा.डा. झा नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मानयोग्य हुनुहुन्छ । उहाँले प्राप्त गरेका प्रमुख अवार्डः

  •     वल्र्ड फेडरेसन अफ न्युरो सर्जिकल सोसाइटिज (डब्लुएफएनएस) २०१२
  •     क्रोककार्ड फेलोसिप (अमेरिकन एसोसिएसन अफ न्युरोलोजिकल सर्जन्स् (आन्स) २०१३
  •     फेलो अफ रोयल कलेज अफ सर्जन्स् (एफआरसिएस) २०२२ 

साथै उहाँ नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स् (नेसोन्स्) को आजिवन सदस्य तथा निर्वाचित अध्यक्ष, अमेरिकन एसोसिएसन अफ न्युरोलोजिकल सोसाइटिज सर्जन्स् (आन्स), युरोपियन एसोसिएन अफ न्युरोलोजिकल सोसाइटिज (इआन्स), वल्र्ड फेडरेसन अफ न्युरोलोजिकल सोसाइटिज (डब्लुुएफएनएस) र एसिएन कंग्रेस अफ न्युरोलोजिकल सर्जन्स (एसिएनएस) को सदस्य हुनुहुन्छ । 

rajib-jha2-1762239050.JPG
 

मानवीय नेतृत्व र शल्यक्रियाको दर्शन
प्रा.डा. झा प्रविधिमा विश्वास राख्नुहुन्छ तर सर्जरीमा भावना देख्नुहुन्छ । मस्तिष्क सर्जरी भनेको केवल औजारको मात्र काम होइन, संवेदना र निर्णयको तालमेल पनि हो । डा. झासँग सर्जरीको  गह्रौं अभ्यास छ । उहाँ भन्नुहुन्छ—‘सर्जरी गर्दा कहिल्यै बिरामीलाई केसको रूपमा मात्र हेर्दिनँ । उसँग जीवन छ, परिवार छ, भरोसा छ ।’

वीर अस्पतालमै एउटा जीवनको पूर्ण चक्र
आज पनि उहाँ बिहान ८ बजे वीर अस्पताल आइपुग्नुहुन्छ । कहिले ओपीडी, कहिले अपरेसन थियेटर, कहिले विद्यार्थीका क्लास । उहाँमा कहिल्यै गुनासो छैन, केवल निरन्तरता छ । प्रा.डा. झा कुनै सेलिब्रिटी डाक्टर हनुहुन्न  ।

उहाँ त न्युरो सर्जरीको एक निश्चल आत्मा हुनुहुन्छ जसले सार्वजनिक अस्पतालप्रति जनताको भरोसा फेरि स्थापित गराइरहनुभएको छ । प्रा.डा. झा को कथा केवल एक डाक्टरको व्यावसायिक यात्रा मात्र होइन, यो विश्वास, लगाव र राष्ट्रसेवाको आधुनिक महाभारत हो जहाँ एउटा शल्यक्रिया, एउटा बिरामी र एउटा अस्पताल मिलेर बनाउँछ इतिहास ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ टक