नेभिगेशन

इन्डोस्कोपिक न्युरो सर्जरी को नयाँ युगः सानो चिरा, ठूलो चमत्कार 

न्युरो अस्पताल, बाँसबारीका डा. निकुञ्ज योगी ब्रेन ट्युमर र डिस्क हर्निएसनजस्ता समस्याको इन्डोस्कोपिक सर्जरी गर्दै आउनुभएको छ । ‘मेरुदण्डमा सानो चिराबाट गरिने सर्जरीबाट बिरामी २–३ दिनमै हिँड्न सक्छन्’—उहाँ भन्नुहुन्छ ।

मणिपाल कलेज अफ मेडिकल साइन्सेस पोखराका वरिष्ठ न्युरो सर्जन प्रा.डा. बालगोपाल कर्माचार्य पोखरामा स्पाइन सर्जरीमा यो प्रविधि उपयोग गर्दै आउनुभएको छ । ‘पोखराका पहाडी क्षेत्रका बिरामीहरूलाई सानो चिराबाट गरिने सर्जरीले धेरै राहत दिएको छ’— डा. कर्माचार्य बताउनुहुन्छ ।
 
‘पुरानै सोच थियो—‘दिमागको सर्जरी भनेको टाउको चिर्ने कुरा हो । तर अहिले नाकबाटै सर्जरी हुन्छ रे !’— यसो भनिरहेकी थिइन् काठमाडौंका एक बिरामीकी आमा । छोरीको पिट्युटरी ट्युमरको सफल शल्यक्रिया नाक मार्ग हुँदै गरिएको खबर सुनेपछि उनका आँखा आँसुले भरिएका थिए ।
  
‘म सर्जरीको डरले महिनौं अस्पताल जान सकिनँ’—भन्छिन् ललितपुरकी ३५ वर्षीया मीरा थापा । ‘तर डाक्टरले इन्डोस्कोपिक सर्जरी भनेपछि हिम्मत आयो । दुई दिनमै डिस्चार्ज भएँ ।’

बिरामीका लागि के थाहा हुनु जरुरी छ ?

  •     इन्डोस्कोपिक सर्जरी सबैका लागि उपयुक्त नहुन सक्छ । ट्युमरको साइज, स्थान, प्रकृति हेरेर मात्र निर्णय गरिन्छ।
  •     विशेषज्ञसँग परामर्श गर्नु आवश्यक हुन्छ ।
  •     राम्रो अस्पताल, अनुभवी सर्जन र पूर्वतयारी अनिवार्य छ ।

यसरी स्वास्थ्य विज्ञानले जीवनका कथाहरू बदलिरहेको छ जहाँ न्युरो सर्जरी अब केवल ‘ओपन ब्रेन’ अवधारणामा सीमित छैन । इन्डोस्कोपिक न्युरो सर्जरीले नेपाली स्वास्थ्य क्षेत्रमा पनि सर्जिकल क्रान्तिको ढोका खोलेको छ । सानो चिरा, कम रक्तस्राव, कम संक्रमणको खतरा, चाँडो रिकभरी र न्यूनतम प्रभावका साथ गरिने यो शल्यक्रियाले नेपालजस्ता मुलुकमा पनि दिमाग र स्पाइनसम्बन्धी जटिल रोगको उपचारमा नयाँ आशा पैदा गरेको छ ।

केही दशकअघि दिमाग वा मेरुदण्डमा ट्युमर देखिएपछि बिरामी र चिकित्सक दुवैको मनमा आउने पहिलो कुरा थियो— ‘ठूलो अप्रेसन, लामो समय बस्नुपर्ने र पुनः सामान्य जीवनमा फर्कन महिनौं लाग्ने ।’ तर आज—विशेषतः इन्डोस्कोपिक न्युरो सर्जरीको विकाससँगै न्युरो सर्जरीको त्यो परिभाषा पूर्णरूपमा परिवर्तन हुँदैछ । 
नयाँ पद्धति, नयाँ सम्भावना

इन्डोस्कोपिक न्युरो सर्जरी भन्ने बित्तिकै एउटा यस्तो शल्यक्रिया बुझिन्छ जसमा मस्तिष्क वा मेरुदण्डको गहिरो भागसम्म सानो चिरा वा प्राकृतिक मार्ग (जस्तै नाक) हुँदै पुगिन्छ । त्यसैबाट इन्डोस्कोप (एक लचिलो क्यामेरायुक्त उपकरण) भित्र पठाइन्छ । चिकित्सकले भिडियो स्क्रिन हेरेर सर्जरी गर्छन् । यो विधिबाट हामी नाकमार्ग हुँदै दिमागको पिट्युटरी ट्युमर हटाउन सफल भएका छौं । चिरा पनि सानो, रिकभरी पनि छिटो, र बिरामीको पीडामुक्त जीवनमा फर्कने गति पनि उल्लेखनीय छ ।
 

परम्परागत सर्जरीको विकल्प
ओपन न्युरो सर्जरीमा ठूलो चिरा गर्नुपर्ने, धेरै रक्तस्राव हुनसक्ने, संक्रमणको खतरा र महिनौं रिकभरी लाग्ने समस्या हुनसक्छ । तर इन्डोस्कोपिक प्रविधिबाटः

  •     सानो चिरा
  •     न्यून रक्तस्राव
  •     कम संक्रमणको सम्भावना
  •     छोटो अस्पताल बसाइ
  •     छिटो काममा फर्कन मिल्ने
  •     राम्रो कोस्मेटिक रिजल्ट (घाउ नदेखिने)

विश्वमै यो विधि ‘मिनिमल इन्भेसिभ न्युरो सर्जरी’ को रूपमा लोकप्रिय हुँदै गएको छ।
के–के हुन्छ इन्डोस्कोपिकबाट ?

पिट्युटरी ट्युमर सर्जरीः यो नाकको मार्ग हुँदै दिमागको आधारतर्फ पुगेर ग्रन्थी हटाउने सर्जरी हो । यसलाई ट्रान्सनेजल इन्डोस्कोपिक पिट्युटरी सर्जरी भनिन्छ । 

इन्ट्राभेन्ट्रिकुलर ट्युमरः यो ब्रेनको पानी जम्मा हुने थैली (भेन्ट्रिकल) भित्र हुने ट्युमर हो । यसलार्य इन्डोस्कोपीबाट शल्यक्रिया गर्न सकिन्छ । 

स्पाइनल डिस्क र ट्युमर सर्जरीः यसमा सानो चिराबाट मेरुदण्डको ट्युमर वा डिस्क हटाउने गरिन्छ । 

हाइड्रोसिफालसः शिशुको दिमागमा पानी भरिने रोग । यसमा इन्डोस्कोपिक थर्ड भेन्ट्रिक्युलोस्टोमी विधिबाट उपचार गरिन्छ । 
सिस्ट रिमोभल 

विश्वभरको अनुसन्धान के भन्छन् ?
अमेरिकन एसोसिएसन अफ न्युरोसर्जन (आन्स) का अनुसार इन्डोस्कोपिक न्युरो सर्जरीले ओपन सर्जरीको तुलनामा ४०% कम जटिलता ल्याउँछ । साथै अस्पतालमा बस्ने समय औसतमा २–३ दिन मात्र हुन्छ । पिट्युटरी ट्युमरको इन्डोस्कोपिक सर्जरीमा ९५% सफलता दर देखिएको दृष्टिदोष भएका बिरामीमध्ये ८५% मा दृष्टि सुधार भएको जर्नल अफ न्युरोसर्जरी (२०२१) ले उल्लेख गरेको छ ।  वल्र्ड न्युरो सर्जरी (२०२२) को मेटा एनालाइसिसले स्पाइन ट्युमरको इन्डोस्कोपिक सर्जरीमा कम पोस्ट–अप संक्रमण देखिएको र बिरामी ७ दिनभित्र दैनिक जीवनमा फर्कने सम्भावना धेरै रहेको उल्लेख गरेको छ । 
नेपालमा चुनौती पनि छन् 

  •     दक्ष जनशक्ति अभाव—प्रशिक्षित न्युरो सर्जन कम छन् ।
  •     उपकरण महँगो—इन्डोस्कोपिक टावर, क्यामेरा, लाइट सोर्स आदि लाखौं पर्ने ।
  •     सार्वजनिक अस्पतालमा कम पहुँच—निजी अस्पतालमा मात्रै सीमित प्रविधि छ । 
  •     बीमा प्रणाली कमजोर—बिरामीले सबै खर्च आफैं बेहोर्नुपर्ने अवस्था छ ।

समाधान र सम्भावना

  •     सरकारी लगानी र उपकरण अनुदान गर्न जरुरी छ ।
  •     चिकित्सक तालिम कार्यक्रम विस्तार गरिनुपर्छ ।
  •     स्वदेशी निर्माण वा सस्तो आयात विकल्पको खोज हुनुपर्छ ।
  •     सार्वजनिक–निजी सहकार्य हुन आवश्यक छ ।
  •     न्युरो सर्जरी फेलोसिप कार्यक्रमको विकास गरिनुपर्छ । 

भविष्यको दृष्टिकोण
एआई गाइडेड न्युरो सर्जरी, रोबोटिक न्युरो सर्जरी र इन्डोस्कोपिक ब्रेन नेविगेसन टेक्नोलोजी जस्ता प्रविधिहरूले आगामी दिनमा न्युरो सर्जरीको स्वरूप पूर्णरूपमा बदल्नेछन् । नेपालले यदि समयमै लगानी, नीति र जनशक्ति उत्पादनमा ध्यान दियो भने ‘स्वदेशमै विश्वस्तरीय न्युरो उपचार’ केवल सपना रहने छैन ।
 

‘भविष्य यतै हो’
जसरी ल्याप्रोस्कोपिक सर्जरीले पेटको शल्यक्रियामा क्रान्ति ल्यायो, त्यसैगरी इन्डोस्कोपिक न्युरो सर्जरीले दिमाग र मेरुदण्डको उपचारलाई सरल, सुरक्षित र प्रभावकारी बनाउँदैछ । नेपालजस्ता मुलुकमा अझै पनि हजारौं बिरामी समयमै सर्जरी नपाएर पीडित छन् । तर यो प्रविधिले स्वदेशमै उपचार सम्भव छ भन्ने आत्मविश्वास पनि बढाइरहेको छ । अब नीति, प्रविधि र जनशक्तिको संयोजन गर्ने दूरदृष्टिको आवश्यकता छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ टक