नेभिगेशन

साहसबाट शुरु भएको यात्रा

डा. दिनेश नाथ गोंगलले काठमाडौंको वीर अस्पतालबाट नेपालमा पहिलो न्युरो शल्यक्रिया गर्नुभयो । उहाँले गर्नुभएको गम्भीर टाउकाको चोट भएका बिरामीको सब–टेम्पोरल डिकम्प्रेसन शल्यक्रिया थियो । डा. गोंगल सामान्य सर्जन हुनुहुन्थ्यो र भारतमा प्रशिक्षण लिनुभएको थियो । 

डा. गोंगल सामान्य सर्जन भएर नेपालमा न्युरोसर्जरीको शुरुवात् गर्नुभयो । उहाँले १९६२ मा पहिलो इन्ट्राक्रानियल शल्यक्रिया गर्नुभएको थियो । सुरुका दिनहरूमा न्युरोसर्जरीले धेरै चुनौतीहरू सामना गर्नुपरेको थियो । विशेष उपकरणको अभाव, उन्नत निदान उपकरणहरूको कमी थियो ।

नेपालमा न्युरोसर्जरीलाई समर्पित विशेषज्ञताका रूपमा स्थापना गर्न डा. उपेन्द्र देवकोटा १९८३ मा ग्लास्गोबाट प्रशिक्षण लिएर नेपाल फर्केपछि अग्रणी बन्नुभयो । वीर अस्पतालले न्युरोसर्जरीको विकासमा केन्द्रीय भूमिका निभाएको छ । डा. गोंगलले न्युरोसर्जरी वार्ड स्थापना गर्नुभयो भने डा. देवकोटाले पहिलो न्युरोसर्जिकल युनिटको नेतृत्व लिनुभएको थियो ।
 

वीर अस्पतालदेखि विश्वस्तरीय अभ्याससम्म
नेपालको स्वास्थ्य क्षेत्रमा आधुनिक शल्यक्रिया अभ्यासको क्रमशः विकास भइरहेको समय थियो । तर मस्तिष्कसँग सम्बन्धित जटिल शल्यक्रिया (न्युरोसर्जरी) त्यतिबेला न त स्थायी रूपमा सुरु भएको थियो, न त प्रशिक्षित विशेषज्ञ थिए । यस्तै बेला सन् १९६२ मा डा. दिनेश नाथ गोङ्गलले जोखिम र जिम्मेवारी दुवैलाई एकैपटक सम्हाल्दै नेपालकै पहिलो इन्ट्राक्रानियल न्युरोसर्जिकल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभयो । यो घटना केवल एउटा शल्यक्रिया मात्र थिएन — यो नेपाली स्वास्थ्य क्षेत्रको एउटा नयाँ अध्यायको सुरुवात थियो ।

पहिलो शल्यक्रियाको कथा

त्यो समयको नेपाललाई सम्झँदा आधुनिक स्वास्थ्य संरचना निकै प्रारम्भिक अवस्थामा थियो । विशेष उपकरणको अभाव थियो भने न्युरोसर्जरीमा प्रयोग हुने उच्चस्तरीय सर्जिकल उपकरण देशमै उपलब्ध थिएनन् । निदानका सीमित साधनमा एक्स–रे भन्दा उन्नत प्रविधि थिएनन् । सीटी स्क्यान र एमआरआईको नाम पनि धेरैलाई थाहा थिएन ।

प्रशिक्षित जनशक्ति न्युरोसर्जन भन्ने छुट्टै विशेषज्ञता देशमा थिएन । यस्तै अवस्थामा वीर अस्पतालमा गम्भीर टाउकाको चोट बोकेर एक बिरामी आइपुगे । बिरामीको जीवन बचाउन तत्काल प्रत्यक्ष कार्य आवश्यक थियो । डा. गोंगलले भारतमा लिएको आफ्नो  शल्यक्रिया तालिम र अनुभवको आधारमा सब–टेम्पोरल डिकम्प्रेसन सर्जरी गर्ने निर्णय लिनुभयो ।

यो निर्णय साहसिक मात्र होइन, जोखिमपूर्ण पनि थियो किनकि बिरामीको अवस्था जटिल थियो । आवश्यक उपकरण पूर्ण रूपमा थिएनन् । यो नेपालमा पहिलोपटक भइरहेको शल्यक्रिया थियो । तर चुनौतिको वावजुद पनि शल्यक्रिया सफल भयो । यसपछि नेपालमा न्युरोसर्जरीको अभ्यास सम्भावनाको ढोका खुल्यो ।

चुनौतीको दशक (१९६०–१९८०)
नेपालमा न्युरोसर्जरीको शुरुवाती चरण केवल उपचारको अभ्यास मात्र होइन, दृढता, आत्मवल र प्रतिबद्धताको कथा पनि हो ।
संरचनागत कमी त्यो बेला न्युरो सर्जरीका लागि छुट्टै वार्ड वा युनिट थिएन ।

उपकरण र औजारहरू सामान्य शल्यक्रियाका लागि बनाइएका भएपनि मस्तिष्क वा स्पाइनल सर्जरीका लागि थिएनन् । उच्च–स्तरीय पोस्ट–अपरेटिभ केयर (आईसियू) को सुविधा अभावमा बिरामी व्यवस्थापन कठिन हुन्थ्यो ।

जनशक्ति र तालिम
१९६० र ७० को दशकमा नेपालमा न्युरोसर्जन बन्न चाहने चिकित्सकलाई अनिवार्य रूपमा विदेश जानुपर्ने अवस्था थियो । भारत, बेलायत र सोभियत संघ न्युरोसर्जरी तालिमका प्रमुख गन्तव्य थिए ।

वीर अस्पतालको अग्रसरता
डा. गोंगलले वीर अस्पतालमा न्युरोसर्जरीको अभ्यासलाई निरन्तरता दिनुभयो । उहाँको पहलमा न्युरोसर्जरीका लागि छुट्टै वार्ड स्थापना भयो जसले यस क्षेत्रलाई आधार प्रदान ग-यो।
विदेशबाट फर्किएको सपना

सन् १९८३ मा, बेलायतको ग्लास्गोबाट न्युरोसर्जरीमा विशेष तालिम लिई एक युवा चिकित्सक डा. उपेन्द्र देवकोटा नेपाल फर्किनुभएको थियो । उहाँ मात्र न्युरोसर्जन भएर फर्किनुभएको थिएन, उहाँसँग एउटा स्पष्ट दृष्टिकोण पनि थियो—‘नेपालमा न्युरोसर्जरीलाई एउटा स्थापित, सम्मानित र सर्वसुलभ विशेषज्ञताको रूपमा विकास गर्ने ।’
 

पहिलो न्युरोसर्जिकल युनिट
डा. देवकोटाले वीर अस्पतालमै पहिलो समर्पित न्युरोसर्जिकल युनिट स्थापना गर्नुभयो । यससँगै बिरामीले समर्पित न्युरोसर्जिकल सेवा प्राप्त गर्न थाले । देशभित्र नै जटिल टाउको र स्पाइनल सर्जरी सम्भव भयो । मेडिकल विद्यार्थी र युवा चिकित्सकलाई प्रशिक्षणको अवसर मिल्यो ।
 

जनचेतना र पहुँच
डा. देवकोटाले न्युरोसर्जरीलाई केवल राजधानीसम्म सीमित राख्नुभएन । उहाँले देशका विभिन्न भागमा स्वास्थ्य शिविर, जनचेतना कार्यक्रम र बिरामीको रेफरल प्रणाली विकास गर्नुभयो ।

प्रविधि र संरचनामा क्रान्ति (१९९०–२०१०)
९० को दशकदेखि उपकरण र इमेजिङ प्रविधिको प्रयोग शुरु भयो ।  जस्तैः शुरुमा सीटी स्क्यान र पछि एमआरआई । माइक्रोसर्जिकल उपकरण र न्युरो–एन्डोस्कोपी प्रविधि नेपाल भित्रियो । यसले निदान र उपचारको दायरा व्यापक बनायो ।
 

नयाँ संस्थाहरूको स्थापना 

वीर अस्पतालको अनुभवका आधारमा अन्य सरकारी तथा निजी अस्पतालहरूले पनि न्युरोसर्जरी विभाग सुरु गरे । त्रिवि शिक्षण अस्पतालमा न्युरो सर्जरीमा एमसिएच कार्यक्रम सुरु भएसँगै देशमै न्युरोसर्जन तयार हुन थाले । अहिले नेपालले सीमित स्रोतका बाबजुद पनि न्युरोसर्जरीमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको छ । जटिल शल्यक्रियाहरु नेपालमै सम्भव हुन थालेका छन् । जस्तैः ट्यूमर रिमुभल, भास्कुलर न्युरोसर्जरी, न्युरो–इन्डोस्कोपिक भेन्ट्रीकुलोस्टोमी, स्पाइनल डिकम्प्रेसन आदि । यी शल्यक्रियाहरू आज नेपालमै गर्न सकिन्छ जुन ४० वर्षअघि अकल्पनीय थियो । 
अन्त्यमा...

ग्रामीण क्षेत्रमा न्युरोसर्जन पुग्ने अवस्था अझै कठिन छ । आधुनिक उपकरणको मूल्य महँगो छ । राजधानीबाहिरका बिरामीले अझै उपचारका लागि लामो यात्रा गर्नुपर्ने बाद्यता छ ।

यसरी नेपालमा न्युरोसर्जरीको यात्रा १९६२ मा एउटा साहसिक निर्णयबाट सुरु भयो । डा. दिनेश नाथ गोङ्गलको पहिलो इन्ट्राक्रानियल शल्यक्रिया, डा. उपेन्द्र देवकोटाको समर्पण, र वीर अस्पतालको ऐतिहासिक भूमिकाले आज नेपालमा न्युरोसर्जरीलाई विश्वस्तरीय अभ्यासमा पु-याएको छ । नयाँ प्रविधि, नयाँ पुस्ताका न्युरोसर्जन र अझै धेरै नेपालीलाई जीवन बचाउने अवसरको खोजी आज पनि जारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ टक