‘तपाईंलाई ट्युमर भएको छ’—एकछिनको मौनतापछि डाक्टरले भन्नुभयो । डाक्टरको यो शव्दले २९ वर्षीया शर्मिला बस्नेत (नाम परिवर्तन) एकाकए मौन हुनुभयो । उहाँ विद्यालयकी शिक्षिका हुनुहुन्छ । शर्मिलाले भन्नुभयो—‘त्यो बेला चिच्याउन मन लागिरहेको थियो, तर मुखबाट आवाज निस्किएन ।’ उहाँले दुई वर्षदेखिको टाउको दुखाई, बेलाबेलामा हुने वान्ता, बोल्न गाह्रो, कहिलेकाहीँ आँखा धमिलो देखिनेजस्ता समस्या खेपिरहनुभएको थियो ।
शर्मिलाले यसलाई दैनिक तनाव र माइग्रेन ठान्नुभएको थियो । शहरको एक अस्पतालमा गरिएको एमआरआई रिपोर्टमा उहाँमा ब्रेन ट्युमर देखियो । नेपालमा उहाँ जस्ता बिरामीको संख्या हजारौं छ । तर अझै पनि धेरैलाई ब्रेन ट्युमर समयमै पत्ता लगाउने अवसर छैन । वास्तवमा ब्रेन ट्युमर भनेको मस्तिष्कमा वा यसको नजिकै हुने कोषहरूको वृद्धि हो ।
ब्रेन ट्युमर मस्तिष्कको तन्तु वा मस्तिष्कको तन्तु नजिकै पनि हुनसक्छ । नजिकैका स्थानहरूमा स्नायु, पिट्यूटरी ग्रन्थि, पाइनल ग्रन्थि र मस्तिष्कको सतहलाई ढाक्ने झिल्लीहरू रहेका हुन्छन् ।
ब्रेन ट्युमर प्रायः प्राइमरी र सेकेन्डरी हुन्छन् । मस्तिष्कमै शुरु हुने प्राइमरी ब्रेन ट्यूमर हो । जस्तैः ग्लियोमा, मेनिन्जियोमा, मेटालोब्लास्टोमा आदि । शरीरको अन्य भागमा क्यान्सर भई मस्तिष्कमा फैलिएको सेकेन्डरी ब्रेन ट्यूमर हो । यसलाई मेटास्टेटिक ट्युमर भनिन्छ । जस्तैः फोक्सो, स्तन क्यान्सर भएर मस्तिष्कसम्म पुग्ने आदि ।
ट्युमर दुई प्रकारका हुन्छन्
बेनाइनः यो मस्तिष्कमा फैलिँदैन, बिस्तारै बढ्छ । तर शल्यक्रियाबाट यसलाई हटाउन सकिन्छ । म्यालिग्नन्ट (घातक): यो ट्यूमर तीव्र गतिमा बढ्छ । आसपासका कोषहरूमा फैलिन सक्ने सम्भावना धेरै हुन्छ । यो क्यान्सरजन्य ट्युमर हो । करिब ८५ देखि ९० प्रतिशत ब्रेन ट्यूमरको कारण थाहा हुँदैन । ब्रेन ट्युमरको ठोस कारण धेरैजसो केसमा अझै अस्पष्ट छ । तर अन्तर्राष्ट्रिय अनुसन्धानले केही जोखिम तत्वहरू औंल्याएका छन् ।
- जेनेटिक म्युटेसन (डीएनएको असामान्य परिवर्तन)
- ट्युमरको पारिवारिक इतिहास भएकामा जोखिम धेरै
- रेडिएसन एक्सपोजर (रेडिएसन थेरापी वा न्युक्लियर विकिरणको सम्पर्क)
- इम्युन सिस्टमको कमजोरी (एचआईभी एड्स भएका वा इम्युनोसप्रेसनको अवस्था)
- रासायनिक प्रदूषण (औद्योगिक रसायनको लामो सम्पर्क)
- मोबाइल÷रेडियोफ्रिक्वेन्सीको असर (लामो समय मोबाइलको प्रयोगबारे पनि केही अध्ययन चलिरहेका छन् तर पुष्टि भएको छैन )
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), इन्टरनेशल क्यान्सर जिनोम कन्सोर्टियम (आईसिजिसी), अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) जस्ता निकायहरूले हजारौँ केसहरूको मेटा एनालाइसिस गर्दा अधिकांश ब्रेन ट्युमरहरू एक्लै कुनै कारणले नभई पर्यावरण र जेनेटिक कारणको संयोजनले विकसित हुने निष्कर्ष निकालेका छन् ।

मुख्य लक्षण
मस्तिष्कमा करिब २ देखि ३ सेन्टिमिटरको ट्यूमर मात्र भएपनि त्यसले लक्षण देखाइहाल्छ । ट्युमरको आकार, स्थान, र मस्तिष्कको कुन भागमा असर परेको छ भन्ने कुराले लक्षण फरक देखिन्छ । प्रमुख लक्षणहरूमा
- निरन्तर टाउको दुख्ने (प्रायः बिहान बढ्ने)
- वान्ता हुने
- दृष्टि धमिलो हुने वा दृष्टि गुम्ने
- शरीरको एक भागमा कमजोरी वा प्यारालाइसिस
- बोल्न र सम्झनामा समस्या
- खुट्टा वा हात झमझमाउने
- छारे (सिजर, इपिलेप्सी)
- व्यवहार परिवर्तन, मानसिक अस्थिरता
- सुनुवाइ गुम्ने व सन्तुलन गुमाउने
- दिशापिसाब नियन्त्रण नहुने आदि भएमा ब्रेन ट्यूमरको सम्भावना उच्च रहन्छ ।
मस्तिष्कको कुन ठाउँमा ट्यूमर छ भन्ने कुराका आधारमा फरक फरक लक्षण देखिने गर्दछन् । मस्तिष्कका विभिन्न भागले फरक–फरक कार्य गर्ने भएकाले ट्युमरले ती भागहरूलाई असर गर्दा त्यसै अनुसार लक्षण देखिन्छन् ।
मस्तिष्कको अगाडिको भाग (फ्रन्टल लोव)
मस्तिष्कको अगाडिको भागले सोच्ने, योजना बनाउने, व्यवहार नियन्त्रित गर्ने, भाषण, निर्णय, मूड बनाउने काम गर्छ । तर यो भागमा ट्यूमर भएमा
- व्यक्तित्व र व्यवहारमा परिवर्तन
- निर्णय क्षमतामा कमी
- ध्यान दिन कठिनाइ
- बोली समस्या (बोल्न सक्ने तर शब्द छान्न गाह्रो)
- शरीरको एक पक्षमा कमजोरी (प्रायः विपरित साइड)
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
मस्तिष्कको माथिल्लो भागले स्पर्श, स्थानीय चेतना, लेख्ने र गणना क्षमताको काम गर्छ । यदि यो भाग ट्यूमर भएमा
- शरीरको संवेदनशीलता हराउने (हातखुट्टा झमझमाउने)
- लेख्न, पढ्न वा गणना गर्न गाह्रो
- शरीरको स्थान बुझ्न सक्ने क्षमतामा समस्या
- स्थानीय चेतना हराउने
कानको नजिकको भाग (टेम्पोरल लोव)
कानको नजिकको मस्तिष्कको भागले श्रवण (सुनाइ), सम्झना, भाषा बुझ्ने, भावनात्मक प्रक्रियाको काम गर्छ । यदि यो भागमा ट्यूमर भएमा
- सुनाइमा समस्या
- स्मृतिमा कमजोरी (छोटो वा लामो अवधि)
- छारे रोग (सिजर) आउने
- बोली बुझ्न कठिनाई
- अचानक डर वा अजिव अनुभूति
मस्तिष्कको पछाडिको भाग (अक्सिपिटल लोव)मस्तिष्कको पछाडिको भागले दृष्टि अर्थाथ भिजुअल प्रोसेसिङको काम गर्छ । यदि यो भागमा ट्यूमर पलाएमा
- दृष्टि धमिलो हुने
- दृश्य भ्रम (भिजुअल हेलुसिनेसन)
- एउटा आँखाले नदेख्ने
- दृष्टि गुम्ने समस्या
टाउकोको पछाडिको भाग (सेरेबेलम)
टाउकाको सेरेबेलमको काम भनेको शरीर सन्तुलन, समन्वय, चाल ल्याउने हो । यदि यो भागमा ट्यूमर भएमा हिँड्न गाह्रो, लड्न खोज्ने, हात र खुट्टाको समन्वयमा गडबडी, दृष्टि असन्तुलन, वान्ता, टाउको दुख्ने हुनसक्छ ।
मस्तिष्कको तल्लो भाग (ब्रेनस्टेम)
ब्रेन स्टेमको काम मटुको गति, सास फेर्ने क्रिया, चेतना, आँखाको चाल कायम राख्नु हो । यदि ब्रेन स्टेममा ट्यूमर भएमा कुनै चिज डबल देखिने (डबल भिजन), सास फेर्न गाह्रो, असामान्य मुटुको धड्कन, अनुहार सुन्निने र चेतनास्थितिमा परिवर्तन आउनसक्छ ।
हर्मोन नियन्त्रक केन्द्र (पिट्यूटरी ग्लाण्डस्)
पिट्यूटरी ग्लाण्डस्को काम भनेको हर्मोन उत्पादन, शारीरिक वृद्धिदेखि प्रजननसम्मका प्रक्रिया हुन्छ । यदि यो केन्द्रमा ट्यूमर पलाएमा आँखाको दृष्टिकोण साँघुरो(टनल भिजन), मासिक चक्रमा गडबडी थकान, तौल घटबढ स्तनबाट दूध स्राव हुने (गर्भ नहुँदासमेत), यौन इच्छामा कमी आउने हुनसक्छ ।
ब्रेन ट्यूमरको शल्यक्रिया र जोखिम
हरेक ब्रेन ट्यूमर क्यान्सर हुँदैन । ब्रेन ट्यूमरका ४ स्टेजमध्ये स्टेज १ र २ मा पत्ता लागेमा उपचारको रिजल्ट एकदमै राम्रो देखिएको छ । त्यसपछिको स्टेजमा रिजल्ट राम्रो छैन । त्यसैले समयमा नै रोग पत्ता लगाउन जरुरी छ । स्टेज ४ मा शल्यक्रिया गरेर उपचार गरिएका बिरामीहरुलाई रेडिएसन थेरापी, किमोथेरापी र इम्युनोथेरापीको जरुरत पर्छ ।
नेपाललगायत विश्वव्यापी तथ्याङ्क केलाउँदा ब्रेन ट्यूमरको जोखिम ५ देखि ८ प्रतिशत मात्र हो । उनीहरुलाई ट्यूमर निकालेको भागमा रगत जम्ने, दुई तीन महिनामा फेरि पलाउने, छारे रोग जस्ता समस्या देखिनसक्छ । बाँकी ९२ देखि ९८ प्रतिशत बिरामी कम्प्लिकेसन र प्यारालाईसिस बिना नै अस्पतालबाट डिस्चार्ज हुने गरेका छन् ।
आजकल अत्याधुनिक प्रविधिले निकै सुविधा छ । शल्यक्रिया गर्न अघि जाँच गर्ने प्रविधि, अपरेशन गर्दा रहेक एक एक हातखुट्टाको नसाको अवस्था मोनिटरमा हेरेर गरिन्छ । प्यारालाईसिस गराउने नसामा समस्या हुन लागेमा मनिटर कराउन थाल्छ । कतिपय अवस्थामा बिरामीलाई होसमा राखेर हातखुट्टा चलाउन लगाउँदै शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्दा गर्दै सिटी एमआरआई मेसिनबाट नर्भ मोनिटरिङ हुने गर्छ । सुरक्षाका लागि अत्याधुनिक उपकरण प्रयोग गर्न सकिन्छ ।
शल्यक्रिया पछिका क्रियाकलाप
२ देखि ३ महिनासम्म क्लोज मोनिटरिङमा बस्नुपर्छ । शुरुको अवस्थामा प्रत्येक एक एक महिना, त्यसपछि तीन महिना, अनि ६महिना र एक वर्षको अन्तरमा फलोअपका लागि बोलाइन्छ । ५ वर्षसम्म कुनै समस्या नआएमा बल्झिने समस्या कम हुन्छ ।
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
इन्डोस्कोपिक न्युरो सर्जरी को नयाँ युगः सानो चिरा, ठूलो चमत्कार
सोमबार, कात्तिक १७, २०८२
