नेभिगेशन

वीर अस्पतालमा मेडिकल अधिकृत र स्टाफ नर्स पदमा दरखास्त आह्वान

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले मेडिकल अधिकृत र स्टाफ नर्स पदमा सेवा करारमार्फत पदपूर्ति गर्ने भएको छ। अस्पतालले रिक्त पदमा योग्य नेपाली नागरिकबाट आवेदन माग गर्दै पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गरेको हो।

अस्पतालद्वारा प्रकाशित सूचनाअनुसार मेडिकल अधिकृत (आठौँ तह) र स्टाफ नर्स (पाँचौँ तह) पदमा कर्मचारी छनोट गरिनेछ। मेडिकल अधिकृत पदका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एमबीबीएस उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्टाफ नर्स पदका लागि पीसीएल नर्सिङ उत्तीर्ण गरेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र अर्थात् २०८३ साल कात्तिक १९ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। मेडिकल अधिकृत पदका लागि आवेदन दस्तुर एक हजार रुपैयाँ र स्टाफ नर्स पदका लागि सात सय रुपैयाँ तोकिएको छ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्र तथा कार्यअनुभव र तालिमसम्बन्धी प्रमाणपत्र (भएमा) पेस गर्नुपर्नेछ। साथै, हालसालै खिचिएका पासपोर्ट साइजका दुई प्रति फोटो पनि संलग्न गर्नुपर्नेछ।

उम्मेदवारको उमेर पुरुषका हकमा ३५ वर्ष र महिलाका हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ। पदपूर्तिका लागि लिखित परीक्षा र अन्तर्वार्तामार्फत उम्मेदवार छनोट गरिनेछ।

परीक्षामा उत्तीर्ण उम्मेदवारको योग्यताक्रम प्रकाशित गरी आवश्यकताअनुसार सोही योग्यताक्रमका आधारमा सेवा करारमा नियुक्ति गरिने अस्पतालले जनाएको छ।

आवेदन दिएका उम्मेदवारका लागि २०८३ साल कात्तिक २० गते सम्पर्क मिति तोकिएको छ। म्याद नाघेर आएका तथा आवश्यक प्रक्रिया पूरा नभएका आवेदनमाथि कुनै कारबाही नगरिने अस्पताल प्रशासनले स्पष्ट पारेको छ। यससम्बन्धी थप जानकारीका लागि वीर अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट