नेपाल हेल्थ न्युज, काठमाडौं । नेप्लीज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके) ले नेपालका चार स्वास्थ्य संस्थालाई ल्याप्रोस्कोपिक शल्यक्रिया तालिममा प्रयोग हुने उपकरण उपलब्ध गराएको छ। रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा ती संस्थालाई ल्याप्रोस्कोपिक इन्डोट्रेनर हस्तान्तरण गरिएको हो।
उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन्। मंगलबार वीर अस्पतालमा आयोजित कार्यक्रममा सम्बन्धित संस्थाका पदाधिकारी तथा प्रतिनिधिको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा न्याम्सका उपकुलपति प्रा.डा. विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. सूर्यमान मेयाङ्वो लगायतको सहभागिता थियो। एनडीए यूकेका उपाध्यक्ष डा. आशिषकिरण श्रेष्ठ, महासचिव डा. पारुल श्रेष्ठ, पूर्वअध्यक्ष प्रा.डा. फौदराज थेवे र डा. प्रदीप बस्न्यात पनि कार्यक्रममा सहभागी थिए।
शल्यक्रिया सीप विकासमा सहयोग पुग्ने अपेक्षा
ल्याप्रोस्कोपिक शल्यक्रिया साना चिरा वा प्वालमार्फत विशेष उपकरणको सहायताले गरिने आधुनिक शल्यक्रिया विधि हो। यो प्रविधिमा दक्षता हासिल गर्न चिकित्सकलाई निरन्तर अभ्यास, उपकरण सञ्चालनको ज्ञान र हातको सटीक समन्वय आवश्यक पर्छ।
ल्याप्रोस्कोपिक इन्डोट्रेनरले चिकित्सकलाई वास्तविक बिरामीमा शल्यक्रिया गर्नुअघि नियन्त्रित वातावरणमा अभ्यास गर्ने सुविधा दिन्छ। यसले उपकरण चलाउने सीप र व्यावहारिक दक्षता सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
न्याम्सका उपकुलपति प्रा.डा. आचार्यले तालिम उपकरणको प्रयोगबाट चिकित्सकहरूको व्यावहारिक सीप अभिवृद्धिमा सहयोग पुग्ने बताए। त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. मेयाङ्वोले प्राप्त उपकरणमार्फत शल्यक्रिया तालिमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन सकिने विश्वास व्यक्त गरे।
गुणस्तरीय उपचार सेवामा जोड
एनडीए यूकेका पूर्वअध्यक्ष डा. फौदराज थेवेका अनुसार चिकित्सकको सीप विकास गर्दै बिरामीलाई सुरक्षित र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सहयोग पुर्याउनु कार्यक्रमको प्रमुख उद्देश्य हो।
रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की, प्रा.डा. मनोहरलाल श्रेष्ठसहित विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सदस्यहरूको सहभागिता थियो। रोटरी क्लब अफ काष्ठमण्डप र एनडीए यूकेबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको छ।
बागमती प्रदेशको स्वास्थ्य सचिव डा. गौतमको सरुवा
बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
बुधबार, कात्तिक ११, २०८३
काठमाडौँमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको आग्रह
बुधबार, कात्तिक ११, २०८३
तीन मेडिकल अधिकृतलाई तीन दिनभित्र हाजिर हुन अल्टिमेटम
बुधबार, कात्तिक ११, २०८३
