नेभिगेशन

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग मन्त्री मेहताको कार्यसम्पादन सम्झौता

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ। अस्पतालको सरसफाइ, बिरामीलाई समयमै शय्या उपलब्ध गराउने, उपचारका लागि लाग्ने प्रतीक्षा समय घटाउने र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने विषयलाई सम्झौतामा प्राथमिकता दिइएको छ।

बिहीबार आयोजित सम्झौता कार्यक्रममा मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो।

मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो।

सम्झौताअनुसार अस्पतालमा सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीलाई आवश्यकताअनुसार समयमै शय्या उपलब्ध गराउने र उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिनेछ। त्यसैगरी, स्वास्थ्यकर्मीको व्यवहारलाई सेवामैत्री, जिम्मेवार र बिरामीप्रति संवेदनशील बनाउने विषयमा समेत जोड दिइएको छ।

मन्त्री मेहताले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्य स्पष्ट पार्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसैगरी, मन्त्रालयका सचिव डा. विकास देवकोटाले पनि आर्थिक वर्ष २०८३/८४ का लागि १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ।

health-science-2-1793269702.jpeg
health-science-3-1793269729.jpeg
health-science-4-1793269755.jpeg
health-science-6-1793269777.jpeg
health-science-7-1793269806.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट