नेभिगेशन

सन्तुलन बिग्रेकाहरुको केयरमा जुटेकी एउटी नर्स—बिमला कोइराला

बिमला कोइराला साइक्याट्रिक (मानसिक) विभागकी सिस्टर इन्जार्च हुनुहुन्छ । नेपाल मेडिकल कलेजमा १९ वर्षदेखि कार्यरत कोइराला विगत ८ वर्षदेखि यो विभागमा हुनुहुन्छ । मानसिक असन्तुलन भएका बिरामीहरुलाई साइक्याट्रिक (मानसिक) विभागमा राखेर उपचार गरिने भएकाले यो अलि चुनौतिपूर्ण विभाग मानिन्छ किनभने मानसिक असन्तुलन भएका बिरामी उत्तेजित हुने, एकअर्कालाई कुट्ने, तोडफोड गर्ने एवं आत्महत्याको प्रयास गर्ने जस्ता विभिन्न क्रियाकलाप गर्ने भएकाले जतिखेर पनि चनाखो भएर बस्नुपर्छ । यसै सेरोफेरोमा रहेर कोइरालासँग ‘नर्सिङ भ्वाइस’ शीर्षकमा जनस्वास्थ्य सरोकारले गरेको कुराकानी.... बिरामी केयरमा मानसिक विभाग कतिको जोखिम र चुनौतिपूर्ण छ ? यस विभागमा २४ सै घण्टा चनाखो भएर बस्नुपर्छ । खाजा खाने समयमा पनि बिरामीकै चिन्ता हुन्छ किनभने मानसिक सन्तुलन गुमेका बिरामीले जे पनि गर्न सक्छन् । उनीहरुले आत्महत्या, एक अर्कासँग पिटापिट गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्न सक्छन् । त्यसैले यस्ता बिरामीलाई हरेक पटक निगरानी गरिरहनुपर्छ । मानसिक रोगका कारण बिरामीहरुले नराम्रो शव्द बोल्ने, कहिलेकाँही हामीलाई पनि चिथोर्न आउने, टोक्ने, कपाल भुताल्ने गर्छन् । त्यसैले उनीहरुको रोगको प्रकार अनुसार कतिपय बिरामीलाई अलि टाढाको दूरीमा बसेर पनि सेवा दिनुपर्ने हुनसक्छ । मानसिक शिकार हुनुको पछाडि के कारण पाउनुभयो ? मानसिक रोगको मुख्य कारण त किटान गर्न सकिदैन तर यहाँ आउनेहरुमा प्रायः वंशाणुगत, श्रीमानसँग अलग, बुवाआमा बितेका, भूकम्पले परिवार सखाप भई टुहुरा भएका, मानसिक तनाव, लागू औषध तथा अल्कोहल सेवन आदिका कारण मानसिक समस्या लिएर धेरै बिरामी आएका छन् । मानसिक विभागमा आवश्यक पर्ने महत्वपूर्ण पक्षका बारे बताइदिनुस् न ? मानिसक विभागमा आवश्यक पर्ने महत्वपूर्ण कुरा सेफ्टी, सेक्युरिटी र मेडिसिन हो । त्यसपछि परामर्श र पारिवारिक सपोर्ट हो । यसमा न्युट्रेसन र हाइजिनका कुराहरु पनि पर्छन् । साइक्याट्रिक बिरामीको उपचार लामो र महँगो हुन्छ । हामी भिजिटर राख्दैनौं । मानसिक बिरामीहरुका सस्तो शुल्कमा अत्यधिक सुविधाको व्यवस्था भएको यो हस्पिटल अग्रस्थानमा आउँछ । यद्यपी सस्तो र सजिलो किसिमले बिरामीलाई सेवा उपलब्ध गराएका छौं । यहाँले नर्सिङ शिक्षालाई नै किन छान्नुभयो ? शुरुमा म कमर्स अध्ययनका लागि भर्ना भएको थिएँ । नर्सिङ अध्ययन गरेर बीरगञ्जको एउटा अस्पतालमा काम गर्दै रहनुभएको एक जना साथीको दिदी भेट्न जाँदा मलाई पनि नर्सिङ अध्ययन गर्ने चाहना बढ्यो । सफा नर्सिङ ड्रेस, बिरामीले दिने सम्मान, चाँडै जागिर पाइने जस्ता कुराले मलाई नर्सिङ अध्ययनतिर आकर्षित ग¥यो । त्यसपछि घरमा कुरा गरेर बीरगञ्ज नर्सिङ क्याम्पसमा भर्ना भएँ । यो पेशाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? बिरामीसँग बसेर हेरचाहको सुविधा दिएको छु । पैसा भन्दा पनि यो धार्मिक काम जस्तो लाग्छ । यो पेशाले अभिभावकत्वको विकास गरेको छ । नर्सिङ पेशाको भविष्य कतिको छ ? संख्यात्मक भन्दा पनि गुणात्मक नर्सिङ शिक्षा सुधारमा जोड दिनुपर्छ । बीएस्सी नर्सिङको भविष्य त्यति छैन । सरकारले यसलाई ठाउँ दिन सकेको छैन । बेरोजगार बढेको छ । पछिल्लो समय अध्ययन गरेर बिदेश जानका लागि धेरैले नर्सिङ विषय अध्ययन गरेको पाएको छु । नर्सिङ सेवामा कतिको जोखिम छ ? विभिन्न रोग लिएर आएका बिरामीको सेवा गर्दा उनीहरुको रोग सर्न सक्ने संभावना हुन्छ । यसका साथै बिरामीमा कुनै जोखिमर्ण अवस्था आएमा पहिलो दोष नर्सले नै व्यहोर्नुपर्छ । यसलाई सम्बन्धित निकायले ख्याल गर्नुपर्छ । यो पेशा कतिको सम्मानजनक छ ? प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छन् । बिरामीलाई हेरचाह गर्छौं । उनीहरुको समस्या बुझेका हुन्छौं । त्यसैले यो पेशा सम्मानजनक छ । नर्सलाई बिरामीको आमा किन भनिएको हो ? हामीले बिरामीका हरेक समस्या सुन्ने र पूरा गर्नुपर्छ । आमाको जस्तो केयर दिनुपर्ने भएकाले नर्सलाई अस्पतालको आमा भनिएको हो । समय र अवस्थाअनुसार बिरामीलाई नुहाइदिने, ब्रस गराइदिने, कपाल कोरिदिने जस्ता सबै काम नर्सले गर्नुपर्छ । नर्सिङ केयरमा मापदण्ड हुन्छ ? नर्सिङ केयरमा स्टैण्डर्ड मेन्टेन गरेको हुन्छ । अध्ययन पनि त्यस्तै हुन्छ । यहाँहरुले दिने नर्सिङ सेवाको कतिको मुल्याङ्कन हुन्छ ? नर्सले तनमन लगाएर बिरामीको सेवा गरेका हुन्छन् । तर उनीहको त्यति मुल्यांकन भएको पाइँदैन । राम्रो काम गर्नेलाई सम्बन्धित निकायले प्रोत्साहन नगर्दा अलि दुःख लाग्छ । नर्सहरु अलि कठोर हुन्छन् भन्ने गुनासो पनि छ । के हो ? बिरामीका आफन्तलाई जति सम्झाएपनि कुरा नबुझ्दा, अस्पतालको नियम नमान्दा र हामीलाइ विश्वास नगर्दा कहिलेकाँही कठोर बोल्नुपर्ने हुनसक्छ । पेशा र आत्मसम्मानका लागि कठोर बन्ने हो । तर बिरामीको स्वास्थ्यको ख्याल सँधै राखेर जिम्मेवारी बहन गरेकाले समस्या मान्नुपर्दैन । अस्पतालबाट नर्सको सुरक्षा व्यवस्था कतिको हुन्छ ? धेरै ठाउँमा सुरक्षाको त्यति व्यवस्था भएको पाइँदैन । हरेक वर्ष उत्पादन हुने नर्सहरुको व्यवस्थापनका लागि के गर्नुपर्ला ? गुणस्तरीय नर्सहरु विदेश पलायन हुन्छन् । क्वालिटी नर्सहरुलाई देशले रोक्न सकेको छैन । यसरी संख्यात्मक रुपमा उत्पादन भएका नर्सहरुलाई स्थापित हुने ठाउँको पनि अभाव छ । भएका नर्सहरु पनि केन्द्र केन्द्रित छन् । ग्रामीण क्षेत्रमा नर्सको कमी छ । यसलाई सरकारले ख्याल गर्न सकेको छैन । थोरै तलवमा काम गर्नुपर्छ । त्यसबाट गुणस्तरीय सेवा आस गर्न पनि गा¥ह«ो छ । आफ्नो करियरमा कुनै दुःखका अविष्मरणीय घटना छन् ? बीरगञ्जको एक अस्पतालमा प्रक्टिकलको शिलसिलामा पेडियाट्रिक वार्डमा स्तनपान गराइरहेकी एक महिलाको ७—८ महिनाको बालकको मृत्यु भएको घटनाले दुख गराएको थियो । त्यो बेला स्तनपान गराउँदा पोजिसन नमिल्दा चकिङ (सर्किएर) भएर बच्चाको मृत्यू भएको घटना अहिले पनि सम्झन्छु । त्यो बेला म रोएको थिएँ । नर्सिङ पेशालाई मर्यादित र व्यवस्थित गर्न के गर्नुपर्ला ? नर्सिङको स्टैण्डर्ड मेन्टेन गर्नुपर्छ । सर्टिफिकेट भएर पनि बृद्धि विकास भएको पाइँदैन । उनीहरुको बृद्धि विकासका लागि रिफ्रेसमेन्ट लगायतका तालिम दिनुपर्ने आवश्यकता छ । थप अध्ययन र तालिमका लागि नर्सलाई बाहिर पठाउन अवसर दिनुपर्छ । उनीहरुलाई तह अनुसार प्रोमोसन गर्ने वातावरण बनाउनुपर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्