नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले सूचीबद्ध गरेका ९८ प्रकारका अत्यावश्यक औषधिहरू नेपालमै उत्पादन गर्न स्वदेशी औषधि उद्योगहरूलाई आह्वान गरेको छ।
ललितपुरमा स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयको नीति तथा योजना महाशाखाका प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले सामाजिक जिम्मेवारीका रूपमा औषधि उत्पादन र आपूर्तिमा सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार हाल नेपालमा उत्पादित औषधिले कुल मागको करिब ४० देखि ५० प्रतिशत मात्र पूर्ति गरिरहेको छ। मन्त्रालयले औषधि खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै उहाँले उद्योगीहरूलाई गुणस्तर र मूल्यमा सम्झौता नगर्न आग्रह गर्नुभयो।
डा. दासले सरकारले निर्धारण गरेका अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्न उद्योगहरूले क्षमता विस्तार गर्नुपर्ने बताउनुभयो। अहिले केही उद्योगहरूले करिब ४०–४५ प्रकारका औषधि मात्र उत्पादन गरिरहेका भए पनि उत्पादन बढाएर आयातित औषधिलाई प्रतिस्थापन गर्न सकिने उहाँको धारणा थियो।
उद्योगहरूले सामाजिक उत्तरदायित्वका साथ सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराएमा राज्यले आवश्यक सहयोग गर्ने उहााले बताउनुभयो।
कार्यक्रममा उहाँले नेपाली औषधि उद्योगबाट उत्पादन हुने औषधिको गुणस्तर राम्रो भए पनि बजारमा त्यसबारे गलत धारणा फैलिएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। यस्तो भ्रम हटाउन प्रभावकारी सञ्चार र जनचेतना आवश्यक रहेको उहाँको भनाइ थियो।
डा. दासले औषधिको गुणस्तरबारे जनतालाई जानकारी गराउन ‘रिस्क कम्युनिकेसन एण्ड कम्युनिटी इन्गेजमेन्ट’ जस्तो मोडल प्रयोग गर्न सकिने बताउनुभयो। उहाँका अनुसार मन्त्रालयले स्वदेशी औषधि खरिद गर्ने विश्वास व्यक्त गरे पनि बाहिर गुणस्तरबारे हल्ला चल्नु सञ्चार कमजोरीको संकेत भएको बताउनुभयो।
मन्त्रालयले स्वदेशी औषधि उद्योगहरूका लागि बजारको अभाव नरहेको भन्दै उत्पादन विस्तार गर्न आग्रह गरेको छ। उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई औषधिको सबैभन्दा ठूलो उपभोक्ता भएको उल्लेख गर्दै उत्पादन भएका औषधिहरू सहज रूपमा खपत हुने बताउनुभयो।
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३

