नेभिगेशन

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणबाट बच्न सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले त्यसबाट बच्न सबैलाई आग्रह गर्नुभएको हो । उहाँले वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौलालगायतमा समस्या देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गर्नुभएको छ।

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ । पुराना गाडीले वायु प्रदूपण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उहाँको भनाइ छ।

अझै एकहप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौं उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन।

वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट