सय जनाभन्दा बढी रोबोट विज्ञहरुले 'किलर रोबोट्स' अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।
राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले 'युद्धकलासम्बन्धी तेस्रो क्रान्ति'को चेतावनी समेत दिएका छन्। ११६ जना विज्ञहरुले अस्त्रको रुपमा 'आर्टिफिसियल इन्टेलिजेन्स'को प्रयोगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। पत्रमा भनिएको छ, "त्यसको विकास भयो भने ठूलो स्तरमा सशस्त्र युद्ध हुन सक्छ जुन अहिलेसम्म भएको छैन र त्यो मान्छेको सोचभन्दा पनि तीव्र हुनेछ।"खतरा
पत्रमा त्यो आतंकवादीहरुको अस्त्र हुन सक्ने र उनीहरुले निर्दोष मानिसहरुविरुद्ध त्यसको प्रयोग गर्न सक्ने खतरा औंल्याइएको छ। ती अस्त्रलाई 'ह्याक' गरी अवाञ्छित अवस्था सिर्जना गर्न सकिने खतराबारे पनि पत्रमा सचेत गराइएको छ। विज्ञहरुले त्यसविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
चेतावनी
यस्तो माग गर्नेहरुमा टेस्लाका सह-संस्थापक एवं प्रमुख कार्यकारी मस्क र गुगलका सह-संस्थापक मुस्तफा सुलेमान लगायत छन्। यसअघि स्वचालित अस्त्रबारे छलफल गर्न सोमवारका राष्ट्रसंघको बैठक डाकिएको थियो र अहिले चाहिँ उक्त बैठक नोभेम्बर महिनाका लागि सारिएको छ।

