नेभिगेशन

११ करोडको लगानीमा भरतपुर अस्पतालमा आधुनिक सेवा सुरु

नेपाल हेल्थ न्युज, चितवन । भरतपुर अस्पतालले अबदेखि ६ ओटा नयाँ विशिष्टीकृत सेवा सुरु गर्न लागेको छ। नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा यी सेवाहरूको औपचारिक शुभारम्भ हुने भएको छ।

काठमाडौंस्थित वीर अस्पतालपछि धेरै बिरामीहरूको चाप हुने सरकारी अस्पतालमा यी सेवा विस्तारसँगै बिरामीहरूलाई राजधानी जानुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार, सेवा विस्तारसँगै भरतपुर अस्पताल क्षेत्रीय रुपमा एक अग्रणी स्वास्थ्य सेवा केन्द्र बन्नेछ।

शुरु हुन गइरहेका सेवाहरूमा क्याथल्याब, जलन उपचार केन्द्र, निःसन्तान समस्यासम्बन्धी उपचार, बाल शल्यक्रिया, कलेजो रोगसम्बन्धी उपचार, र स्नायु रोग (न्युरो) सम्बन्धी सेवा समावेश छन्।

क्याथल्याब सञ्चालनमा आएपछि मुटुसम्बन्धी रोगहरू  जस्तै हृदयाघात, रक्तनली अवरोध, भल्भ समस्या र जन्मजात मुटु रोग को उपचार अस्पतालमै सम्भव हुनेछ। यसअघि क्याथल्याबको अभावमा बिरामीहरूलाई मेडिकल कलेज वा अन्य स्थानमा रिफर गर्नुपर्दथ्यो। यो सेवा सञ्चालनमा ल्याउन सरकार र अस्पतालको संयुक्त लगानीमा करिब ११ करोड ५० लाख रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

यसअघि नै अस्पतालमा प्रारम्भिक रूपमा सञ्चालित जलन उपचार सेवा अब पूर्ण रूपमा विशिष्टीकृत सेवा अन्तर्गत ल्याइएको छ। सूचना अधिकारी डा. रामप्रसाद सापकोटाका अनुसार, अब बिरामीलाई उपचारका लागि बाहिर पठाउनु पर्ने अवस्था हट्नेछ।

यति मात्र होइन, अस्पतालले चिकित्सकहरूको अभ्यासका लागि सिमुलटेसन ल्याब’ पनि सञ्चालनमा ल्याएको छ। मानिसको आकारअनुसारको डमी प्रयोग गरी चिकित्सकहरूले शल्यक्रिया अभ्यास गर्न सक्ने यो ल्याबबाट नयाँ चिकित्सकहरूलाई व्यावहारिक तालिम दिन सकिनेछ।

आगामी दिनमा अस्पतालले अन्य स्वास्थ्य सेवाहरू पनि क्रमिक रूपमा विस्तार गर्ने योजना बनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट