नेभिगेशन

छ वर्षदेखि थन्किएको आइसियु र भेन्टिलेटर, दक्ष चिकित्सक नपाउँदा उपचार केन्द्र अलपत्र

नेपाल हेल्थ न्युज, सर्लाही । लालबन्दी नगरपालिका–४, नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा रहेका आइसियु र भेन्टिलेटर उपकरण विगत छ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन्। मुख्य कारण हो यस्ता उपकरण सञ्चालन गर्न सक्ने दक्ष चिकित्सकको अभाव।

उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलका अनुसार उपकरणहरू सञ्चालन गर्ने योग्य चिकित्सक नहुँदा लाखौं लगानीमा ल्याइएका उपकरण यत्तिकै थन्किएका छन्। केन्द्रले गत महिना चिकित्सकका लागि आवेदन खुलाएर परीक्षा समेत सञ्चालन गर्यो। पाँच जनाको आवेदन परेकोमा एक जना मात्र उत्तीर्ण भए पनि उनी नियुक्तिका लागि सम्पर्कमै नआएको पौडेल बताउनुहुन्छ।

कुनै बिरामीको उपचारका क्रममा असफलता भए चिकित्सकलाई नै आक्रोशको सिकार बनाउने प्रवृत्तिका कारण पनि दक्ष चिकित्सक आउन डराउने गरेका छन्। २०७६ सालमा एक दुई वर्षीय बालिकाको मृत्युपछि केन्द्रमा तोडफोड र चिकित्सकमाथि हातपात भएको घटनाले अझै पनि असर पारेको अध्यक्ष पौडेलले बताउनुभयो।

त्यसपछि मधेश प्रदेश सरकार र लालबन्दी नगरपालिकाले गरी ३५ लाख रुपैयाँ खर्चेर नयाँ आइसियु र भेन्टिलेटर ल्याइए पनि ती प्रयोगमा आउन सकेका छैनन्। हाल केन्द्रमा कार्यरत एमबिबिएस चिकित्सक र अन्य आठ स्वास्थ्यकर्मीमध्ये दुई जनालाई तालिमका लागि धरान पठाइए पनि उनीहरू पनि उपकरण चलाउन हिच्किचाएका छन्।

सर्पदंशका गम्भीर अवस्थाका बिरामीलाई आइसियु वा भेन्टिलेटर आवश्यक पर्छ। तर, उपकरण सञ्चालनको डर र उपचारमा हुने जोखिमले चिकित्सक हतोत्साहित भएका छन्। पौडेलका अनुसार दक्ष चिकित्सक ल्याउन खोज्दा महिनामा दुई लाख रुपैयाँभन्दा बढी तलब दिनुपर्ने अवस्था आउँछ, जुन केन्द्रको सामर्थ्यभन्दा बाहिरको कुरा हो।

यद्यपि सरकारले एन्टिस्नेक भेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ, अन्य औषधी तथा रसायनहरू भने केन्द्रले आफैं खरिद गर्नुपरेको छ। बिरामीबाट औसतमा २५०० रुपैयाँ लिने गरिन्छ भने संस्थाका आजीवन सदस्यहरूलाई पाँच सय रुपैयाँ मात्र लिइन्छ।

हाल केन्द्रमा कार्यरत कर्मचारीहरूको तलबबापत महिनामा १ लाख ७३ हजार रुपैयाँ खर्च हुने गरेको छ। साथै, नेपाली सेनाले आफ्नै खर्चमा दुई जना कर्मचारी चौबिसै घण्टा सेवा पुर्‍याउने व्यवस्था गरेको छ।

केन्द्रका इन्चार्ज तथा हेल्थ असिस्टेन्ट जगर्नाथ यादवका अनुसार सामान्य अवस्थामा ल्याइएका सर्पदंश पीडितको उपचार सम्भव भए पनि गम्भीर अवस्थामा ल्याइएकालाई वीरगञ्ज वा जनकपुर रेफर गर्नुपर्ने बाध्यता रहेको छ। “गम्भीर अवस्थामा ल्याइएका बिरामीको जीवन जोगाउन आइसियु र भेन्टिलेटर अपरिहार्य हुन्छ,” उहाँले भन्नुभयो, “तर दक्ष जनशक्तिको अभावमा त्यस्ता उपकरण बन्द छन्।”

लालबन्दी नगर प्रमुख वासुदेव अधिकारीका अनुसार नगर अस्पतालका चिकित्सकमध्ये पनि कसैले आइसियु वा भेन्टिलेटर चलाउन नजानेकाले प्रयासहरू सफल हुन नसकेका हुन्। “विभिन्न उपाय अपनायौं, तर सर्पदंश उपचार केन्द्रको आइसियु सञ्चालनमा ल्याउन सकेनौं,” अधिकारीको भनाइ छ।

यसैबीच, गर्मी बढेसँगै सर्पदंशका बिरामीको संख्यामा वृद्धि भइरहेको छ, तर आइसियु र भेन्टिलेटर रहेको कोठामा अहिले पनि ताला लगाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट