नेपाल हेल्थ न्युज, नेपालगञ्ज । विगत १३ वर्षदेखि निरन्तर चलिरहेको हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान अहिले निर्णायक मोडमा आइपुगेको छ। तर, विडम्बना ! समाजमा शिक्षित र सचेत ठानिएका चिकित्सक, स्वास्थ्यकर्मी र शिक्षकमै औषधि सेवन गर्न अनिच्छा देखिएपछि रोग निवारणको सपना अपुरो बन्दै गएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महाशाखा प्रमुख रामबहादुर चन्दले गहिरो चिन्ता व्यक्त गर्दै भन्नुभयो, “जसले जनतालाई प्रोत्साहन गर्नुपर्ने हो, त्यही वर्गले औषधि सेवन नगर्दा अभियान नै खल्बलिएको छ।”
हात्तीपाइलेजस्तो दीर्घकालीन असर पार्ने रोगविरुद्ध चलाइएको अभियान ६ वर्षमै टुंगिन सक्ने योजना थियो। तर, जनस्तरमा कमजोरी र प्रभावकारी सहभागिता नहुँदा बाँकेको समाज अझै संक्रमणको चपेटामा छ। परीक्षणहरूले समुदायमै रोगको सक्रिय संक्रमण पुष्टि गरिरहेका छन्।
अझ चिन्ताजनक कुरा त के छ भने, कतिपय नागरिकलाई औषधिको महत्त्वबारे जानकारी छैन भने, केही व्यक्तिहरू अफवाह, डर र गलत बुझाइका कारण औषधि सेवन गर्न हिच्किचाएका छन्।
नेपालगञ्जमा हालै फागुन ५ गतेदेखि सुरु गरिएको १४औँ चरणको औषधि सेवन अभियानमा हालसम्म मात्र ५३ प्रतिशतले औषधि सेवन गरेका छन्। वडा नम्बर ३, ४, ५, ७, ८, ९, १३, १६, २१, २२ र २३ मा त ५० प्रतिशतभन्दा कम नागरिकले औषधि खाएका छन्।
वरिष्ठ जनस्वास्थ्य प्रशासक रामकुमार महतो स्पष्ट रूपमा भन्नुहुन्छ, “हात्तीपाइले नियन्त्रणको एकमात्र उपाय औषधि सेवन हो। विकल्प नै छैन।”
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा. रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, तथा स्वास्थ्य शिक्षा प्रशासन प्रमुख नोदनारायण चौधरीले समेत सामूहिक चेतना अभिवृद्धि गर्दै जनस्तरमै व्यापक अभियान सञ्चालन गर्न निर्देशन दिनुभएको छ।
कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक विनोद विकले गर्नुभएको थियो।
हात्तीपाइले रोगमुक्त नेपाल बनाउने सपना तब मात्रै सम्भव छ जब समाजका सबै तहले समान जिम्मेवारी बोध गर्दै औषधि सेवनमा सहभागी हुन्छन्। रोगमुक्त भविष्य हामी सबैको साझा जिम्मेवारी हो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
