नेभिगेशन

विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल

विगतमा पूर्व विद्यार्थी नेता समेत रहनुभएका मन्त्री पौडेल

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संघ तथा संगठनहरूले अब सामाजिक जागरण, स्वास्थ्य चेतना र समसामयिक समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताउनुभएको छ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्तव्य दिंदै उहाँले शिक्षा, स्वास्थ्य, सामाजिक बेथिति र आर्थिक समस्या जस्ता विषयमा विद्यार्थीहरूले साझा दृष्टिकोणसहित अघि बढेमा त्यसले ठूलो प्रभाव पार्न सक्ने धारणा राख्नुभयो ।

“निर्वाचनको समयमा संगठनबीच प्रतिस्पर्धा हुनु सामान्य हो,” मन्त्री पौडेलले भन्नुभयो, “तर त्यसअघि सबै विद्यार्थी संगठनहरूले साझा मुद्दा तय गरेर संगठितरूपमा अघि बढ्नुपर्ने आवश्यकता छ।”

पूर्व विद्यार्थी नेता समेत रहनुभएका मन्त्री पौडेलले विगतमा भएका आन्दोलनहरूमा विद्यार्थीहरूको एकताले ठूला उपलब्धिहरू ल्याएको स्मरण गर्दै अहिले पनि एकताको खाँचो रहेको बताएनुभयो। उहाँका अनुसार वर्गीय सवालमा उपलब्धि हासिल गर्न विद्यार्थी संगठनबीच सहकार्य अपरिहार्य छ।

त्यस्तै, उहाँले हाल देशमा देखिएको रगत अभाव, अंग प्रत्यारोपणको चुनौती, सिकलसेल एनिमियाको समस्या, न्याय सम्पादनमा ढिलासुस्ती, र समाजमा गढिएका गलत मान्यताहरू विरुद्ध पनि विद्यार्थी आन्दोलनले आवाज उठाउनुपर्ने बताउनुभयो।

“केही ब्लड ग्रुपहरू पाउन मुस्किल छ, अंग प्रत्यारोपणको चेतना कम छ, न्याय पाउने प्रक्रियामा ढिलाइ छ – यस्ता धेरै विषयहरू विद्यार्थी आन्दोलनको प्राथमिक एजेण्डा हुनुपर्छ,” मन्त्री पौडेलले स्पष्ट पार्नुभयो।

उहाँले समसामयिक सामाजिक र स्वास्थ्यसँग सम्बन्धित समस्याहरूलाई लिएर विद्यार्थी आन्दोलनले अझै पनि सकारात्मक प्रभाव पार्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ न्यूज