नेपाल हेल्थ न्युज, तनहुँ । दमौलीस्थित प्रदेश अस्पतालमा महिलासम्बन्धी शल्यक्रिया सेवा साढे दुई महिनादेखि बन्द छ, जसका कारण जटिल अवस्थामा रहेका गर्भवतीहरूलाई उपचारका लागि पोखरा, चितवन वा काठमाडौँ जानु पर्ने अवस्था सिर्जना भएको छ।
अस्पताल प्रशासनका अनुसार, गाइनोलोजी विभागका विशेषज्ञ चिकित्सकको अभावले गर्दा सर्जिकल डेलिभरीजस्ता सेवा सञ्चालन गर्न नसकिने स्थिति आएको हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले गाइनोलोजिस्ट डा. रामबहादुर विष्टको भक्तपुरमा सरुवा भएपछि समस्या सुरु भएको जानकारी दिनुभयो।
“हामीले सम्बन्धित निकायमा जानकारी गराइसकेका छौं, तर हालसम्म कुनै सकारात्मक प्रतिक्रिया आएको छैन,” डा. बरालले भन्नुभयो। उहाँका अनुसार, अस्पतालमा सामान्य डेलिभरी सेवा भने जारी छ, तर जटिल अवस्था आएका महिलालाई दैनिक रूपमा अन्य अस्पतालहरूमा रिफर गर्नु परेको छ।
एक वर्षअघि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले तलबको व्यवस्था गर्दै शल्यक्रिया सेवा सुरु गरिएको थियो। तर विशेषज्ञ नहुँदा पुनः सेवा बन्द भएको हो। अस्पताल प्रशासनका अनुसार, गत वर्ष मात्रै २५० महिलाले शल्यक्रिया सेवा लिएका थिए।
हाल शारीरिक जटिलता, उच्च रक्तचाप, मधुमेह, बच्चाको असमान्य स्थिति वा अन्य जोखिमयुक्त अवस्थाका केसहरूमा शल्यक्रिया सम्भव नभएको हुँदा महिलाहरू अन्यत्र जान बाध्य छन्। यसले तनहुँका बासिन्दाका लागि गम्भीर स्वास्थ्य चुनौती थपेको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

