नेभिगेशन

वि.पी. स्मृति अस्पतालमा फोहर काण्ड: ५० हजार जरिवाना

नेपाल हेल्थ न्युज, काठमाडौँ । राजधानीको एक प्रसिद्ध अस्पतालले वातावरणीय मापदण्डको गम्भीर उल्लंघन गरेको पाइएपछि काठमाडौँ महानगरपालिकाले तत्काल फोहर संकलन रोक्दै ५०,००० रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ।

बसुन्धरास्थित वि.पी. स्मृति अस्पतालको कम्पाउण्डमै हानीकारक फोहर लामो समयसम्म राखिँदा दुर्गन्ध फैलिएपछि स्थानिय बासिन्दाहरूले गुनासो गर्दै महागनरको हेल्पलाइनमा सम्पर्क गरेका थिए। त्यसपछि, वातावरण व्यवस्थापन विभागबाट गएको अनुगमन टोलीले अस्पतालको फोहर व्यवस्थापनमा चरम लापरवाही भएको पुष्टी गरेको हो।

अस्पतालले देखाएको अटोक्लेभको ‘नाटक’
अनुगमनको क्रममा अस्पतालका जिम्मेवार व्यक्तिहरूले हानिकारक फोहर निस्क्रिय पार्न प्रयोग हुने अटोक्लेभ मेसिन देखाएका थिए। तर, त्यो सानो कोठा, जहाँ दुई जना अट्न पनि मुस्किल, धुलोले ढाकिएको मेसिनले शंका जन्मायो। जब टोलीले अटोक्लेभ गरिएको भनिएको फोहर हेर्न माग गर्‍यो, त्यसपछि ल्याइएको फोहोर अझै ‘ताजा’ देखियो—न रङ परिवर्तन, न कुनै संकेत कि त्यो निस्क्रिय पारिएको हो।

गल्ती भएछ भन्ने स्वीकारोक्ति
जब निरीक्षणका क्रममा फोहोर अझै काँचो भेटियो, अस्पताल प्रशासनबाट ‘प्लास्टिकमा बाँधेर राख्नु हुँदैन, गल्ती भएछ’ भन्ने प्रतिक्रिया आयो। यस्तो प्रतिक्रिया र व्यवहारले अस्पतालको लापरवाही अझ स्पष्ट देखायो।

दोहोरिने गल्ती, सीमित जवाफदेही
यो पहिलो पटक होइन जब उक्त अस्पताल अनुगमनको दायरामा परेको हो। तर, प्रत्येक पटक नयाँ निरीक्षण आएको जस्तो व्यवहार गर्ने र पुराना कमजोरी सुधार नगर्ने प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा पारदर्शिता र उत्तरदायित्वको अभाव देखाउँछ।

कानुनी कारबाही र सम्भावित प्रतिबन्ध
स्वास्थ्य संस्थाबाट निस्कने हानिकारक फोहरलाई उचित तरिकाले निष्कासन नगरेमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। यदि उही गल्ती दोहोरियो भने, जरिवाना दोब्बर हुनसक्छ र कानुनी रूपमा अस्पतालको स्वीकृति पनि रद्द गरिन सक्छ।

व्यवस्थापनको चुक
अनुगमनले देखाएको मुख्य लापरवाहीहरूमा फोहर स्रोतमै वर्गीकरण नगर्नु, सुरक्षित तरिकाले संकलन नहुनु, उपकरणको अभाव वा दुरुपयोग प्रमुख छन्। यस्तो अवस्था जारी रहेमा स्वास्थ्य सेवा स्वयं जनस्वास्थ्यका लागि खतरा बन्नसक्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

प्रितम थापा स्वास्थ्य पत्रकारिता गर्नुहुन्छ ।

थप हेल्थ अपडेट