नेपाल हेल्थ न्युज, बाजुरा । जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण दुई महिनाकी एक शिशुको मृत्यु भएको छ। मृतक बालिका जगन्नाथ गाउँपालिका–२, मल्लोहुनीकी भावना बिष्टकी छोरी हुन्।
जिल्ला अस्पतालका डा. प्रकाश बुढाका अनुसार शिशु गम्भीर कुपोषणसँगै अन्य रोगबाट पनि पीडित थिइन्। अत्यन्तै नाजुक अवस्थामा अस्पताल ल्याइएकी बालिकाको ज्यान जोगाउन सकिएन डा. बुढाले बताउनुभयो ।
यसैबीच, स्वामीकार्तिक खापर गाउँपालिका–१, मुक्तिकोटमा पनि दर्जनभन्दा बढी बालबालिका गम्भीर कुपोषणको अवस्थाबाट गुज्रिरहेका छन्। स्थानीय स्रोतका अनुसार मुक्तिकोटमा प्रत्येक वर्ष कुपोषणकै कारण बालबालिकाको ज्यान जाने गरेको छ, तर तीमध्ये धेरै घटनाहरू तथ्याङ्कमा दरिएका छैनन्।
बाजुराका अधिकांश दुर्गम बस्तीमा भूगोलिक चुनौती, स्वास्थ्य चेतनाको अभाव र सेवा सुविधाको कमजोर पहुँचका कारण कुपोषणको समस्या विकराल बन्दै गएको छ। बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दिपक शाह भन्नुहुन्छ, गरिबी कुपोषणको मूल जड हो, यसले स्वास्थ्य संकटलाई झन् भयावह बनाएको छ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले केही समयअघि सञ्चालन गरेको स्मार्ट सर्भे अनुसार बाजुरामा कुपोषणको दर अत्यन्तै उच्च देखिएको छ। जिल्लाका ९ स्थानीय तह अन्तर्गतका २७ वडामा गरिएको सर्वेक्षणमा ५ वर्षमुनिका बालबालिकामध्ये ४८.८ प्रतिशतमा पुड्कोपन, ८.६ प्रतिशतमा ख्याउटेपन र ३०.६ प्रतिशतमा कम तौलको समस्या देखिएको थियो।
स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दका अनुसार जिल्लामा आमा र शिशु मृत्युदर समेत उच्च छ तर यस्ता घटनाहरू प्रायः संस्थागत विवरणमा नआउने गरेका छन्।
अर्कोतर्फ, महिलाहरूमा पाठेघरसम्बन्धी रोग र रक्तअल्पता समेत व्यापक रहेको छ। यसका पछाडि असुरक्षित गर्भवती सेवा, थुप्रै सन्तान जन्माउने अभ्यास तथा पोषणको कमी प्रमुख कारण मानिन्छ।
यद्यपि, कुपोषणले बालबालिकाको जीवनमा वर्षेनी गम्भीर असर पारिरहे पनि यस समस्या समाधानका लागि सरकारी तहबाट पर्याप्त पहल नदेखिएको विज्ञहरूको भनाइ छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
