नेभिगेशन

सिरहाको अस्पतालमा सुत्केरीको मृत्यु, परिवारले देखायो आक्रोश

नेपाल हेल्थ न्युज, सिरहा । सिरहाको गोलबजारमा रहेको बर्धमान अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि पीडित परिवार आक्रोशित बनेको छ। मिर्चैया नगरपालिका–११, सीतापुरकी २७ वर्षीया रामकाशी यादवको शनिबार बिहान निधन भएको हो।

शुक्रबार बिहान व्यथा लागेपछि उनलाई परिवारले बर्धमान अस्पतालमा भर्ना गराएका थिए। दिउँसो १२ बजे शल्यक्रिया (सी–सेक्शन) मार्फत तेस्रो सन्तानको रूपमा छोराको जन्म गराइएकी थिइन्। बच्चा पूर्ण रूपमा स्वस्थ रहेको जनाइएको छ।

शल्यक्रियापछि अत्यधिक रक्तश्राव भएपछि रामकाशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो। परिवारजनले समयमै रिफर गर्न अनुरोध गरे पनि अस्पताल प्रशासनले अवस्था सामान्य रहेको भन्दै राखिराख्यो। जब अवस्था झनै बिग्रिँदै गयो, त्यसपछि मात्रै बिराटनगर लान प्रयास गरिए पनि बाटोमै उनको ज्यान गएको परिवारले जनाएको छ।

शनिबार बिहान करिब साढे ५ बजे बिराटनगरको न्यूरो अस्पतालले उनलाई मृत घोषणा गर्‍यो। मृतकका पति सन्त यादवका अनुसार, अस्पतालको लापरबाहीले पत्नीको ज्यान गएको हो।

मृत्युपछि आक्रोशित परिवारले शवलाई सडकमा राखी प्रदर्शन गरेपछि प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार, घटनाबारे अनुसन्धान अगाडि बढाइएको छ र अस्पतालका तीन जनालाई सोधपुछका लागि बोलाइएको छ। साथै, पोष्टमार्टमको प्रक्रिया अगाडि बढाइएको र अस्पतालसँग सम्बन्धित कागजातहरू पनि माग गरिएको जानकारी उहाँले दिनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट