नेपाल हेल्थ न्युज, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगसम्बन्धी कानुनी विभेद हटाउनु आजको लोकतान्त्रिक समाजमा अत्यन्त जरुरी भएको बताउनुभयो । काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले कुष्ठरोगीप्रति विद्यमान सामाजिक र कानुनी विभेदप्रति गम्भीर चिन्ता व्यक्त गनुभयो।
उहाँले कुष्ठरोगलाई ‘महारोग’ भन्ने पुरानो धारणा अझै पनि कानूनमा कायम रहेकोप्रति आक्रोश जनाउँदै भन्नुभयो, “आजको युगमा पनि कुष्ठरोगलाई महारोग भनेर परिभाषित गर्नु आफैंमा लज्जास्पद हो। कानुनमा यस्तो विभेद रहनु लोकतन्त्रको मर्मसँग मेल खाँदैन।”
रानाका अनुसार, नेपालमा हालसम्म दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भइसकेका छन्, तर तिनीहरूमध्ये केवल ३० हजारले मात्र सामाजिक सुरक्षा भत्ता पाएका छन्। उहाँले यस अवस्थालाई दुःखद भन्दै रोगीहरू मानसिक तनावमा जानुपर्ने अवस्था आउनु समाजकै असंवेदनशीलता भएको बताउनुभयो।
“कुष्ठरोग उपचारपश्चात निको हुने रोग हो,” उहाँले स्पष्ट पार्नुभयो, “तर ‘महारोग’ भन्ने शब्द प्रयोग गर्दा पीडितहरूमा भय, लाज र मानसिक समस्याको वृद्धि हुन्छ।”
उहाँले कुष्ठरोगीहरूका लागि सिर्जनात्मक र आत्मसम्मानपूर्ण वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो। साथै, आफूले संसद्मा कुष्ठरोगसम्बन्धी विधेयक ल्याउन पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।
उपसभामुख रानाको धारणा अनुसार, अब समय आएको छ — जब कुष्ठरोगप्रति समाजको दृष्टिकोण मात्र होइन, कानुनी परिभाषा पनि परिवर्तन हुनुपर्छ।
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितलाई भारतीय औषधी कम्पनीको १ करोड ५० लाख सहयोग
शुक्रबार, भदौ २६, २०८३

