नेभिगेशन
थोरै नुन, धेरै सुरक्षा — थाइरोइड बचाउने सरल उपाय

नेपाली नुनमा आयोडिनको मात्रा नियन्त्रण नहुँदा बढेको थाइरोइडको जोखिम

नेपाल हेल्थ न्युज,काठमाडौं । झन्डै तीन दशकसम्म कार्यान्वयनमा नआएको कानुनी प्रावधानका कारण नेपाली भान्सामा अत्यधिक आयोडिनयुक्त नुनको प्रयोग भइरहेको पाइएको छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पारेको स्वास्थ्य विज्ञहरू बताउनुहन्छ।

१९९८ मा बनेको नुनमा आयोडिनको मात्रा सम्बन्धी कानुनको कार्यान्वयन मिति नै नतोकिएपछि नुनमा आवश्यकता भन्दा बढी आयोडिन मिश्रण हुँदै आएको थियो। अब भने सरकारले यो कानुन आगामी साउन १ गतेदेखि पूर्ण रूपमा लागू गर्ने घोषणा गरेको छ।

थाइरोइडसम्बन्धी समस्या बढ्दै

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार, नुनमा अत्यधिक आयोडिन हुँदा थाइरोइड ग्रन्थिसम्बन्धी समस्याहरू—जसमा हाइपोथाइरोइडिज्म र हाइपरथाइरोइडिज्म प्रमुख छन्—तीव्र गतिमा बढिरहेको देखिएपछि सरकारले तत्काल कदम चाल्न लागेको हो।

स्वास्थ्य विज्ञ डा. ज्योति भट्टराईले भन्नुहन्छ, “पहिला आयोडिनको कमीले गलगाँड र मानसिक सुस्तता देखिन्थ्यो, अहिले चाहिँ अत्यधिक आयोडिनकै कारण थाइरोइडसम्बन्धी समस्या गाउँदेखि सहरसम्म फैलिँदै गएको छ।”

उहाँका अनुसार, थाइरोइड ग्रन्थिको गडबडीले महिला(पुरुष दुवैमा प्रजनन क्षमतादेखि लिएर शारीरिक र मानसिक क्रियाशीलतामा असर गर्छ।

कानुनी कार्यान्वयनमा ढिलाइको असर

सरकारले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत आयोडिनयुक्त नुनको आयात र वितरणको जिम्मा दिइसकेको भए पनि, प्रशोधन केन्द्रमा ५० पीपीएम (भाग प्रतिमिलियन) सम्म आयोडिन मिसाइने गर्दा उपभोक्तासम्म पुग्दासम्म यसको मात्रा सिफारिसभन्दा बढी हुने गरेको पाइएको छ।

२०२२ मा न्यूयोर्क एकेडेमी अफ साइन्सेसको जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, नेपालका सात जिल्लाबाट सङ्कलन गरिएका नमुनामध्ये ६७.२% मा आयोडिनको मात्रा ४५.७५ पीपीएम थियो, जुन डब्ल्यूएचओले सिफारिस गरेको १५.४० पीपीएमको दायराभन्दा धेरै हो।

नुनको प्रयोगमा सन्तुलन आवश्यक

डा. भट्टराई भन्नुहुन्छ, “नुन स्वास्थ्यको आधारभूत आवश्यकता हो, तर यसको मात्रा सही हुनुपर्छ। म त मानिसहरूलाई दैनिक आधा चिया चम्चाजति मात्रै नुन प्रयोग गर्न सल्लाह दिन्छु।”

विशेषज्ञहरूका अनुसार, नुनमा आयोडिनको कमी भए झैँ यसको अत्यधिक मात्रा पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ। यसले थाइरोइडसम्बन्धी गम्भीर रोगका साथै, दीर्घकालीन रूपमा मानसिक र आर्थिक बोझसमेत थप्दछ।

नयाँ अध्यायको तयारी

सरकारले अबदेखि नुनको परीक्षण र उचित आयोडिन मिश्रण अनिवार्य गर्दै साल्ट ट्रेडिङमार्फतै वितरणलाई सशक्त बनाउने योजना बनाएको छ। मन्त्री पौडेलका अनुसार, “हामी अब यो मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्दैछौँ।”

थाइरोइडसम्बन्धी रोगको जोखिम कम गर्न तथा सार्वजनिक स्वास्थ्य सुरक्षाको लागि नुनमा आयोडिनको सन्तुलित प्रयोग सुनिश्चित गर्नु अनिवार्य भइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट