‘क्यान्सर भयो रे !’
यो दुई शब्दले आज पनि कति नेपाली परिवारका सपना एकैछिनमै टुक्रिन्छन् । घरको आमा, बुबा, छोरा, छोरी – कसैलाई क्यान्सर भयो भनेर थाहा पाउनु भनेको केवल एक रोगको नाम मात्र होइन, त्यो त भावनाको आँधी हो । भविष्यप्रति अनिश्चितता हो । कहिलेकाहीँ त यो सुनिँदा सुनिँदै जिन्दगीको रंग फिक्का भइदिन्छ ।
तर क्यान्सर भनेको मृत्युको पर्यायवाची होइन । सही समयमा चिनियो भने, सही उपचार पाइयो भने – क्यान्सरलाई जितिन्छ ।
त्यसैले हाम्रो आवाज चिच्याएर भन्नुपर्छ –‘जति छिटो क्यान्सर पहिचान, त्यति नै प्रभावकारी उपचार !’
हामी सबै फरक छौँ, तर उद्देश्य एउटैः क्यान्सरविरुद्धको लडाइँ
हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । यो वर्षको नारामा भनिएको छः ‘युनाइटेड वाइ युनिक’– हामी फरक छौँ, तर एउटै उद्देश्यका लागि एकजुट । हामी कसैका लागि छोरी, कसैका लागि बुबा, कसैका लागि साथी... तर जब कुरा क्यान्सरविरुद्धको संघर्षको आउँछ, हामी सबै एउटै छौँ – मान्छे, जसले जीवन बचाउने प्रयास गर्दैछौँ ।
क्यान्सर :
धेरैले क्यान्सरलाई एक रहस्यमयी, ‘अर्कै ग्रह’ बाट आएको रोग ठान्छन् । तर यो त हाम्रो शरीरभित्रका कोशिकाहरूले आफ्नो सीमा बिर्सेर आफैँ बिथोलिएको अवस्था हो । हाम्रो खानपान, जीवनशैली, वातावरण – यी सबैले प्रभाव पार्छन् ।
प्रारम्भिक अवस्थामा पत्ता लागेमा, क्यान्सर उपचार योग्य छ । नेपालमै बसेर, यहीँ अस्पतालमा उपचार गरेर निको भएका थुप्रै उदाहरण छन् –आज उनीहरू आफैँ अरूलाई सचेत बनाइरहेका छन् ।
सबैभन्दा ठूलो गल्तीः ढिला गर्नु
नेपालमा क्यान्सरको सबैभन्दा ठूलो चुनौती के हो भने, ७०–८० प्रतिशत बिरामी अन्तिम स्टेजमा मात्र अस्पताल पुग्छन् । त्यो बेलासम्म रोगले गहिरो जरा गाडिसकेको हुन्छ । र, त्यो पलमा एक चिकित्सकको आँखामा आँसु लुकाइन्छ किनभने रोग भन्दा पहिले आयो ढिलाइ ।
पाठेघरको मुखको क्यान्सरः अकाल मृत्युलाई रोक्न सकिन्छ ।
आज पनि हरेक दिन तीन–चार जना नेपाली महिलाको मृत्यु यही क्यान्सरका कारण हुन्छ । यदी समयमै सचेत भइयो भने,
यदि किशोरीहरूलाई एचपिभी भ्याक्सिन लगाइयो भने — हामी आमा, दिदी, छोरीको जीवन जोगाउन सक्छौँ । त्यसैले, एक विनम्र आग्रहः ‘आँखा चिम्लिएर होइन, आँखा उघारेर खोप लगाऔँ – ज्यान बचाऔँ ।’
जीवनशैली बदलौं – जीवनको दिशा बदलिन्छ
क्यान्सरको ८०–९० प्रतिशत कारण जीवनशैलीसँग सम्बन्धित हुन्छ । धुम्रपान, रक्सी, मोटोपना, तनाव, थकान, अस्वस्थ खानपान —
यी सबैले शरीरलाई बिस्तारै खोक्रो बनाउँदै लैजान्छन् । तर हामीसँग विकल्प छ । जागौं, बदलौं, सचेत बनौं – आफूप्रति, अरूप्रति ।
आशा अझै बाँकी छ
क्यान्सरको निदान पाउनुको अर्थ मृत्युको प्रतीक्षा होइन, बरु एउटा लडाइँको सुरुआत हो – जुन लडाइँमा आत्मबल, समयमै उपचार, चिकित्सकको सल्लाह र परिवारको साथ आवश्यक हुन्छ । र सबैभन्दा महत्वपूर्ण चाहिँ के हो थाहा छ ? -आशा । आशा, कि यो रोग जितिन्छ । आशा, कि तपाईं एकदिन फेरि हाँस्नुहुन्छ । आशा, कि तपाईंको कथा अरूका लागि प्रेरणा बन्छ ।
अन्त्यमा...
क्यान्सर हामीमध्ये कसैलाई हुन सक्छ । तर हामी सबैसँग छ एउटा शक्ति – प्रेम, साथ र जानकारीको । त्यसैले आजैदेखि आफूलाई र आफ्ना प्रियजनलाई एकपटक नियालौं – कसैको थाकेको शरीर, बदलिएको बोली, गुम्दै गएको तौल... यी सानासाना संकेतलाई बेवास्ता नगर। क्यान्सर छिटो चिन्छौँ भने, समयमै रोक्न सक्छौँ । र त्यो समय – यही हो ।
(डा. शाही पाटन एकेडेमी अफ हेल्थ साइन्सको एसोसिएट प्रोफेसर हुनुहुन्छ ।)
कपाल झर्छ भनेर तनाव नलिनुस्, समाधान छ - डा. एलिना कार्की
बुधबार, जेठ २१, २०८२
यी हुन् मुटुरोग लाग्ने ९ वटा प्रमुख कारण
बिहीबार, चैत २८, २०८१
पेट सम्बन्धि समस्या के के छन् ?
बिहीबार, चैत २८, २०८१
अल्सर रोगः के खाने के नखाने ?
बिहीबार, चैत २८, २०८१
