‘घना, चम्किलो कपाल’ – सबैको चाहना हुन्छ तर जब झर्न थाल्छ ?
कसैको बिहान उठ्दा सिरानीमा, कसैको नुहाउँदा भुइँभरि कपाल, त कसैको कपाल कोर्दा नियमित भन्दा धेरै मात्रा काइँयोमा देखिएको हुनसक्छ । अनि सुरु हुन्छ चिन्ता — ‘के म टाउकाको कपाल खाली हुने बाटोमा छु ?’
कपाल झर्ने समस्या सामान्य लाग्न सक्छ, तर यसभित्र अनेक कारण लुकेका हुन्छन् । कपाल झर्नु भनेको शारीरिक वा मानसिक स्वास्थ्यको संकेत पनि हुन सक्छ । दैनिक ५० देखि एकसय हाराहारीमा कपालको रौं झर्नु सामान्य हो । त्यो भन्दा बढी झरेमा समाधानको उपाय खोज्न जरुरी हुन्छ ।
किन झर्छ कपाल ?
- वंशाणुगत असरः एम–प्याटर्न हेयर लस पुरुषमा सामान्य छ भने महिलामा अगाडिको भाग पातलो हुँदै जान्छ ।
- हर्मोनको असन्तुलनः पिसीओएस, थाइराइड गडबडी, प्रसूति पछिको अवस्था ।
- पोषणको कमीः भिटामिन ए, बी, सी, डी आयरन, जिंक जस्ता तत्वको अभाव ।
- तनावः तीन महिनासम्मको तनावले कपालको विकास चक्र नै बिगार्छ । अत्यधिक मात्रामा तनाव लिँदा शरीरमा स्ट्रेस हर्मोन बढ्दछ । यसले कपाल विकास हुने चक्र (हेयर साइकल) लाई बाधा पु-याउँछ ।
- जीवनशैलीः अनियमित सुत्ने–उठ्ने बानी, जंक फूड, धूम्रपान ।
- चायाँः स्क्याल्प सफा नराख्दा चायाँ हुन्छ । चायाँले कपाल झर्छ ।
हेयर साइकल’ भन्ने कुरा थाहा छ ?
कपाल हुर्कने, विश्राम लिने र झर्ने – तीन चरणमा चल्छ । समस्या त्यही चक्र बिग्रँदा आउँछ । वंशाणुगत समस्यामा ग्रोइङ फेज छोटिन्छ र कपाल पातलो हुँदै जान्छ ।
पहिले कारण पत्ता लगाउनुस्, अनि मात्र उपचार सुरु गर्नुहोस्
- रगत परीक्षण गर्नुहोस् (थाइराइड, भिटामिन स्तर)
- कपाल झर्न थालेको समय र अवस्था बुझ्नुस्
- कुनै औषधिको असर त छैन ?
- परिवारमा कसैलाई पनि यस्तै समस्या थियो ?
पिआरपी थेरापी – आफ्नै रगतबाट कपाललाई पुनर्जीवन !
पिआरपी (प्लेटलेट रिच प्लाज्मा थेरापीमा सेवाग्राहीको आफ्नै रगतबाट निकालिएको प्लेट्लेट कपालको जरामा सुइद्वारा हालिन्छ । यो एकदम सुरक्षित र प्रभावकारी प्रक्रिया हो । साइड इफेक्ट हुँदैन । साथै जिएसी, माइक्रो निड्लिङ, डर्मा रोलरजस्ता उपाय पनि छन् । तर तिनीहरू पनि चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।
के तेलले कपाल पलाउँछ ?
तेलले कपाल बलियो बनाउन वातावरण दिन्छ । तर सिधै पलाउँदैन ।
- ओइली स्क्याल्पः यसमा धेरै तेल प्रयोग नगर्नुहोस्
- ड्राइ स्क्याल्पः कहिलेकाहीँ तेल लगाउन सकिन्छ
- सल्फेट–फ्री स्याम्पुः प्रयोग गर्नुस्
खानपान र जीवनशैलीः कपालको असली टॉनिक !
- प्रोटिन, सागसब्जी, अण्डा, माछा, जिंकयुक्त आहार खाने
- दैनिक व्यायाम, योगा, ध्यान गर्ने
- पर्याप्त निन्द्रा लिने
- धूम्रपान र मद्यपान त्याग गर्ने
कति समय लाग्छ कपाल फिर्ता आउन ?
कपालको विकास हरेक महिना एक सेन्टिमिटर मात्र हुने भएकाले नतिजाका लागि केही समय कुर्नुपर्छ । नतिजा देखिन ६ महिनादेखि डेढ वर्षसम्म समय लाग्न सक्छ । तर धैर्य र निरन्तरता जरुरी छ । यदि एलोपेसिया एरियाटा छ भने सुइ र मल्हमबाट सुधार सम्भव छ । तर चोट वा जलनले जरा नष्ट भएको खण्डमा भने कपाल आउँदैन । वंशाणुगत कपाल झर्ने समस्यामा कपाल पातलो हुँदै झर्ने भएकाले प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

निष्कर्ष
कपाल झर्नु जीवनको अन्त्य होइन । पहिचान, सही उपचार र धैर्य राख्नुभयो भने तपाईंको कपाल फेरि चम्किलो भएर फर्कन्छ ! यदि तपाईं पनि कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ भने, अब समय हो — आफूलाई बुझ्ने र एक स्वस्थ, सुन्दर कपालको जीवनतर्फ अघि बढ्ने प्रयास गर्नुहोला ।
क्यान्सरः छिटो चिने बचाउने, ढिला बुझ्दा गुमाउने
शुक्रबार, जेठ १६, २०८२
यी हुन् मुटुरोग लाग्ने ९ वटा प्रमुख कारण
बिहीबार, चैत २८, २०८१
पेट सम्बन्धि समस्या के के छन् ?
बिहीबार, चैत २८, २०८१
अल्सर रोगः के खाने के नखाने ?
बिहीबार, चैत २८, २०८१