नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आपत्कालीन सेवामा ७२ वटा अतिरिक्त शय्या थपिने योजना सार्वजनिक गर्नुभएको छ। सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले वीर अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले आपत्कालीन कक्ष विस्तार गर्न लागिएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “वीर अस्पतालको व्यवस्थापन सुधार्न ७२ शय्याको इमर्जेन्सी यूनिट थप्ने योजना अघि बढाइएको छ। यसका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको छ।”
सेवा सुधारको सन्दर्भमा मन्त्री पौडेलले डा. मदन उपाध्यायको संयोजकत्वमा गठन गरिएको समितिले तयार पारेको सुझावको आधारमा काम भइरहेको उल्लेख गर्नुभयो।
साथै, उहाँले आर्थिक रुपमा कमजोर नागरिकलाई लक्षित गर्दै स्वास्थ्य बिमा कार्यक्रममा जोड्ने तयारी भइरहेको जानकारी दिनुभयो। आठवटा गम्भीर रोगको उपचारमा बिमा सुविधा पुर्याउने योजना समेत अघि बढाइएको उहाँको भनाइ छ।
मन्त्री पौडेलले अघिल्लो एक वर्षमा प्राथमिकतामा राखिएका योजनाहरूमा उल्लेखनीय सफलता प्राप्त भएको दाबी गर्नुभयो। उहाँले दीर्घकालीन योजनाहरूका लागि बजेट सुनिश्चित गरिएको र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय स्थापना भइसकेको बताउनुभयो।
डेंगी नियन्त्रण, एचपीभी खोप कार्यक्रमको सफलता, जनस्वास्थ्य समिति गठन, विद्यालय नर्स कार्यक्रम सुरु, र महामारीका लागि पूर्वतयारी गरिएको उहाँले उल्लेख गर्नुभयो। साथै, योग तथा ध्यान कार्यक्रम देशभरका स्थानीय तहमा पुर्याइएको र स्वास्थ्य बिमा कार्यक्रम सुरु भइसकेको जानकारी पनि दिनुभयो।
प्राविधिक उपकरणका क्षेत्रमा एमआरआई, पेट स्क्यान र क्याथ ल्याबका लागि पर्याप्त बजेट विनियोजन गरिएको छ। त्यस्तै, सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै प्याकेटमा चेतावनी सन्देश छापिने निर्णय गरिएको छ।
मन्त्री पौडेलका अनुसार हालसम्म ११३ वटा आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेका छन्, भने थप ५५ वटा अस्पताल सञ्चालनका लागि तयारी अवस्थामा छन्। चालु आर्थिक वर्षमा १३७ नयाँ अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन्, र यो संख्या बढेर कुल २५० पुग्नेछ। यस कार्यका लागि सरकारले ११ अर्ब रुपैयाँको बजेट विनियोजन गरिसकेको छ।
त्यसैगरी, अङ्ग दान प्रणालीलाई प्रविधिमैत्री बनाउँदै अनलाइन माध्यमबाट प्रक्रिया सुरु गरिएको छ। मस्तिष्क मृत्यु पश्चात् अङ्ग दान गर्ने परिवारलाई दिइने प्रोत्साहन रकम दोब्बर पारेर दुई लाख पुर्याइएको समेत मन्त्री पौडेलले जानकारी दिनुभयो।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
