नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रलाई बदलिँदो परिस्थितिअनुसार सुधार गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मङ्गलबार सम्पन्न सिनियर म्यानेज्मेन्ट टिम (एसएमटी) बैठकले ठोस कार्ययोजना तयार पार्ने निर्णय गरेको छ। बैठकमा स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमको अध्यक्षता तथा मातहतका विभाग, केन्द्र र महाशाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
बैठकले मन्त्रालय तथा मातहतका निकायहरूलाई तीन तहमा सुधारका योजना पेश गर्न निर्देशन दिएको छ — अल्पकालीन (३० दिनभित्र सम्पन्न हुनसक्ने), मध्यकालीन (६० दिनभित्र सुरु हुने) र दीर्घकालीन (दीर्घकालीन प्रभाव पार्ने)। ती योजना आगामी कार्तिक १२ गतेसम्म मन्त्रालयमा पठाइने र त्यसको संकलन गरी नीति, योजना तथा अनुगमन महाशाखाले कार्तिक १३ गतेभित्र एकीकृत प्रतिवेदन तयार गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य मन्त्री गौतमले बैठकमा “नीति भन्दा पनि कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता अनिवार्य छ” भन्दै स्वास्थ्य सेवाको प्रभावकारिता जनतासम्म पुग्ने गरी सुधारका उपायहरू तत्काल अघि बढाउन निर्देशन दिएकी थिइन्।
खरिद र औषधि दर्तामा पारदर्शिता जोड
बैठकले सार्वजनिक खरिद प्रक्रिया र औषधि दर्ता प्रणालीमा देखिएका गुनासाहरू सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई पूर्ण जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार अबदेखि खरिद प्रक्रिया र दर्ता प्रणाली अत्यन्त पारदर्शी बनाउन कार्यविधि पुनरावलोकन गरिनेछ।
यस्तै, मातहतका विभाग र संघीय अस्पतालहरूले आफ्नो कार्यक्षेत्रभित्रका गतिविधिहरूमा आएका गुनासाहरूको तात्कालिक समाधान गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।
प्रदेशस्तरमा विशेष टोली खटाइने
स्वास्थ्य मन्त्रालयले पछिल्ला विवाद र प्राथमिक स्वास्थ्य सेवामा देखिएका चुनौतीहरू सम्बोधन गर्न सातै प्रदेशमा सानो टोली खटाउने निर्णय गरेको छ। यी टोलीहरूले संघ, प्रदेश र स्थानीय तहबीच सहजीकरण र छलफलको माध्यमबाट व्यावहारिक समाधान खोज्नेछन्।
छलफलका प्रमुख विषयहरू यसप्रकार छन् –
- नर्सिङ कर्मचारीका तलब तथा सुविधा सम्बन्धी विरोध प्रदर्शन
- ‘जेन–जी’ घाइतेहरूको वर्गीकरण प्रक्रिया
- ‘जेन–जी’ क्लिनिक सञ्चालनको अवस्था
- एनजेआर तयारी र कार्यान्वयन
- मनोसामाजिक परामर्श सेवा सञ्चालन
मन्त्रालयका एक अधिकारीका अनुसार, “यी विषयहरू अहिले स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष जनचासोका विषय बनेका छन्। तत्काल समाधानका लागि केन्द्रबाटै टोली पठाएर वस्तुगत अवस्थाको मूल्यांकन गरिनेछ।”
सुधारका प्रयासमा सक्रियता
स्वास्थ्य मन्त्रालयले पछिल्ला वर्षमा नीति निर्माण र कार्यान्वयनबीच देखिएको दूरी घटाउन विभिन्न सुधारात्मक प्रयास अघि बढाइरहेको छ। यसपटकको सिनियर म्यानेज्मेन्ट टिम बैठकलाई स्वास्थ्य क्षेत्रको संस्थागत सुधार र जवाफदेहिताको नयाँ चरणका रूपमा हेरिएको छ।
बैठकका निर्णयहरू कार्यान्वयनमा गएपछि मन्त्रालयको आन्तरिक समन्वय बलियो बन्ने र जनतालाई प्रत्यक्ष रूपमा स्वास्थ्य सेवाको सुधार अनुभव हुने अपेक्षा गरिएको छ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

