नेभिगेशन

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रः 'स्थायी चिकित्सकबाटै कार्यकारी निर्देशक देऊ'

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका चिकित्सकको स्वास्थ्य मन्त्रीलाई खुला आग्रह

नेपाल हेल्थ न्युज, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका स्थायी चिकित्सकहरूले कार्यकारी निर्देशक नियुक्तिमा पारदर्शिता र स्थायित्व सुनिश्चित गर्न आग्रह गरेका छन्।

उनीहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमलाई पत्र दिँदै स्थायी चिकित्सकहरूमध्येबाटै नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न माग गरेका हुन्। उनीहरूको तर्क छ — 'स्थायी चिकित्सकबाट नेतृत्व चयन भएमा केन्द्रको दीर्घकालीन संस्थागत स्थायित्व, सेवा निरन्तरता र प्रशासनिक उत्तरदायित्व कायम रहन्छ।'

मन्त्रीलाई दिएको पत्रः स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न स्थायी चिकित्सक आवश्यक

स्थायी चिकित्सकहरूको तर्फबाट पठाइएको पत्रमा भनिएको छ — 'शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालको अत्यन्त महत्वपूर्ण राष्ट्रिय स्वास्थ्य संस्था हो। देशभरका बिरामीलाई अंग प्रत्यारोपणसम्बन्धी सेवा प्रदान गर्दै आएको यस केन्द्रमा दक्ष र अनुभवी स्थायी चिकित्सक कार्यरत छन्। हाल कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी छलफल भइरहेको सन्दर्भमा सो जिम्मेवारी स्थायी दरबन्दीअनुसार समितिका चिकित्सकमध्ये वा नेपाल सरकारका स्थायी सेवामा रहेका योग्य चिकित्सकमध्येबाटै दिनु हितकर हुनेछ।'

पत्रमा करार सेवामा कार्यरत चिकित्सकलाई यस्तो जिम्मेवारी दिनु उपयुक्त नहुने स्पष्ट उल्लेख गरिएको छ। 'अस्थायी करार सेवामा रहेका व्यक्तिबाट यस्तो जिम्मेवारी निर्वाह गरिनु उचित हुँदैन। यसले केन्द्रको दीर्घकालीन स्थायित्व र पारदर्शितामा प्रश्न उठाउँछ,” पत्रमा भनिएको छ।'

 डा. पुकारचन्द्र श्रेष्ठको अवकाशपछि नयाँ नियुक्तिको तयारी

केन्द्रका पूर्व कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सरकारी सेवाबाट अवकाश भएपछि नयाँ नियुक्तिको प्रक्रिया अघि बढेको हो। डा. श्रेष्ठले २०६९ सालदेखि केन्द्रको नेतृत्व सम्हाल्नुभएको थियो ।  नेपालमा पहिलोपटक अंग प्रत्यारोपण सेवाको संस्थागत संरचना बनाउने क्रममा डा. श्रेष्ठको भूमिका उल्लेखनीय मानिन्छ। तर उहाँ लगातार तीन कार्यकालसम्म एकै पदमा रहँदा विवाद र असन्तोष पनि बढेको थियो।

स्थायी चिकित्सकहरूले आरोप लगाउँदै आएका छन् —

'स्थायी चिकित्सकहरूलाई नेतृत्वबाट वञ्चित गर्दै एकाधिकारपूर्ण निर्णय भइरहेका छन्।'

गठन आदेश संशोधन र राजनीतिक प्रभाव

केन्द्रको नेतृत्व परिवर्तनसँगै राजनीतिक हस्तक्षेपको इतिहास पनि जोडिएको छ। २०६८ सालमा जारी गरिएको केन्द्रको गठन आदेशअनुसार कार्यकारी निर्देशक नेपाल स्वास्थ्य सेवाको प्रत्यारोपणसम्बन्धी काम गरेको चिकित्सक  हुनुपर्ने प्रावधान थियो। तर २०७७ बैशाख २६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त प्रावधान परिवर्तन गर्दै त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवाली लाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो। ओली सरकार पतनपछि, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ असोज ४ गते पुनः गठन आदेश परिमार्जन गरेको थियो। त्यस परिवर्तनले केन्द्रभित्र कार्यरत अनुभवी चिकित्सकहरू पुनः ओझेलमा परे। अबको नियुक्ति राजनीतिक प्रभावमा होइन, संस्थागत योग्यताको आधारमा हुनुपर्छ।

 ‘स्थायित्व नहुँदा अस्पताल सञ्चालनमै असर’

केन्द्रमा करार सेवामा रहेका व्यक्तिहरूले नेतृत्व लिँदा प्रशासनिक काममा अनियमितता र निर्णय प्रक्रियामा ढिलाइ भएको चिकित्सकहरूको दाबी छ।
अस्पतालका एक वरिष्ठ चिकित्सक भन्छन् —

'नेतृत्वमा स्थायित्व नहुँदा कर्मचारी व्यवस्थापन, सेवा विस्तार, र अन्तरसंस्था समन्वयमा निरन्तर समस्या आइरहेको छ।” अस्पतालमा मिर्गौला प्रत्यारोपणजस्ता जटिल स्वास्थ्य सेवा सञ्चालन गर्न अनुभवी नेतृत्व अपरिहार्य रहेको उनीहरूको भनाइ छ।

शहीद धर्मभक्त केन्द्रः देशको एकमात्र प्रत्यारोपण केन्द्र

२०६९ सालमा स्थापना गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालमा अंग प्रत्यारोपणका लागि समर्पित पहिलो र प्रमुख स्वास्थ्य संस्था हो। यहाँबाट मिर्गौला, कलेजो लगायतका प्रत्यारोपण सेवा प्रदान हुँदै आएको छ।

डब्लुएचओका अनुसार, नेपालले हरेक वर्ष करिब ४०० मिर्गौला प्रत्यारोपणका बिरामीहरू विदेश पठाउँछ, जसले देशको अरबौं रुपैयाँ बाहिर पठाइरहेको छ। त्यसैले प्रत्यारोपण केन्द्रको सुशासन र दक्ष नेतृत्व केवल संस्थागत प्रश्न होइन— राष्ट्रिय स्वास्थ्य सुरक्षाको अंग हो।

सुधारको मागसँगै नयाँ सोचको अपेक्षा

हाल ‘जेन–जेड आन्दोलन’ पछि सरकारी निकायमा दलीय नियुक्तिको विरोध बलियो बन्दै गएको छ।
यही पृष्ठभूमिमा प्रत्यारोपण केन्द्रका चिकित्सकहरूले स्थायी दरबन्दीका योग्य र अनुभवी चिकित्सकमध्येबाटै नेतृत्व चयन गर्न माग गरेका हुन्। स्वास्थ्य विज्ञहरूको भनाइमा, यस्तो निर्णयले मात्र संस्थागत स्थायित्व, युवा चिकित्सकको करियर विकास र जनविश्वास पुनःस्थापना गर्न सहयोग पुर्‍याउनेछ।

नेतृत्वमा पारदर्शिता नै सुधारको पहिलो सर्त

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र देशको जीवनरक्षक संस्थामध्ये एक हो। यसको नेतृत्व केवल पदपूर्तिको मुद्दा होइन — यो राष्ट्रको स्वास्थ्य नीतिको मेरुदण्डसँग जोडिएको प्रश्न हो। यदि नियुक्ति योग्यताको आधारमा भयो भने, यो केन्द्र पुनः विश्वसनीय प्रत्यारोपण हब बन्न सक्छ। तर यदि राजनीतिक वा करार सञ्जालको भाग बनेर फेरि नेतृत्व चयन भयो भने देशकै एकमात्र प्रत्यारोपण केन्द्र फेरि विवादमा फस्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट